१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बाराको जीतपुरका स्थानीयले शुक्रबार तीन घण्टा चक्काजाम गरेका छन् । उनीहरुले बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गर्नुको साथै वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका हुन् ।
सडक विस्तारका लागि भन्दै घर टहरा भत्काएको दुई वर्ष पुग्न लाग्दा समेत सडक निर्माणले गति नलिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । सडक निर्माणको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजार क्षेत्रलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ ।
युवा व्यवसायी राजुराज गिरीले जीतपुर बजार क्षेत्रमा सडक बनाउने काम अघि नबढेकोले धुलो उडेर सास्ती बेहोर्नु परिरहेकोले विरोध प्रदर्शन गरेको बताए ।
‘जीतपुर बाहेकका ठाउँमा काम भइरहेको छ । जीतपुर बजार क्षेत्रको सडकमा भने काम हुनै सकेको छैन,’ उनले भने, ‘सडक विस्तारका लागि भनेर प्रहरी प्रशासन लगाएर हतार हतार गरेर घर टहरा भत्काइयो, त्यसपछि सडक बनाउनुपर्दैन ? चाडवाडको समयमा पसलमा धुलो मात्रै आइरहेको छ ।’
सडक आयोजना कार्यालय, नगरपालिका र ठेकदारको लापरबाहीले गर्दा आफूहरु मर्कामा परेको अरोप उनले लगाए । ‘सडक विस्तारका लागि भनेर पहिले घर टहरा तोडियो, घर टहरा तोडेको पनि दुई वर्ष हुन लागिसकेको छ, बजार क्षेत्रमा कामै गर्दैनन् । सडकमा खाल्डाखुल्डी भएका कारण सवारी दुर्घटना समेत भइरहेको छ,’ गिरीले भने, ‘धुलो नियन्त्रणका लागि नियमित पानी हाल्नुपर्ने, डाइभर्सन गतिलो बनाउनुपर्ने, बजार क्षेत्रको सडक छिटोभन्दा छिटो बनाउनुपर्ने माग राखेर चक्काजाम गरेका हौं ।’
६ लेन सडक विस्तार आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र साहले कात्तिक १६ गते आइतबारदेखि काम सुरु गरेर ६ महिनाभित्र काम सम्पन्न गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको उनीहरुले बताएका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4