
२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तिक्तता बढेका बेला महासचिव विष्णुप्रसाद पौडेल लगातार भेटवार्तामा छन् ।
कात्तिक १५ को भेटवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टी विभाजनको प्रस्ताव राखेपछि नेकपा गम्भीर संकटको मोडमा पुगेको सन्देश पौडेलले नै दिएका थिए । पार्टी गम्भीर संकटको मोडमा पुगेकाले कार्यकर्ता पंक्तिलाई एकताका लागि आग्रह गरेका पौडेलले शुक्रबारसम्म दुई दर्जन नेताहरुसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार मात्रै पौडेलले सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए । उनको सचिवालयका अनुसार, पौडेलले ओली, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल सहित सचिवालयका सवै नेतासँग भेटवार्ता गरेका छन् ।
महासचिव पौडेलले पार्टीमा प्रभाव राख्ने स्थायी कमिटीका सदस्यहरुसँग समेत लगातार भेट गरिरहेका छन् । उनले शक्ति बस्नेत, प्रभु साह, वर्षमान पुन, गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी लगायत स्थायी कमिटी सदस्यहरुसँग कुराकानी गरेका छन् ।
पार्टीको विवाद समाधानका लागि गठित आफ्नो नेतृत्वमा बनेको तत्कालीन कार्यदलका पाँचै जनासँग कुराकानी गरेका छन् । ओली-प्रचण्डद्वारा गठित र भदौ २ को सचिवालय बैठकबाट अनुमोदित कार्यदलले ल्याएको सुझाव प्रतिवेदनलाई नै परिमार्जन गरी भदौ २६ को स्थायी कमिटी पारित गरेको थियो ।
पार्टीमा देखिएको संकट समाधान गर्नेबारे कुराकानी भइरहेको महासचिव पौडेलले बताए । उनले भने, ‘धेरै नेताहरुसँग कुरा गरेँ, पार्टीभित्र देखिएको समस्या हल हुनेमा आशावादी भएको छु ।’
कार्यदलले दिएको सुझाव र स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नहुनु नै प्रमुख समस्या भएको नेताहरुको बुझाइ आफूले पाएको उनले बताए । ‘कोही पनि विभाजनको पक्षमा देखिनु हुन्न’, पौडेल भन्छन्, ‘अब दुई अध्यक्ष स्थायी कमिटीको निर्णयकै पक्षमा उभिनुहुन्छ । त्यही समस्या समाधान हुन्छ ।’
प्रतिक्रिया 4