Comments Add Comment

कैलालीबाट रोकिएन केराउ तस्करी

२५ कात्तिक, कैलाली । गत कात्तिक १ गते कैलालीमा केराउ तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भयो । हत्यामा संलग्नको आरोपमा ८ जना र केराउ तस्करीमा सघाएको आरोपमा अर्का एक जना पक्राउ परेका छन् ।

२५ लाख रुपैयाँ भन्दा बढीको केराउ तस्करी गर्न प्रहरीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर यो घटनापछि पनि कैलालीबाट केराउ तस्करी भने रोकिएको छैन ।

शनिबार राति कैलालीको टीकापुरबाट प्रहरीले १ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको अवैध केराउ बरामद ग¥यो । टीकापुर नगरपालिका– ९ कालाकुण्डाबाट ६० कट्टा अवैध केराउ बरामद भएको घटनाले अझै पनि यसको तस्करी नरोकिएको पुष्टि गर्छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ती केराउ पनि भारत तस्करी गर्ने प्रयोजनको लागि भण्डारण गरिएको बताए । खुला सीमाको फाइदा उठाउँदै अझै पनि केराउ तस्करी भइरहेको प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

भरियामात्रै समातिन्छन्

दुई प्रहरीको हत्या आरोपमा पक्राउ परेकाहरु नै हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । तर पक्राउ परेकामध्ये धेरैजसो भरिया रहेको प्रहरी स्रोत बताउँछ । घटनामा संलग्न केही व्यक्ति अझै फरार छन् ।

‘दुई जना प्रहरीलाई ८ जनाले मात्रै हत्या गरेका होइनन् अन्य केही पनि संलग्न छन्’ एक प्रहरी अधिकृतले भने ‘हाम्रो अनुसन्धानमा देखिएका २ जना अझै फरार छन् ।’

पक्राउ परेकामध्ये अधिकांश व्यक्ति पैसाको लोभमा तस्करीमा लागेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न ८ जनाले नाम दिएपछि प्रहरीले धनगढीकै व्यापारी राजीव गुप्तालाई पनि पक्राउ गरेको थियो । गुप्ताले जुनसुकै अवस्थामा पनि केराउ भारत पुर्‍याउन उनीहरूलाई दबाब दिएको प्रहरी बताउँछ ।

प्रतिकिलो १० रुपैयाँ दिएर नेपालबाट केराउ भारत पठाउने गरिएको छ । ‘रोजगारी गुमाएर बसेकाहरूलाई यो गतिलो कमाइको माध्यम भयो’ एक प्रहरी अधिकारीले भने ।

सामान्य रुपमा १०० किलो केराउ सीमा कटाइदिए एक हजार रुपैयाँ आउने हुँदा पछिल्लो समय यस्तो धन्दामा संलग्नको संख्या बढिरहेको छ ।

भरियाहरूलाई तस्करले दोहोरो जिम्मा दिने गरेका छन् । नेपालबाट केराउ भारत पठाउने र भारतबाट खाद्यान्न र लत्ता कपडा नेपाल ल्याउने । यसरी नेपाल ल्याउँदा भारतीय तस्करहरूले उनीहरूलाई प्रति ट्रिप १ हजार रुपैयाँ भन्दा बढी दिने गरेका छन् ।

कसरी हुन्छ तस्करी ?

नेपाली व्यापारीहरूले क्यानडाबाट आयात गर्ने केराउ स्वदेशमा थोरै मात्र खपत हुन्छ । भारतमा नेपालबाहेकका मुलुकबाट केराउ, सुपारी र मरिच आयात गर्न पाइन्न । तर, कानुनलाई छलेर भारतीय व्यापारीले नेपाली व्यापारीसँगको मिलेमतोमा विदेशबाट नेपालमा आयात गर्छन् र त्यसलाई नेपाली वस्तु भन्दै भारत भित्र्याउँछन् ।

यसरी तेस्रो देशबाट नेपालमा ल्याएर केराऊ भारत लैजाँदा रोकावट हुँदैन । तर, नेपालबाट भारत लैजानु भनेको गैरकानुनी हुन्छ । तर, नेपाली व्यापारी र भारतीय व्यापारीहरूको साठगाँठमा कैलालीबाट ठूलो मात्रामा केराउ तस्करी भइरहेको छ ।

प्रहरी हत्या प्रकरणको बेला पनि व्यापारी गुप्ताले केराउ तस्करीको जिम्मा स्थानीय तस्करहरूलाई दिएका थिए । गुप्ताले पनि उक्त केराउ धनगढीकै अर्का ब्यापारीबाट खरिद गरेको देखिएको छ । ती व्यापारीले सोझै क्यानडाबाट समेत केराउ ल्याइरहेको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।

पछिल्लो ३ महिनामा मात्रै उनले ४ हजार क्वीन्टल केराउ बेचेका छन् । ‘कैलाली कञ्चनपुर मात्रै होइन पहाडी जिल्लामा पनि केराउ पुगेको देखिन्छ । त्यो सबै तस्करी भयो भन्न सकिन्न । तर, यत्रो (परिमाण) यहाँ खपत हुँदैन’ एक प्रहरी अधिकारी भन्छन् ।

नेपालमा भन्दा भारतमा केराउ प्रतिकिलो ५० रुपैयाँसम्म महँगो छ ।

तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको केराउ तस्करहरूले सीमावर्ती नाकासम्म पु¥याउने र त्यहाँबाट भरियाले सुरक्षाकर्मीको आँखा छलेर भारत पु¥याउँछन् ।

व्यापारीले भारत तस्करी गर्ने केराउ सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने गरेको पाइएको छ । ‘उनीहरुले सीमा क्षेत्रमा भण्डारण गरेर राख्छन् । नेपाली भूमिमा नराख भन्न मिलेन’, एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट प्रहरीको आँखा छलेर रातारात तस्करी हुन्छ ।’

किन नियन्त्रण हुन सकेन तस्करी ?

कैलालीमा १०३ किलोमिटर खुल्ला सीमा छ । पछिल्लो समय यहाँ सशस्त्र प्रहरी बलका थुप्रै सीमा जाँच चौकी (बिओपी) स्थापना गरिएको छ । तर, यसले पनि तस्करी नियन्त्रण हुन सकेको छैन ।

सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने हुँदा केराउ तस्करी नियन्त्रण गर्न कठिन भएको प्रहरी अधिकारीहरु बताउँछन् । त्यसैले भारत निकासीमा प्रतिबन्ध लागेका वस्तु सीमा क्षेत्रदेखि २ किलोमिटरसम्म भण्डारण गर्न नपाउने नियम बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

‘हामीले नेपाली भूमिमै राखेका मटर, मरिच लगायतका वस्तुहरूलाई त्यहाँ किन राखेको भन्न पाउँदैनौँ । फेरि राति त्यहाँबाट तस्करी भएको सुनिन्छ’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने ।

उनले तस्करी बढेको भन्दा पनि प्रहरीले तस्कर पक्राउ गर्ने क्रम बढेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment