
१३ कात्तिक, काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताहरुले नेकपा पर्साका कार्यकर्ता ‘मुकेश चौरसियाको हत्यामा संलग्न’लाई कारबाही गर्न माग गरेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनीमा यही कात्तिक ६ गते नेकपाको गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहण कार्यक्रममा चौरसियामाथि कुटपिट भएको थियो । उनको भोलिपल्ट बिहान मृत्यु भएको थियो ।
बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा नेकपाकै दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।
नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायतका ३७ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पीडित निवेदकको जाहेरी दर्ता गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीसमेत दर्ता गर्न नमानेको भन्दै उनीहरुले प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको जिकीर गरेका छन् ।
प्रहरीले पीडतको जाहेरी दर्ता नै गर्न नमानेको नेकपाका नेताहरु बताउँछन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘प्रहरीबाट कानुनी राज्यको खिल्ली उडाइएको देखिन्छ । प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमुक व्यक्तिको नाम राख र अमूक व्यक्तिको हटाऊ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ । यस्तो कार्य गर्नु भनेको प्रहरी संगठनको बेदनामी गर्नु नै हो ।’
उनीहरुले यो घटनालाई सुनियोजित भनेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा से कडा कारबाही गरिनुपर्दछ ।’
चौरसियाको मृत्युपछि पर्सामा नेकपा कार्यकर्ताहरूले दिनहुँजसो विराेध प्रदर्शन गर्दै आएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि विज्ञप्ति जारी गरेर सरकारसँग दोषीमाथि कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया 4