Comments Add Comment

आँखै अगाडि कैलाश पर्वत (फोटो फिचर)

२२ कात्तिक, काठमाडौं । भौतिक विकास र सुखले नछोएको जिल्ला हो, हुम्ला । जबकी यो आफैंमा प्राकृतिक स्रोत र सौन्दर्यले सुशोभित पनि छ ।

जस्तो कि, लिमी उपत्यका । तिब्बतियन संस्कृतिलाई आफूमा समेटेर थपक्क बसेको यो उपत्यकामा पुगेपछि अन्यत्र ध्यान मोडिदैन । अनुपम प्राकृतिक सौन्दर्यले जो–कोहीलाई मोहनी लगाउँछ ।

रैथाने जनजीवनले पनि आगन्तुकलाई बेग्लै अनुभूति गराउँछ । यहाँको दर्शनीय स्थल भनेका प्रचिन गुम्बाहरु हुन् । यी गुम्बाहरु एक हजार वर्षभन्दा पुरानो रहेको बताइन्छ ।

लिमी भ्याली पुग्नका लागि हुम्लाको सदारमुकाम सिमकोटबाट पाँच दिन हिँड्नुपर्छ । तीन वटा गाउँ तिल, हल्जी र जाँग मिलेर बनेको छ यो उपत्यका । सिमकोटदेखि लिमीसम्म पुग्ने सडक निर्माण भइरहेको छ । लगभग यी दुई ठाउँलाई सडकले आपसमा जोडिसकेको छ । च्यासरा भीरमा केही स्थानमा भने निर्माणको काम बाँकी छ ।

लिमी भ्यालीबाट पुग्न सकिने दुईवटा नजिकको गन्तव्य छन्, चीनको ताक्लाकोट र ल्याक्पा लाप्चा स्यार । ताक्लाकोट छाडौं । ल्याक्पा स्यार पुग्न ६ दिन मज्जाले हिँड्नुपर्छ ।

ल्याक्पा स्यारबाट आँखै अगाडि कैलाश पर्वत देखिन्छ । कैलाश पर्वत अवलोनका लागि यही ठाउँलाई नै विकास गर्न सकिए पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ । कैलाश पर्वत अर्थात् मनसरोवर धार्मिक पर्यटकहरुको लागि यो एक आकर्षक गन्तव्य हो । ‘कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ,’ भन्ने धार्मिक विश्वासकै कारण यहाँ पर्यटकको घुइँचो लाग्छ ।

हुम्लाको सिमकोटलाई कैलाश पर्वतको प्रवेशद्वार मानिन्छ । यद्यपि त्यहाँसम्म पुग्नका लागि भिसाको व्यवस्था गर्नुपर्छ, जुन अलि झन्झटिलो छ । यदि यो झन्झट नउठाउने हो भने ल्याक्पा स्यार नै उपयुक्त गन्तव्य हुनसक्छ ।

ल्याक्पा स्यारसम्म पुग्नलाई दुई वटा बाटा छन् । एक, हिल्सा बाटोबाट लिमी हुँदै ल्याक्पा स्यार जाने र अर्को, न्यालो पास ४९५० मिटरको पास भएर लिमी हुँदै ल्याक्पा स्यार जाने । त्यहाँसम्म पुग्न सिमकोटदेखि तीन हप्ता लाग्नसक्छ ।

प्रचार गर्न पाए हुन्थ्यो : तेन्जिङ नोर्बु लामा, पर्यटन व्यवसायी

हुम्ला आउने अधिकांश धार्मिक पर्यटक नै हुन् । हुम्ला हुँदै चीनको मानसरोवर जाने यात्री नेपालगन्ज र सुर्खेत हुँदै जान्छन् ।

अहिले हवाई भाडा केही महँगो पनि छ, त्यसलाई केही हेरफेर गर्न सकिन्छ । मानसरोवर जाने यात्रीलाई त भारत सरकारले अनुदान पनि दिँदै आएको छ । उनीहरुको त्यो सुविधालाई मध्यनजर गर्दै हामीले लकडाउनपछि साता वा दश दिनसम्मको प्याकेज बनाउनुपर्छ ।

यदि मानसरोवरसम्म पुग्न झन्झट भयो वा भिसाको समस्या भयो भने पनि केही छैन । ल्याक्पा स्यारबाट मानसरोवरको दर्शन गर्न सकिन्छ । बरु हामीले यही ल्याक्पा स्यारलाई विकास गर्न सके स्थानीय पर्यटनमा ठूलो टेवा पुग्ने थियो । यसबाट हुम्ला मात्र होइन, समग्र राज्य नै लाभान्वित हुन्थ्यो भन्ने लाग्छ । किनभने मानसरोवर एक पवित्र र धार्मिक पर्यटकहरुको खास गन्तव्य हो । अतः मानसरोवरको पर्यटनबाट हामीले पनि आफ्नो हिसाबले लाभ उठाउन सक्छौं ।

यसका लागि सुरुमा त ल्याक्पा स्यारको प्रचार प्रसार गर्नु जरुरी छ । त्यसपछि पर्यटकको सुविधालाई ध्यानमा राखेर आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ । यदि यसरी एकीकृत विकास गर्न सकियो भने मानसरोवर हेर्नका लागि ल्याक्पा स्यारसम्म पर्यटकको घुइँचो लाग्ने मात्र होइन, तिब्बत र चीनका पर्यटक समेत कर्णालीसम्म तान्न सकिन्छ । किनभने यहाँ प्राचिन गुम्बाहरु प्रशस्तै छन् ।

यस्तै, कर्णालीका पर्यटन व्यवसायीले काठमाडौंका ट्राभल एजेन्सीसँग समन्वय गर्न सक्नुपर्दछ । पोखरा, चितवन र पूर्वी हिमाली क्षेत्र घुम्न आउनेलाई त्यहाँका एजेन्सीमार्फत कर्णालीको महत्व, यहाँका पुरातात्विक स्थान र अनुसन्धानका लागि उपयुक्त स्थानबारे जानकारी गराउन सक्यौं भने उनीहरुको प्याकेजमा आएका पर्यटकहरु पनि एकपटक कर्णाली हेर्न अवश्य आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment