Comments Add Comment

सञ्चारमन्त्री भन्छन्– अब मर्यादित पत्रकारिताको बुँदा कानुनमा थप्छु

२५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताए । पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिने बताउँदै उनले भने, ‘यो पनि जानकारी गराउन चाहान्छु कि सञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’

मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको समेत बताए । उनले पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताए । उनले भने, ‘कुनै मिडियामा कुनै समाचार आयो भने त्यो मिडिया त फलानो नेताको नजिक हो भन्ने अवस्था सिर्जना भएको छ ।’

उनले अगाडि भने, ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ ।’

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले विश्वमा आमसञ्चार माध्यमहरुको संख्या तीव्र रुपमा वृद्धि भएको र यसले पाठकलाई फरक दृष्टिकोणसहित पढ्ने अवसर प्राप्त भएको तर ब्रेकिङ गर्ने दबाबले समाचारको तथ्यलाई असर गर्ने गरेको बताए । गलत र भ्रामक समाचारले जनतालाई मिसलिड गर्ने बताउँदै उनले तथ्यगत समाचार सम्प्रेषण गर्दै पत्रकारले जिम्मेवार पत्रकारिताको अभ्यास गर्नुपर्ने बताए ।

राजदूत बेरीले नेपाली पत्रकारहरुले जिम्मेवार पत्रिकाको मूल्य बुझेको र प्रश्न गर्ने मामिलामा उनीहरुमा कुनै हिच्किचाहट नरहेको आफूले पाएको अनुभव सुनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा भएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको दायित्व भएको बताए ।

उनले राज्यका निकायका काम र गतिविधिको निगरानी गर्नुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रका गल्ती र कमजोरी समीक्षाका लागि पत्रकार महासंघले सार्वजनिक बहसको थालनी गरेको जानकारी उनले दिए । अध्यक्ष आचार्यले आगामी दिनमा यस्ता तालिम र कार्यक्रमहरु आवश्यक रहेको बताए ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले देशभरका मिडियाहरुमा प्रकाशित भ्रामक समाचारहरुको सम्बन्धमा अध्ययन गरेको बताए । उनले विभिन्न जिल्लाका पत्रकारहरुलाई दुई चरणमा तालिम प्रदान गरेको जानकारी पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment