Comments Add Comment

हाम्रो सरकार ‘स्लो मोसन’ फिल्मजस्तो भयो

मानिसहरुलाई लाग्न सक्छ कि अहिले कोरोना संक्रमण नेपालको उचाइमा छ । तर, मलाई लाग्छ, कोरोना महामारीको खास उचाइ आउन त अझ बाँकी नै छ । भर्खर दसैँ सकिएको छ, लगत्तै तिहार आउँदैछ । त्यसपछि अझ भयाभह हुनेछ ।

नेपालमा कोरोना संक्रमणको पहिलो केस भेटिँँदा सरकार मात्र होइन, हामी स्वास्थ्यकर्मी पनि अनविज्ञ जस्तै थियौं । किटाणुले कसरी काम गर्छ भनेर धेरै ज्ञान थिएन । तर, यसकारण भाग्यमानी भयौं कि नेपालमा कोभिड १९ का बिरामी बढ्दासम्ममा हामीले धेरै ज्ञान पाइसकेका थियौं । सरकारले तयारीका लागि लामो समय पाएको थियो । र, यस्तो महामारीमा पूर्वतयारी महत्वपूर्ण हुन्छ ।

माघ, ०७६ मै हामी केही चिकित्सकहरु पावर प्वाइन्ट नै बनाएर स्वास्थ्य सेवा विभागमा पुगेका थियौँ । सरकारबाट हामीले गर्ने आशा के हुन्छ, सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले कस्ता काम गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएका थियौं ।

त्यतिबेला पीसीआर ल्याब देशमा एउटा मात्र थियो र कोभिड परीक्षणको रिपोर्ट चार/पाँच दिनसम्म कुर्नुपर्थ्यो । तर, नेपालमा कोभिड आउँदैन भन्दै बसेको सरकारले ल्याबको संख्या बढाउनै समय लगायो । अहिले पनि परीक्षण पुग्दै पुगेको छैन । कोभिड उपचारका लागि त सरकारको तयारी नै भएन ।

हामी स्वास्थ्यकर्मीहरुले हरेक दिन आईसीयूमा कोभिड १९ का सिकिस्त विरामीसँग डिल गर्नुपर्छ । विरामी जति सिकिस्त हुँदै गयो, त्यति नै चुनौती थपिन्छ । कोभिडका विरामीलाई दुई घण्टामै अक्सिजन चाहिन सक्छ, तीन घण्टामा फूल अक्सिजन दिएर आईसीयूमा दौडाउनुपर्ने हुन्छ र, ६ घण्टामै भेन्टिलेटर चाहिनसक्छ ।

हिँडेर आएको विरामीलाई पनि भेन्टिलेटरमा राखेर डायलाइसिस गर्र्नुपरेको छ । पाँच दिनअघिसम्म एक्सरेदेखि सबै कुरा ठीक थियो, पाँच दिनमा भेन्टिलेटरमा राख्नुपर्‍यो । कोरोनाले मुटु, मिर्गौलामा पनि हानेको देखियो । तीन महिनासम्म विरामीले थकित महशुस गरेको पनि पाएका छौं । त्यसैले जोखिमयुक्त संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानी जरुरी हुन्छ ।

तर, हाम्रो देशमा कोभिड नहुँदा पनि हेल्थ केयर सिस्टम प्रयाप्त मात्रामा थिएन । सरकारको कमजोर व्यवस्थापनको कारण नागरिक अहिले झन ठूलो मारमा परिरहेका छन् । सिकिस्त संक्रमितको भीड बढ्न थालेको एक डेढ महिना भइसक्यो । बेडको खोजीमा सिकिस्त विरामी आइरहनुहुन्छ । हरेक दिन विरामीलाई फिर्ता पठाउनुपर्छ । आईसीयू बेड नभएपछि कहाँ भर्ना लिने ?

बाहिरबाट आएका बिरामीलाई भर्ना नगर्न पनि पाइयो । तर, अस्पतालमै भएका बिरामीलाई त जसरी भए पनि बचाउनुपर्‍यो नि ! बेड बढाएर भए पनि बचाउन खोज्छौं वा कम जोखिम भएका बिरामीलाई आईसीयूबाट बाहिर राखेर बढी जोखिम भएकालाई राख्नुपर्छ । तर, सधैं यसरी व्यवस्थापन गर्न सकिँदैन ।

अहिले सबै अस्पताल भरिएका छन् । हामीलाई त हरेक बिरामी बचाउन मन हुन्छ । तर, कुन चाहिँ बिरामीलाई छानेर लिने भनेर हामी दुविधामा हुन्छौँ । जब बुढोलाई बचाउने कि युवालाई भनेर रोज्नुपर्छ, त्यो निकै ठूलो दुःखको विषय हुन्छ । बिरामी कहाँ गयो होला भनेर लामो समय हाम्रो दिमागलाई स्ट्राइक गर्छ ।

मानौं, एक दिनमा देखिएका एक हजार संक्रमितमध्ये १० प्रतिशतलाई मात्र भर्ना हुनुपर्‍यो भने १०० बेड आवश्यकता पर्छ । त्यसमध्ये पाँचजनालाई आईसीयू चाहिन सक्छ । अब आईसीयू र भेन्टिलेटरका बिरामीलाई कहाँ राख्ने ? हाम्रो अस्पतालमा १० आईसीयू र १२ भेन्टिलेटर छन् । बिरामी एकपटक आईसीयू वा भेन्टिलेटर राख्यो भने उसले कम्तिमा एकहप्ता होल्ड गर्छ, अरु कहाँ जाने ?

यो सबै सरकारको तयारी राम्रो नभएको परिणाम हो । सरकारले आइसोलेसन सेन्टर खोलिदिएको भए धेरै सजिलो हुन्थ्यो । कोरोना संक्रमण फैलन पनि कम हुन्थ्यो ।

यो पनि पढ्नुहोस बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

अर्कोतर्फ वैज्ञानिकले प्रमाणित गरेको रेमडिसिभिरजस्ता कोभिडको औषधि प्राप्त गर्न टाउको फोड्नुपर्ने अवस्था छ । यो ठ्याक्कै कोभिडको औषधि नभएपनि कोभिडका संक्रमितलाई बचाउन यसले निकै ठूलो भूमिका खेल्छ । यस्तो औषधि आईसीयूमा उपचारत संक्रमितलाई सरकारले निःशुल्क उपलब्ध गराउन जरुरी हुन्छ । तर सरकारले नै सःशुल्क आयातित गर्न दिइरहेको छैन ।

आजको मितिमा कोरोना माहामारी जित्ने एउटै तरिका भनेको सरकारले सामान्यीकरण गर्नु हो । सरकारले सूचना, विरामी भर्ना हुने तरिका, ठाउँ, औषधिलाई सहजीकरण गर्नुपर्छ । मैले कोभिड क्लिनिकमा विरामी हेर्छु । मानौं, दुई सय जना पोजेटिभ आयो रे । पोजेटिभ आएपछि कसलाई फोन गर्ने ? कहाँ जाने ? के तपाइलाई थाहा छ ? त्यसका लागि प्रभावकारी हटलाइन हुनुपर्छ कि पर्दैन ? विरामीलाई अक्सिजन चाहियो भने कुन अस्पताल पुग्ने ? कसलाई खबर गर्ने ? यो काम एक अस्पताल वा स्वास्थ्यकर्मी वा नागरिकले गरेर हुँदैन । जनताका लागि राम्रो गर्न सरकार नै अघि सर्नुपर्छ । तर, हाम्रो देशमा सरकार ‘स्लो मोसन’ सिनेमाजस्तो भएको छ ।

प्रस्तुति : विश्वास खड्काथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment