
२६ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलमा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको परीक्षण रोकिनु आफ्नो जित भएको बताएका छन् ।
चिनियाँ कम्पनीले निर्माण गरिरहेको कोरोना खोपको परीक्षण खोप दिइएका व्यक्तिमा देखिएको उल्टो असरको कारण गत अक्टोबर २९ मा रोकिएको थियो । यो खोप दिइएका एक स्वयंसेवकको मृत्यु भएसँगै खोपको परीक्षण रोकिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । तर, यो खोपको परीक्षण गरिरहेको संस्थाका प्रमुखले भने यो परीक्षणसँग स्वयंंसेवकको मृत्युको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भने चीनसँग सम्बन्ध रहेको कारण चिनियाँ कम्पनीको खोपको आलोचना गर्दै आएका थिए । उनले यसअघि यो परीक्षण सफल भए पनि आफ्नो मुलुकले चिनियाँ खोप खरिद नगर्ने बताएका थिए । सिनोभ्याक बायोटेकले भने निर्माणको क्रममा रहेको आफ्नो खोप सुरक्षित रहेकोमा विश्वस्त रहेको बताएको छ।
अहिले यो खोपको प्रयोग आपतकालीन प्रयोगको रुपमा चीनमा हजारौं मानिसहरुमा गरिसकिएको छ । यो खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको केही खोपमध्येको एक हो । ब्राजिलबाहेक अन्य केही मुलुकमा पनि यो खोपको परीक्षण चलिरहेको छ । यद्यपि अन्य मुलुकले भने यो खोपको परीक्षण रोकेका छैनन् ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4