Comments Add Comment

बाराको कबहीगोठमा भएको झडपबारे छानबिन गर्न समिति गठन

झडपमा परी घाइते भएका रञ्जनकुमार यादव ।

१४ कात्तिक, वीरगञ्ज । बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक शोभाकान्त चौधरी सदस्य छन् । समितिलाई सत्य तथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ ।

झडपमा परी तीन जना प्रहरी र एकजना १४ वर्षीय बालक घाइते भएका थिए । भारतबाट भन्सार छली गरी ल्याएको भन्दै प्रहरीले तीन वटा मोटरसाइकल र ७ बोरा प्याज कात्तिक १२ गते बरामद गरेको थियो । बरामद गरेको प्याज र प्याज बोक्न प्रयोग भएका तीन वटा मोटरसाइकल प्रहरीले इलाका प्रहरी कार्यालय कबहीमा राखेको थियो । बरामद भएका मोटरसाइकल र प्याज लिन जिल्ला प्रहरी कार्यालयबाट गाडी गएको थियो । प्याज गाडीमा लोड गरेर राति ८ः१० बजे जिल्ला प्रहरी कार्यालय बारा ल्याउने क्रममा स्थानीयले गाडी रोकेर ढुंगामुढा गरेका थिए ।

यो पनि पढ्नुहोस बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक बालक गम्भीर घाइते

सोही क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको थियो । घटनामा प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक विरेन्द्र गिरी सहित तीन जना घाइते भएका थिए भने सुवर्ण गाउँपालिका– २ कबहीगोठ बस्ने १४ वर्षीय रञ्जनकुमार यादवको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत रञ्जनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले प्रतिरक्षा गर्ने क्रममा हवाई फायर गर्नुपरेको बताएका छन् । उनले बालकको टाउकोमा गोली लागेको चोट नभएको दावी समेत गरेका छन् ।

‘बालकको शल्यक्रिया भइसकेको छ, चिकित्सकसँग बुझ्दा टाउकोमा गोली लागेको हैन भनेका छन्,’ उनले भने, ‘प्रहरीको सेट खोस्ने, चौकी भित्रै पस्ने, ढुंगा मुढा गर्ने गरेपछि आत्मरक्षाका लागि हवाई फायर मात्रै गरेको हो ।’ उनले स्थानीयले पेट्रोल बम समेत तयार गरेर सुनुयोजित रुपमा प्रहरी माथि आक्रमण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment