Comments Add Comment

नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सीसीएमसीको सिफारिस

सीसीएमसीको बैठक । तस्वीर : रासस

२३ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ ।

सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ ।

बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार अन्त्य गर्ने निर्णय पनि गरेको छ ।

सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको छ । उनले भने, ‘कूटनीतिक नियोगहरुबाट उद्दार गर्न जरुरी भएकाहरुको संख्या लगभग सकिएको र कोही भए नियमित उडानमा समावेश गर्न सकिने त्यसअनुसार नै निर्णय भएको छ ।’

सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।

साथै कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ ।

सीसीएमसीका सचिव गुरागाईंका अनुसार संक्रमणको पछिल्लो अवस्थाबारे विश्लेषण गरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment