Comments Add Comment

ट्रम्पवादी राजनीति : आफ्नै प्रधानमन्त्रीको दम्भ र अभिमान हेरे पुग्छ

अमेरिकी राष्ट्रपति निर्वाचन प्रायः सबैका लागि स्वाभाविक रूचि र चासोको विषय हो । वर्तमान राष्ट्रपतिले फेरि जित्लान् कि नजित्लान्, जितून्/नजितून् जे विचार भएपनि सबैको अवधारणा तिख्खर नै रहेको हो । आफैं नौ वर्ष बसेको, परिवारका सबै सदस्यले उच्च शिक्षाको कम्तीमा एउटा खुडि्कलो त्यहीँबाट पूरा गरेको, छोरी र बुहारी मतदाता पनि भएकाले मेरा लागि पनि यो निर्वाचन निकै नै अभिरुचि र कौतुहलको विषय थियो ।

२०४५ सालदेखि अहिलेसम्मका नौ वटा अमेरिकी राष्ट्रपति निर्वाचन नजिकबाट नियालेको छु । तर यसअघिका निर्वाचनले हामी जस्तो दूरदराजका मुलुकलाई यसपाला जति प्रभावित नगरेको मेरो विश्लेषण छ ।

सार्वजनिक जीवनमा रहेका सय जनाजति नेपालीलाई आमन्त्रण गरी राष्ट्रपति निर्वाचन परिणाम सँगसँगै अवलोकन गर्न अमेरिकी राजदूतले आयोजना गर्ने चियापान कार्यक्रममा २०५३ सालदेखि निरन्तर सहभागी हुँदै आएको थिएँ । यी समारोहमा रमाइलोका लागि गरिने नक्कली निर्वाचनमा सधैं नै नेपाली सहभागीको अत्यधिक मत डेमोक्रेटिक पार्टीका उम्मेदरवारले पाउने गर्थे । तर यसपालि कोभिड-१९ महामारीका कारण यस्तो कार्यक्रम आयोजना भएन जस्तो लाग्छ । आयोजना भएको भए लगभग सबै नेपालीको समर्थन डेमोक्रेटिक पार्टीका उम्मेदवार जोसेफ बाइडनले पाउने थिए जस्तो लाग्छ । अमेरिकाभन्दा बाहिर ट्रम्पप्रति नकारात्मक धारणा अझै चर्को भएको सबैलाई ज्ञातव्य छ ।

अमेरिकी नागरिकले मतदान गर्ने वास्तविक निर्वाचनमा बाइडन विजयी भएको सुनेर विश्व जनमतले राहतको सास फेर्न सकेको छ भन्ने मेरो विश्वास छ । यद्यपि डिसेम्बर महिनामा अमेरिकी कंग्रेसको संयुक्त बैठकले औपचारिक रुपमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनको परिणाम र प्रत्येक राज्यका निर्वाचक मण्डल प्रमाणीकरण गर्ने प्रक्रिया बाँकी नै छ । तर परिणाम अहिले नै प्रष्ट छ ।

समकालीन विश्वमा ट्रम्प निर्वाचित सत्तावादी (elected authoritarian) राजनीतिको प्रतीक पुरुष हुन् । त्यसैले उनको पराजयलाई उदार लोकतान्त्रिक पद्धतिप्रति अमेरिकी जनताको विश्वासको विजयका रूपमा विश्व समुदायले लिएको छ । नागरिक असन्तुष्टि र निराशाको दुरुपयोग गर्दै निर्वाचनको माध्यमबाट असहिष्णु राजनीतिको प्रतिस्थापन विकासशील मुलुकमा मात्र हुने होइन ।

२०७३ सालमा युरोपियन युनियनबाट छुटि्टने बेलायती जनमतको निर्णय र त्यसपछि अमेरिकामा ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि यो ध्वंसात्मक प्रवृत्तिले लामो अभ्यासबाट लोकतान्त्रिक पद्धति, संवैधानिक सरकारको स्थापित परम्परा भएका मुलुकलाई पनि गाँजेको स्पष्ट भयो ।

विश्वविख्यात राजनीतिशास्त्री स्यामुल हन्टिङ्गटन अन्तर्गत आफ्नो विद्यावारिधि सम्पन्न गरेका समकालीन विश्वमा सुप्रसिद्ध एवं अत्यन्त प्रभावशाली विचारक फ्रान्सिस फुकुयामा र फरिद झकारियाले अनुदार लोकतन्त्र शीर्षकमा धेरै लेख्नु/बोल्नु भएको छ । त्यतिकै प्रतिष्ठित प्राध्यापकद्वय ड्यारन एसिमग्लु रजेम्स रविन्सनले पनि राज्य र समाजको शक्ति कमजोर र असन्तुलित हुँदा लोकतन्त्र, मुलुकको अस्तित्व र विकासमा पर्ने खतराबारे प्रशस्त लेख्नुभएको छ ।

ट्रम्पवादी निर्वाचित सत्तावादी राजनीति बुझ्न कुनै पनि नेपालीले अमेरिका बुझ्नु पर्दैन, आफ्नो प्रधानमन्त्रीको दम्भ र अभिमान अवलोकन गरे पुग्छ ।

फुकुयामाले लेख्नुभएको थुप्रै पुस्तक र एसिमग्लु र रविन्सनको लेख्नुभएको दुई पुस्तकबारे मैले अन्यत्र पनि निकै चर्चा गरेको छु । आज ती पुस्तकको ज्ञानको आलोक र फुकुयामा, झकारिया र एसिमग्लुले भर्खर सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचन समकालीन राजनीतिमा ट्रम्प प्रवृत्तिको निर्वाचित सत्तावादी नेतृत्वको प्रभावबारे लेखेका-बोलेका साहित्यको सारलाई समेत आधार बनाउँदै/हृदयंगम गर्दै अमेरिकी राजनीतिमा ट्रम्पको अवसान, बाइडनको उदयले विश्वभरि नै र नेपालमा पनि पार्न सक्ने प्रभावबारे केही चर्चा गर्ने कोसिस गर्दैछु ।

सात महिनाअघि विश्व स्वास्थ्य संगठनले नेपालमा कोभिड-१९ संक्रमितको संख्या १५०० देखि १० हजारको बीचमा रहने अनुमान गरेको थियो । कम्युनिस्ट पार्टीको सरकारको अकर्मण्यता, आमनागरिकलाई संक्रमणबारे भ्रमित बनाउने प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूको सन्देश, बन्दाबन्दीको सदुपयोग गर्ने ज्ञान, सिप र क्षमताको अभाव, सतही ज्ञान र सत्तान्धमा भएका कारण प्रधानमन्त्रीमा रहेको आफू सर्वज्ञ छु भन्ने भ्रम, आकाश पाताल गफ हाँक्नुको सट्टा आवश्यकता पहिचान गर्न नसकेका आदि कारणले संक्रमण नियन्त्रणबाहिर पुग्यो ।

दसैंअघिको संक्रमण दर हेर्ने हो भने चार लाख नागरिक यो रोगबाट पीडित हुने देखिन्छ । दसैं लगायतका चाडपर्वमा हिँडडुल, भेटघाट र रमाइलो गर्ने हाम्रो चलन र संस्कृतिका कारण संक्रमण अझ कति विस्तारित भयो भन्ने अहिले नै अनुमान गर्न सकिन्न । तर यो संक्रमणले भयावह रूप धारण गर्ला कि भन्ने गहिरो चिन्ता मेरो मनमा छ ।

संघीयताको मर्म र व्यवस्था अनुरूप केन्द्रको सरकारले प्रादेशिक सरकारलाई परिचालन तथा नागरिकको घरदैलोमा पुगेको स्थानीय सरकारलाई संक्रमण नियन्त्रणका कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी दिनुपर्ने थियो । नीति निर्धारण, स्रोत साधन परिचालन, अन्तर्राष्ट्रिय/राष्ट्रिय आपूर्ति व्यवस्थापन, ठूला अस्पताल र सुरक्षा निकाय परिचालनको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने थियो । यसो गरेको भए (अझै पनि) संक्रमण नियन्त्रणमा निकै सफलता प्राप्त हुने थियो । तर सत्तावादी सरकारी नेतृत्वका लागि यो बाटो अपाच्य छ, नेपालमा पनि ।

अहिले अर्थतन्त्र संकुचित भइसक्यो, विप्रेषणको आप्रवाह घट्न थाल्यो भने आमनागरिकको जीवन अत्यन्त नराम्रोसँग प्रभावित हुनेछ । यस्तो बेला पनि प्रधानमन्त्री ओली निरन्तर खण्डन र प्रत्याख्यानको राजनीतिमा मस्त हुनुहुन्छ । ट्रम्पवादी निर्वाचित सत्तावादी राजनीति बुझ्न कुनै पनि नेपालीले अमेरिका बुझ्नु पर्दैन, आफ्नो प्रधानमन्त्रीको दम्भ र अभिमान अवलोकन गरे पुग्छ ।

यो संक्रमणको सुरूमा प्रतिपक्ष दलको राजनीतिक स्थान अस्वीकार गर्ने, आवश्यक परे पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने कोसिस सरकारले गर्‍यो। यो कार्यमा असफलता हात लागेपछि कोभिड-१९ संक्रमणको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा हुन लागेको भ्रष्टाचार सार्वजनिक भयो । सरकार ढाकछोपको खेलमा लाग्यो । अहिले नागरिकलाई रोगबाट बचाउन देशको अर्थतन्त्र जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बेला पनि सत्ताधारी कम्युनिस्ट पार्टी निर्लज्जतापूर्वक सत्ता संघर्षमा चुर्लुम्म डुबेको छ ।

कोभिड संक्रमणको बेला नेपालको कम्युनिस्ट सरकार र प्रधानमन्त्री ओली मात्र होइन, विश्वभरि निर्वाचित सत्ताधारी शासकहरू यही बाटोमा लागेको उदाहरण हंगेरीका ओर्बान, पोल्याण्डका मोराभिट्स्की, एल साल्भाडोरका बुकेले, ब्राजिलका बोल्सोनारो, युगाण्डाका मुसोभिनी, इण्डोनेसियाका बिडोडो, फिलिपिन्सका दुतेर्तेले प्रस्तुत गरेका छन् । सबै निर्वाचित हुन्, तीमध्ये कतिपयले आफू निर्वाचित भएको अवधि लम्ब्याउने काम गरेका छन्, कतिपयले संसदको अधिकार खोसेका छन् ।

सत्ता प्राप्त गर्न वा यसलाई कायम राख्न सबैले नागरिक जीवनमा व्याप्त निराशाको दुरुपयोग गर्दै असहिष्णु र चरमपन्थी राजनीतिको पृष्ठपोषण गर्दै छन् । समग्रमा यी सबै शासक विधिको शासन र शक्ति पृथकीकरणमाथि अतिक्रमण गर्ने, अभिव्यक्ति र धार्मिक स्वतन्त्रता कुण्ठित गर्ने, सम्पत्तिको अधिकार खोस्न उद्यत छन् । शासनभन्दा बाहिर रहेका तर असहिष्णु र अतिवादी नेताले विकासशील मुलुकमात्र होइन, फ्रान्स, इटली, स्पेन लगायतका स्थापित लोकतान्त्रिक मुलुकमा पनि उदार लोकतान्त्रिक व्यवस्थामाथि उल्लेख्य चुनौती खडा गरेका छन् ।

यस्तै, इन्टिच्युट फर ग्लोबल चेञ्जले २०७५ मा प्रकाशित गरेको ‘द पपुलिस्ट हार्म टू डेमोक्रेसी’को मूल निष्कर्ष ‘दक्षिणपन्थी वा वामपन्थी जे भएपनि लोकरिझ्याइँको शासनले राजनीतिक व्यवस्थामा अत्यन्त नकारात्मक प्रभाव पार्छ र लोकतन्त्र स्खलनको उल्लेखनीय जोखिमतर्फ धकेल्छ’ भन्ने छ ।

यो अध्ययन प्रतिवेदन अनुसार लोक रिझ्याइँको बलमा स्थापित शासक लामो समयसम्म सत्तामा रहने र नाटकीय घटनाक्रमको बाध्यताबाट मात्र सत्ताबाट विस्थापित हुने र सत्तामा रहँदा तिनले लोकतन्त्रमाथि निकै गम्भीर क्षति पुर्‍याउने, नियन्त्रण र सन्तुलनको राजनीतिलाई क्षति पुर्‍याउने र व्यक्तिका अधिकारमाथि आक्रमण गर्ने गर्दछन् ।

केही दिनअघि मात्रै अमेरिकाको काउन्सिल अन फरेन रिलेसन्सको प्रकाशन ‘फरेन अफेयर्स’ पत्रिकामा प्रकाशित ‘ट्रम्प ओण्ट बि द लास्ट अमेरिकन पपुलिस्ट’ शीर्षकको लेखमा एसिमग्लुले ट्रम्पको पराजयसँगै विश्वमा लोकतन्त्रको भविष्यबारे आश्वस्त हुनेभन्दा ट्रम्पवादी प्रवृत्तिलाई जन्म दिने कारक परिस्थितिलाई राम्रोसँग बुझ्न आवश्यक छ भनेका छन् । नागरिक निराशाको जगमा विभिन्न पहिचान समुदायका बीच धृणा, द्वेष फैलाएर शक्ति दुरूपयोग गर्ने, मौका मिले राष्ट्रवादको अतिरञ्जित व्याख्या र काल्पनिक दुस्मन खडा गर्ने राजनीतिक दाउपेच निर्वाचित सत्तावादीहरूको प्रिय हतियार हो ।

यस्तै, झकारियाले २३ वर्षअघि फरेन अफेयर्समै ‘द राइज अफ इलिबरल डेमोक्रेसी’ शीर्षकको लेखमा निर्वाचन जिते बाँकी लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्दै सञ्चालन गरिने संवैधानिक उदारवाद बेगरको राजनीति अपूर्ण मात्र होइन, यसले स्वतन्त्रताको स्खलन, शक्तिको दुरुपयोग, जातीय द्वन्द्व र विद्वेष फैलाउने गरी घातक सबित हुनसक्ने चेतावनी दिएका छन् ।

फुकुयामाको सन् १९९२ मा प्रकाशित ‘द इण्ड अफ हिस्ट्री एण्ड द लास्टम्यान’ पुस्तकमा ग्रीक भाषाको पदावली मेगालोथिमिया ( megalothymia) को परिभाषा गरेका छन् । मेगालोथिमिया भन्नाले सम्मान र यथोचित मान्यताको चाहना मात्र होइन, आडम्बरी र भडि्कलो तवरमा तारतम्यहीन रूपले अरूमाथि प्रभुत्व जमाउने चाहना हो भनेर परिभाषित गरेका छन् ।

यस्ता व्यक्तिको उदाहरण स्वरूप उनले त्यसबेलाका घरजग्गा निर्माण व्यवसायी अत्यन्त महत्वाकांक्षी डोनाल्ड ट्रम्पलाई प्रस्तुत गर्छन्, यो पुस्तकमा । तीनै ट्रम्पले संकीर्ण स्वार्थसिद्धि र सतही प्रसिद्धिको भोकमा चार वर्ष अमेरिकी राष्ट्रपतिका रूपमा शासन गरे । यो निर्वाचनले उनलाई सत्ताबाट विस्थापित गरेको छ । तर ट्रम्प प्रवृत्तिलाई जन्म दिने राजनीतिक र आर्थिक कारण विश्व मानचित्र अहिले पनि यत्रतत्र विद्यमान छन् । दृढ राजनीतिक इच्छाशक्ति, बुद्धिमत्ता र लोकतान्त्रिक मूल्य मान्यता बेगर यो प्रवृत्तिलाई परास्त गर्न सकिन्न । कुनै न कुनै रूपमा, कतै न कतै यसको पुनरागमन भइराख्ने जोखिम कायम रहन्छ ।

झकारियाले अमेरिकी राष्ट्रपति निर्वाचनबारे टिप्पणी गर्दै सीएनएनमा आफ्नो आतिथ्यको कार्यक्रम जीपीएसमा ‘आज पनि लोकतन्त्र नाजुक अवस्थामा छ, यसको सुरक्षा गर्न आवश्यक छ । बेलायत र भेनेजुएला मात्र होइन, संवैधानिक सरकारको जननी संयुक्त राज्य अमेरिकामा पनि लोकतन्त्र क्षीण, दुर्बल, अपक्षरण वा नष्ट हुनसक्छ’ भन्छन् ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति वाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई दुनियाँका सर्वशक्तिशाली मुलुक अमेरिका, अनि सम्पूर्ण विश्वलाई यो जोखिमबाट जोगाएर विश्व सभ्यतालाई फेरि समृद्धिको यात्रामा नेतृत्व प्रदान गर्न सफलता मिलोस्, मेरो यही शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डा. मिनेन्द्र रिजाल

पूर्वसञ्चारमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद हुन् ।

ट्रेन्डिङ

Advertisment