Comments Add Comment

चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन

७ कात्तिक, काठमाडौं । पर्साको विन्दवासिनीमा बिहीबार झडपमा घाइते भएका मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपाकै दुई समूहबीच बिहीबार विन्दवासिनीमा भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको शुक्रबार पानीट्यांकीस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युको विरोधमा नेकपाको एक समूह र उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा पूर्वमन्त्री तथा नेकपा नेता मातृका यादव पनि सहभागी भएका थिए ।

उनीहरुले चौरसियाको मृत्युको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरु चौरसियाको हत्यामा भएको भन्दै केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिन संलग्न जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको उनीहरुको आरोप छ ।

नेकपा पर्सा जिल्ला कमिटीले पनि चौरसियाको मृत्यु भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिन्दवासिनी गाउँपालिका कमिटी सचिव तथा जिल्ला सदस्य समेत रहेका मुकेश चौरसियाको हत्यामा सँलग्न रहेकाहरुलाई कारवाही गर्न माग गरेको हो ।

नेकपा पर्सा जिल्ला ईञ्चार्ज रामचन्द्र साह, अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोद्वारा हस्ताक्षरित बिज्ञप्तिमार्फत चौरसियालाई शहीद घोषणा गर्न, झडपमा परी घाइते भएकाहरुको निशुल्क उपचार र क्षतिपूर्ति दिन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment