Comments Add Comment

सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : प्रकाशमान

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको आरोप लगाएका छन् ।

कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्यो । अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन ।’

‘बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ ?’ उनले प्रश्न गरे, ‘हामीले स्थीर सरकार दिन्छौं भन्नु भएको थियो, अहिले ११/१२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थीरता यही हो ?’

उनले थपे, ‘त्यतिमात्र होइन कोरोनाको महामारी छ, सरकार न्यूनतम कामसमेत हामी गर्न सक्दैनौं भनेर पछि हट्दै गइरहेको छ । यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन् ।’

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले आजै बिहान ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह अस्पताल पुगेर आफ्नो एक महिना बराबरको तलब अस्पताललाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment