२३ माघ, बुटवल । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्ने आग्रह गरे ।
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने चेतावनी दिँदै यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताए । उनले प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।
‘समाजमा झुटो सूचनाको बिगबिगी छ, सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ’, उपाध्यक्ष पौडेलले भने, ‘झुटो र भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्छ ।’
विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानव हितका लागि हुनुपर्ने बताए ।
उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । ‘प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन विज्ञान र प्रविधिको सहायताले मानिसले आफ्नो दैनिकी सहज बनाइरहेको छ, तर आफ्नै अस्तित्व समाप्त हुने गरी प्रविधिको प्रयोग हुनु हुँदैन’, पौडेलले भने, ‘मानिस नै अन्तिम सत्य हो ।’
प्रतिक्रिया 4