+
+
Shares

मनोविश्लेषकको सुझाव : कोरोना लागे आत्तिनु हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते २०:०८
वायाँबाट क्रमशः- वासु आचार्य र डा. सुदर्शननरसिंह प्रधान

२३ कात्तिक, काठमाडौं । गत आइतबार नोबेल कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएकै दिन बुद्धनगर बस्दै आएका ५३ वर्षीय पुरुषको मृत्यु भयो । कास्की स्थायी घर भएका उनी रिपोर्ट आएलगत्तै अचेत भएका थिए । बिहान कोरोना लागेको थाहा पाएका उनको दिउँसो १ बजेतिर मृत्यु भएको हो ।

त्यसअघि २६ असोजमा काठमाडौंका ६६ वर्षीय पुरुषको मृत्यु भयो । अघिल्लो दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वाब दिएर फर्केका उनी भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि एकाएक ढल्न पुगे ।

त्यसपछि कुपण्डोलस्थित सर्वाङ्ग अस्पताल पुर्‍याइएका उनलाई त्यहाँका चिकित्सकले पाटन अस्पताल रिफर गरे । पाटनका चिकित्सिकले साढे एक बजेतिर मृत घोषित गरे ।

मनोचिकित्सकहरू माथिका दुवै घटनामा मानसिक कारण जोडिएको हुनसक्ने बताउँछन् । ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि केही व्यक्तिमा मानसिक आघात पर्नसक्छ,’ मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘सधैं सबैले चर्चा गरिरहेको भाइरस आफ्नो शरीरमा देखियो भन्दा कसैलाई असह्य हुनसक्छ ।’

मानसिक आघातका कारण

मनोचिकित्सक डा. सुदर्शन नरसिंह प्रधान कहिल्यै नसोचेको घटना अचानक आइपर्दा वा जुन विपत्ति आफूलाई नपरोस् भन्ने चाहेको छ त्यही आइलाग्दा कतिपय व्यक्तिमा मानसिक झट्का लाग्ने बताउँछन् ।

कोरोना परीक्षण गर्न जाने भनेकै रिपोर्ट पोजेटिभ आउने सम्भावना बढी भएकाले हो । शंका लागेर परीक्षण गर्न गइसकेपछि पोजेटिभ आए पनि आत्तिन नहुने चिकित्सकहरू बताउँछन्

‘मलाई कोरोना लाग्दैन भनेर बसेका बेला रिपोर्ट पोजेटिभ आउनु एक हिसाबले अप्रत्यासित घटना जस्तो हुन जान्छ र यस्तो बेलामा कोही व्यक्ति बेहोस हुन सक्छ’, डा.प्रधान भन्छन् ।

कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूले निद्रा लागेन, छटपटी बढ्यो भन्ने गुनासो धेरै गरेको उनी बताउँछन् । कोरोना नलागेका व्यक्तिसमेत आत्तिएर टाउको दुख्ने, घाँटी खसखस गर्ने, ज्वरो बढे जस्तो हुने समस्या लिएर आउने गरेको उनले बताए ।

कोरोना महामारीपछि निरन्तर परामर्श दिइरहेका एक मनोचिकित्सक कोरोनाबारे यथार्थ ज्ञानभन्दा हल्लाको पछि लाग्दा मानिसहरु अनावश्यक रुपमा आत्तिने गरेको बताउँछन् । उनी भन्छन्, ‘कोरोना केही होइन, बेसारले भगाउँछ भन्ने जस्ता निराधार/अवैज्ञानिक हल्ला पत्याउनेहरू कोरोनाको सामान्य लक्षण देखिएपछि लौ म त मर्ने भएँ भनेर अत्तालिएका थुप्रै केस छन् ।’

आफूलाई कोरोना लागेपछि परिवारका सदस्य वा आफन्तलाई दुःख हुने भयो, छिमेकीले के भन्लान् भन्ने जस्ता कुरामा पनि अनावश्यक चिन्ता लिने गरेको मनोचिकित्सकहरूको अनुभव छ । उनीहरुका अनुसार मानसिक आघातले शारीरिक रुपमा पनि असर पुर्‍याउन सक्छ ।

‘रिपोर्ट लिन जाँदा मेरो पोजेटिभ हो भन्ने ठान्नुस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाबाट देशभरी एक हजार ८७ जनाको मृत्यु भएको छ । यो तथ्यांक सुनेर कोरोना लाग्दा डर हुनु अस्वाभाविक होइन ।

तर बिर्सन नहुने कुरा के हो भने कोरोना लागेका १ लाख ८९ हजार मध्ये १ लाख ५३ हजार निको भएका छन् । नेपालमा पोजेटिभ देखिएकामध्ये ०.६ प्रतिशतको मात्र मृत्यु भएको देखिन्छ । विश्वभर यो दर २.५ प्रतिशत छ ।

‘पहिला एचआईभी/एड्स पोजेटिभ हुँदा पनि मान्छेहरू यसरी नै आत्तिन्थे, अहिले कोरोना लाग्यो म मरिहाल्छु भनेर आत्तिन जरुरी छँदैछैन’, मनोविश्लेषक आचार्य भन्छन्, ‘पहिलो कुरा रिपोर्ट पोजेटिभ आउनसक्छ भनेर मानसिकरुपमा तयार भएर बस्नुस्, लागिहाल्यो भने मन झनै दह्रो पार्नुस् ।’

कोरोना परीक्षण गर्न जाने भनेकै रिपोर्ट पोजेटिभ आउने सम्भावना बढी भएकाले हो । शंका लागेर परीक्षण गर्न गइसकेपछि पोजेटिभ आए पनि आत्तिन नहुने चिकित्सकहरू बताउँछन् ।

मनोचिकित्सक डा. प्रधान आइसोलेसनमा बस्नेहरूलाई नकारात्मक समाचार नहेर्न र व्यस्त रहन सुझाव दिन्छन् । ‘आफन्त र साथीभाइसँग टेलिफोन वा अनलाइनमा कुराकानी गरिरहनुस्,’ उनी भन्छन्, ‘आइसोलेसनमा बस्नु भनेको भौतिक रुपमा टाढा रहनु हो । तर, सामाजिकरुपमै एक्लिएर बस्नु होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?