Comments Add Comment

पहिलो त्रैमासमा राजस्व संकलन लक्ष्यनजिक

२५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राजस्व संकलन तथा अन्य प्राप्ति लक्ष्यनजिक पुगेको छ । आयकर लक्ष्यभन्दा बढी संकलन हुँदा अन्य माध्यमबाट हुने राजस्व संकलन कम भए पनि सरकारको लक्ष्यमा धेरै असर परेन ।

अर्थ मन्त्रालयका अनुसार २०७७ साउनदेखि असोजसम्म सरकारले राजस्व र अन्य प्राप्तिबाट १ खर्ब ९७ अर्ब ३३ करोड संकलन गर्ने लक्ष्य राखेकामा १ खर्ब ९४ अर्ब ९२ करोड संकलन भएको छ । यो लक्ष्यको तुलनामा ९८.७८ प्रतिशत हो । गत आर्थिक वर्षमा तुलना गर्दा राजस्व र अन्य प्राप्ति ३.०९ प्रतिशत वृद्धि देखिएको छ ।

यस अवधिमा आयकर लक्ष्यभन्दा बढी संकलन भए पनि भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फको राजस्व भने कम भएको छ ।

साउनदेखि असोजसम्ममा शिक्षा सेवा करतर्फको प्राप्तिमा सबभन्दा धेरै वृद्धि देखिएको छ । मन्त्रालयका अनुसार असोजसम्मको शिक्षा सेवा कर गत आर्थिक वर्षको तुलनामा ७५.४२ प्रतिशतले वृद्धि भएको छ ।

२ महिनामा २ खर्ब सरकारी खर्च, पुँजीगतमा जम्मा १५ अर्ब

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारी खर्च अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार यसअवधिमा कुल सरकारी खर्च २ खर्ब १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ भएको छ । यो अघिल्लो आवको तुलनामा १२.९६ प्रतिशत बढी हो ।

तीन महिनामा पूँजीगत खर्च भने १५ अर्ब ६१ करोड रुपैयाँ मात्र भएको छ । यद्यपि, यो गत आर्थिक वर्षको तुलनामा १८.०९ प्रतिशतले बढी हो । यो अवधिमा चालु खर्च १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ भएको छ । जन गत आर्थिक वर्षको तुलनामा १६.५० प्रतिशत बढी हो ।

वित्तीय व्यवस्थामा भने यस अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आवको तुलनामा १८.४१ प्रतिशत बढी हो । सरकारले चालु आर्थिक लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

तीन महिनाको अर्थतन्त्र र सहायता प्रतिवद्धता

पहिलो त्रैमासिक सकिएको र कोरोना भाइरसको महामारी कायमै रहेको अवस्थामा पनि अर्थ मन्त्रालयले आर्थिक वृद्धिदरको वार्षिक लक्ष्यमा परिवर्तन गरेको छैन । सरकारले चालु आवको बजेटबाट ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

भदौ मसान्तसम्म मुद्रास्फिति ४.५२ प्रतिशत र सोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड बचतमा देखिएको छ । असोज मसान्तसम्मको सरकारी खर्च भने २ खर्ब रुपैयाँ नाघेको छ । भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चिती १४ खर्ब ३३ अर्ब ६७ करोड छ ।

सोही अवधिसम्म विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ भएको छ । भदौ मसान्तसम्म आयात १७८ अर्ब ८५ करोड र निर्यात २० अर्ब ४४ करोड रुपैयाँ बराबरको छ ।

सरकारले चालु आवको पहिलो तीन महिनामा ८४ अर्ब ७ करोड १३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धता पाएको छ । यसमध्ये ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ अनुदान हो भने ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण हो ।

चालु आर्थिक वर्षमा सरकारले कुल २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये पहिलो चौमासमा ५७ अर्ब उठाउन अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । यसमध्ये असोज मसान्तसम्म ३७ अर्ब रुपैयाँ उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment