Comments Add Comment

‘धुर्मुस’को डायरीमा कोरिएको रंगशाला निर्माणको कथा…

एकिकृत नमुना बस्तीको अवधारणा अगाडि बढाउने मात्र होइन, निर्माण सम्पन्न पनि गरिसकेपछि कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी फेरि कलाकारितामा नै फर्किने सोचमा थियो । उनीहरु, अब कलाकारितालाई नै अगाडि बढाउने र कुनै दबाब नलिई जिन्दगीलाई अगाडि बढाउने सोचमा थिए ।

सोही समयमा नेपालले क्रिकेटमा नयाँ फड्को मार्यो । एकदिवसीय क्रिकेट खेल्ने मान्यता नेपालले पाएसँगै क्रिकेटका फ्यानहरुमा उत्साह थपियो । नेपालमा क्रिकेट मैदानाको आवश्यकता भएपनि यसको निर्माणमा खासै पहल भएको थिएन ।

सोही समयमा सितारामका भाई कलाकार कुमार कट्टेल जोसिए । उनले, दाई सितारामलाई क्रिकेट खेल मैदान बनाउनुपर्छ भनेर सल्लाहा दिन थाले । क्रिकेटको बारेमा खासै ज्ञान नभएका सितारामले कुमारको कुरालाई सामान्य रुपमा लिएका थिए ।

तर, क्रिकेटका फ्यानहरु नै घरमा आएर भेट्ने, विभिन्न व्यक्तिहरुले क्रिकेट मैदान बनाए सहयोग गर्ने बाचा गर्न थाले । सोही समयमा सितारामले एउटा स्टाटस लेखे–‘नमुना नेपाल पहिला कि क्रिकेट रंगशाला’ । सो स्टाटसमा आएका हजारौ प्रतिक्रियामा क्रिकेट रंगशाला बनाएको खण्डमा आफूहरुले सहयोग गर्ने जवाफ थियो । यो देखेर सिताराम हौसिए र जग्गा सरकारले दिए रंगशाला बनाउने घोषणा गरे ।

ठडिदै छ रंगशाला
विभिन्न प्रदेशका सरकारहरुले आफ्नो स्थानमा रंगशाला बनाएको खण्डमा जग्गा दिने बाचा गरे । सिताराम विभिन्न प्रदेशमा जग्गा अवलोकन गर्न पुगे । करिब ९ महिना जग्गा हेर्नमै बिताएपछि उनले चितवनमा रंगशाला बनाउने निर्णय गरे ।
रंगशाला बनाउने सोचका साथ अगाडि बढ्दै जाँदा उनलाई ताली भन्दा गाली धेरै आएका थिए । आफ्नो प्रदेशमा रंगशाला नबनाएको भन्दै केही प्रदेशका मन्त्रीहरु रिसाए पनि । सोही समयमा चितवनमा रंगशाला बनाउने भनेर लगाइएको बार पनि स्थानियले डोजर लगाएर भत्काइदिए ।

सिताराम र कुञ्जनाले हार मानेनन् । क्रिकेट रंगशाला बनाउन सुरु गर्दा उनीहरुले जती सामान्य सोचेका थिए, त्यो भन्दै निकै गाह्रो काम रहेछ भन्ने वुझेका छन् । तर, सिताराम हार मान्ने अवस्थामा छैनन् । रंगशालाले आकार लिदै गर्दा सो रंगशालामा समाचार संकलन वा अवलोकनका लागि पुग्ने पाहुनासँग उनी गफिदै भन्छन्–‘अब भने विस्तारै आकार लिदैछ । यो नेपालीहरुको सपना हो । हामीले हाम्रो सपना पुरा गर्दैछौ ।’ ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगाशाला’लाई लिएर सितारामका देखिएको सपना उनको आँखामा झल्किन्छ ।

पारस खड्का उत्साहित
सोमबार क्रिकेट रंगशाल अवलोकन गर्न पुगेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का उत्साहित देखिए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘म गतबर्ष आउँदा यहाँ केही पनि थिएन । अहिले, रंगशालाको निर्माण देखेर अचम्मित भएको छु । म रिटायर्ड हुनु भन्दा अगाडि नै यो मैदानमा खेल खेल्ने रहर छ ।’

पारसले आम नेपालीको सपना साकार हुन लागेको भन्दै सबैलाई सहयोग गर्न पनि अपिल गरे । उनले, क्रिकेट खेलाडीहरुका लागि यो रंगशाला मन्दिर भएको बताए ।

३० हजार दर्शकले हेर्नेछन् क्रिकेट
रंगशालामा ‘नमुना क्रिकेट मैदान’ निर्माण भैसकेको छ । लकडाउन अगाडि सो मैदानमा दैनिकजसो क्रिकेटका खेल हुने गर्दथ्य । नमुना क्रिकेट मैदान नै राष्ट्रिय खेल खेलाउन योग्य रहेको सितारामले अनलाइनखबरसँग बताए । सितारामले भने–‘अहिले ३० हजार दर्शक अट्ने प्याराफिटको निर्माण भैरहेको छ । जमिनमुनीको पानीले काम गर्न समस्या त भएको छ, तर हामीले राती १० बजेसम्म काम गरेका छौ । यहाँ दैनिक २ सय भन्दा बढी कामदारले काम गरिरहेका छन् ।’
क्रिकेट मैदानसँगै फुटबल ग्राउण्ड, कबर्ड हल बनाउने योजना सितारामको छ । यो रंगशाला बनेपछि विश्वकै पहिलो मौलिक खेल मैदान बन्ने सितारम बताउँछन् ।

डायरीमा कोरिएको दुःख
सितारामले आफ्नै कार्यकक्षमा अनलाइनखबरसँग कुरा गर्दै भने–‘सपना ठूलो छ, पुरा हुन्छ भन्नेमा आशा छ । तर, रंगशाला निर्माणको काम सुरु भएपछि पाएका दुःख–सुख, भोगाई मैले डायरीमा लेखेको छु । यो रंगशाला निर्माण गरेपछि एउटा पुस्तक निकाल्ने योजनामा छु ।’

सितारामका डायरीमा रंगशाला निर्माण गर्दा ननिदाएका आँखाका पीडादेखि शारीरिक रुपमा भोगेका परिश्रमिकको कथा छन् । साथै, देशका लागि जनस्तरबाट रंगशाला बनाइरहँदा भोग्नु परेको राजनीतिक खिचातानी र असहयोगका कथा छन् । सितारामको जोश र जागरमा कमी आएको छैन । तर, रंगशाला चाडै निर्माण सकेर केही महिना आराम गर्ने अनी फेरि कलाकारितालाई अगाडि बढाउने उनको सोच छ । सितारामलाई लाग्छ, मैले सकिन भने यो योजना फेरि मेलम्चीको कथा बन्छ । यसलाई मेलम्ची बन्न नदिने सितारामको अठोट छ । उनको यो अठोट पुरा होस्, शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment