Comments Add Comment

चिनियाँ स्मार्टफोन बजारमा गिरावट, हुवावेको अग्रता कायमै

चालू वर्ष सन् २०२० को तेश्रो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा गिरावट देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा चिनियाँ स्मार्टफोन बजारमा १४.३ प्रतिशतको गिरावट देखिएको हो ।

आईडीसीको रिपोर्टअनुसार यो अवधिमा चिनियाँ बजारमा ८ करोड ४८ लाख गोटा स्मार्टफोन मात्र बिक्री भएका छन् ।

यस अवधिमा एकातर्फ चिनियाँ बजारमा स्मार्टफोनको मागमै कमी आएको र अर्कोतर्फ हुवावे र एप्पलले नयाँ स्मार्टफोन लञ्च गर्न ढिलाइ गर्नुका साथै हुवावेले भोग्नुपरेको समस्यासमेत प्रमुख कारण रहेको रिपोर्टमा उल्लेख छ ।

चिनियाँ स्मार्टफोन बजारमा हुवावे ४१.४ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा रहेको छ । यद्यपि हुवावेले मेट ३० सिरिजलगायतका कतिपय मोडेलको उत्पादन नै घटाउनु परेको छ ।

आईडीसीको रिपोर्टमा भनिएको छ, ‘हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध अगष्टमा झनै कसिलो बनेसँगै त्यसको असर कम्पनीको घरेलु बजारमा समेत देखिएको छ ।

यद्यपि अमेरिकी प्रतिबन्धले हुवावेका घरेलु फ्यानहरुको क्रेज घटाउन भने सकेको छैन जसका कारण चीनमा हुवावेको बजार हिस्सा ४० प्रतिशत भन्दा माथि नै रहन सफल भएको छ ।

हुवावेपछि चिनियाँ स्मार्टफोन बजारमा दोश्रो स्थानमा भिभो रहेको छ, जसको बजार हिस्सा १७.८ प्रतिशत रहेको छ । त्यस्तै १६.६ प्रतिशतसहित ओप्पो तेश्रो स्थानमा रहेको छ ।

चिनियाँ स्मार्टफोन बजारमा १३ प्रतिशत हिस्सासहित शाओमी चौथो स्थानमा रहँदा एप्पल पाँचौँ स्थानमा रहेको छ । चिनियाँ स्मार्टफोन बजारमा एप्पलको बजार हिस्सा ८.३ प्रतिशत रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment