Comments Add Comment
कोरोना कहर :

कोरोनाले दुई छोराको मृत्यु, बुवाको वार्षिकी रोकियो

१४ कात्तिक, विराटनगर । शिवसताक्षी नगरपालिका–२, झापाका स्वर्गीय चुडामणि भट्टराईको वर्ष दिनको काम शनिबार गर्ने तयारी थियो । तर बुधबार जेठो छोरा दयारामको स्वास्थ्यमा खराबी देखियो । नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना भए ।

पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनको मृत्युपछि बुबाको वर्षदिनको काम नै रोकिएको छ ।

६३ वर्षीय चुडामणिको २०७६ असार २७ गते मृत्यु भएको थियो । तर कान्छा छोरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणाट १५ असारमा मृत्यु भएपछि उनको काम शनिबारलाई सारिएको थियो । शुक्रबार जेठा छोराको पनि मृत्यु भयो ।

भाइ रविन भट्टराईका अनुसार दयारामको शुक्रबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई १२ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कुनै दीर्घरोग नदेखिएका ३८ वर्षीय भट्टराईमा निमोनियाको समस्या देखिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

भाइका अनुसार योगेश्वर वैदेशिक रोजगारीका लागि दुई वर्ष अघि कतार पुगेका थिए । कोरोना संक्रमणका कारण १५ असारमा उनको कतारमै मृत्यु भयो । कतारमै अन्त्येष्टि भएकाले आफन्तले अन्तिम अवस्थामा शव हेर्न समेत पाएनन् ।

दमकमा व्यावसाय गर्दै आएका दयाराम पनि निमोनिया भएपछि अस्पताल भर्ना भएका थिए । शुक्रबार बिहान करिब ८ बजे मृत्यु भयो । उनको कनकाई नदीमा अन्त्येष्टि गरिएको छ ।

चार छोरामध्ये जेठा र कान्छाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि भट्टराई परिवारको खुसी खोसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment