Comments Add Comment

सप्तरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

१८ कात्तिक, सप्तरी । सप्तरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको विराटनगर र एकजनाको धरानमा मृत्यु भएको हो ।

जिल्लाको महदेवा गाउँपालिकाका एकजना, हनुमाननगर कंकालिनी नगरपालिकाका एकजना र अग्निसाइर कृष्णासावरण गाउँपालिकाका एकजना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखापरेपछि ती पुरुषलाई गत कात्तिक १४ गते विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा १५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आाएपछि उनलाई सोही दिन न्यूरो अस्पताल रेफर गरिएको थियो । उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउतले जानकारी दिए । अस्पतालका अनुसार मृतक पुरुष मधुमेह तथा उच्च रक्तचापका बिरामी समेत थिए ।

त्यस्तै महादेवा गाउँपालिका-६ ढिकुलीका एक युवकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारै राति मृत्यु भएको छ । मृतक ३० वर्षीय युवक प्रतिष्ठानमै रेडियोग्राफी पदमा कार्यरत थिए । झाडापखाला लागेका ती युवकलाई आइतबार उपचारका लागि भर्ना गरिएको थियो । त्यस दिन स्वाब संकलन गरेर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै अग्निसाइर कृष्णासावरण गाउँपालिका-५ का ६२ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश यादवका अनुसार उनको मृत्यु गत कात्तिक १३ गते नै भएपनि जानकारी मंगलबार आएको छ । ज्वरो आएपछि उपचारका लागि गत कात्तिक ८ गते नोबेल मेडिकल कलेज पुगेका उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा १२ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा उपचारकै क्रममा उनको गत १३ गते नै मृत्यु भएको स्वास्थ्य संयोजक यादवले बताए ।

योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment