Comments Add Comment

खुलामञ्चको खानाबारे संसदीय समितिले मेयर शाक्यलाई बोलायो

२० कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुलामञ्चमा खाना नबाँड्न दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई सोध्ने भएको छ ।

खुलामञ्चमा खाना नबाँड्न काठमाडौं महानगरले दिएको निर्देशनका विषयमा मेयर शाक्यलाई नै बोलाएर सोध्ने निर्णय भएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार बोलाउने मिति भने तय भएको छैन ।

‘आगामी सोमवार वा मंगलबार बैठक राख्ने र छलफल गर्ने भन्ने भएको छ । छलफलमा शाक्यसहित उपत्यकाका मेयर फोरमका प्रतिनिधिहरुलाई समेत बोलाउनेछौं’ उनले भने ।

प्रत्येक वडाका खाना खुवाउने व्यवस्था मिलाऔं : सांसद प्रधान

समिति बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले उपत्यकामा प्रत्येक वडामा खाना खुवाउने व्यवस्था मिलाउनुपर्ने बताए ।

‘कोभिड कोषमा पैसा छ । त्यो पैसा खर्च गरेर भए पनि खाना नपाएकाहरुलाई खाना खुवाउनुपर्छ । भोक र रोगले मर्न दिनु भएन नि !’ उनले भने ।

खान नपाएकाहरुलाई खाना खुवाउने दायित्व स्थानीय सरकारको भएको भन्दै सांसद श्रेष्ठले अगाडि थपे, ‘काठमाडौंका मेयर हावादारी कुरा गरेर हिँडिरहनुभएको छ । तिनलाई समितिमा बेलाएर छलफल गर्नुपर्छ ।’

हन्ड्रेड्स ग्रुप नेपालका स्वयंसेवीले खुलामञ्चस्थित बसपार्कमा हरेक दिन विपन्नलाई खाना खुवाउँदै आएका छन् ।

केही दिन अघि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएको थियो । यस निर्णयबारे सर्वत्र आलोचना भएपनि काठमाडौं महानगरका मेयर शाक्यले पार्टी प्यालेसमा खाना खुवाउन अभियन्ताहरुलाई आग्रह गरेका छन् । बरु पार्टी प्यालेसको भाडा महानगरले तिरिदिने उनको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment