
२० कात्तिक, जनकपुरधाम । सप्तरीमा दुईजना र सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका-२ की २६ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो १० दिनयता धरानमै उपचाररत उनको गत १८ गते स्वाब संकलन गरेर परीक्षण गर्दा १९ गते बुधबार रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखेको एक दिन नबित्दै उनको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ध्रुवनारायण देवले जानकारी दिए । देवका अनुसार मृतक महिला मिर्गौला रोगी थिइन् ।
यस्तै, सप्तरीको महदेवा गाउँपालिका-४ का ३० वर्षीय युवकको पनि मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवका अनुसार ती युवकको विराटनगरस्थित म्याक्स इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
युवकको गत कात्तिक ७ गते नै मृत्यु भए पनि पछिल्लो रिपोर्ट बिहीबार आएको यादवले बताए । युवकलाई ज्वरो आएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा ५ गते पोजेटिभ रिपोर्ट आएको थियो ।
उनलाई सोही अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
यस्तै, सिरहाको बिष्णुपुर गाउँपालिका १ निवासी ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले मृत्यु भएको छ ।
ज्वरो लागेर श्वास फेर्न समस्या भएपछि पुरुषलाई गत कात्तिक १७ गते विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब संकलन गरी परीक्षण गर्दा १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक यादवले बताए । मृतक पुरुष निमोनियाँ रोगी समेत थिए ।
योसँगै सिरहामा कोरोना संक्रमित भएपछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।
प्रतिक्रिया 4