Comments Add Comment

सीके राउतका सहयोगी महतोले बनाए नयाँ समूह

२३ कात्तिक, जनकपुरधाम । सीके राउत नेतृत्वको तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले अलग्गै स्वाधीन मधेस जनअभियान नामक संगठन खोलेका छन् ।

उनको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जन–अभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरिएको छ ।

सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि महतो असन्तुष्ट थिए ।

महतोले बनाएको समितिमा रमेश सिंह (महोत्तरी), संजय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुव प्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेश प्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी) लाई चयन गरिएको छ ।

संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको बताए ।

उनले काठमाडौं र मधेसका बीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने पनि बताए ।

महतोले आफूले स्वतन्त्र र राजनीतिक अभियान सुरु गरेको भन्दै मधेससँग राज्यले गरेका विगतका सम्पूर्ण सहमति र सम्झौताहरुको खोजतलास गरी उचित व्याख्या र विश्लेषणको आधारमा कार्यान्वयन गर्न दबाब दिने पनि घोषणा गरे ।

मधेसीले विदेशीको भन्दा पनि अपहेलित र अधिकारविहीन भएर बस्नुपरेको अवस्थालाई राज्यले गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment