+
+
Shares

५ दिनमा ३५०० जनाको कोरोना बिमा भुक्तानी

शंकास्पद रिपोर्ट हेर्न समिति बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते १८:३०

२६ कात्तिक, काठमाडौं । केहि महिना यता रोकिएको कोरोना बिमा दावी भुक्तानी बिमा कम्पनीहरुले दिन सुरु गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनपछि ७ दिनभित्रै दावी भुक्तानी दिने व्यवस्था गर्न ५ दिनअघि बिमा कम्पनीहरुलाई बिमा समितिले भनेको थियो ।

यो निर्देशनपछि कम्पनीहरुले दावी भुक्तानीको कामलाई पहिलो भन्दा तीव्रता दिएका छन् । २ महिना यता निजी ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पेश गरेका बिमितलाई कम्पनीले भुक्तानी दिएका थिएनन् । सरकारी ल्याबमा परीक्षण गराएकाहरुलाई पनि निकै ढिला गरेरमात्रै दाबी भुक्तानी दिइरहेका थिए ।

पछिल्लो समय बिमा कम्पनीहरुले दावी भुक्तानी जतिसक्दो चाँडो गर्न थालेको बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईं बताउँछन् । उनका अनुसार पछिल्लो ५ दिनमा ३ हजार ५ बढीले कोभिड बिमा दावी भुक्तानी पाइसकेका छन् ।

अझै १३ हजार दावी भुक्तानी हुन बाँकी नै छ । उनीहरुलाई पनि क्रमशः भुक्तानी हुने उनले बताए । ‘हामीले ७ दिनमै प्रक्रिया पुरा गरेर भुक्तानी दिन निर्देशन दिएका हौं, अब पहिलेको जस्तो हुँदैन’ अध्यक्ष भापागाईं भन्छन्, ‘सकेसम्म ७ दिन पनि नलगाउनु भनेका छौं, अब दावीको विषयमा अध्ययन गर्नु पर्ने आएको अवस्थामा भने केही ढिला हुन सक्छ ।’

दावी आएकाहरुमध्ये कुनै शंकास्पद रिपोर्ट लागेको खण्डमा एउटा समितिले छानविन गरेर निर्णय लिने उनले बताए । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा समिति गठन गर्ने तयारी गरेको छ । मन्त्रालयको सचिव स्तरीय निर्णयबाट समिति गठनको निर्णय आज-भोलि नै हुने मन्त्रालय निकट श्रोत बताउँछ ।

शंकास्पद रिपोर्ट छानवीनका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा समिति गठनका लागि मंगलबार नै सचिवसमक्ष फाइल पेश गरिसेको छ । मन्त्रालयका अधिकारीको नेतृत्वमा, बिमा समिति तथा बिमक संघ समेतको प्रतिनिधि रहने गरी एउटा समिति बन्नेछ ।

यो समितिले सबै रिपोर्टहरु भने अध्ययन गर्नु पर्दैन । दावी आएका मध्ये कुनै शंकास्पद लागेको अवस्थामा भने समितिमा पठाउने र त्यसका विषयमा समितिले निर्णय लिने बताइएको छ ।

संघका अध्यक्ष भन्छन्- ढिलाई हुँदैन

कोभिड बिमा पोलिसी बिक्री गर्ने अधिकार पाएका निर्जिबन बिमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतको संगठन बिमक संघका अध्यक्ष दीप्प्रकाश पाण्डे दावी भुक्तानी अहिले धमाधम भइरहेको बताउँछन् । अहिले दैनिक औसतमा ४ सयदेखि ५ सयसम्म भुक्तानी हुने गरेको भन्दै पहिलेको जस्तो अब ढिलाई नहुने अध्यक्ष पाण्डेले बताए ।

बुधबारमात्रै ५ सय ८५ जनाले कोरोना बिमा दावीको भुक्तानी पाएको जानकारी दिए । अहिले १ हजार ५ सय भन्दा धेरै निजी ल्याबका रिपोर्टहरु प्रमाणित गर्नका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ ।

महाशाखाले प्रमाणित गर्ने वित्तिकै ती सबैले दावी रकम पाउने उनले बताए । अहिले भुक्तानी हुन १२ हजार हाराहारीको बाँकी छ ।

यिमध्ये धेरै सरकारी अनुदानमा बिमा गराउनेहरु रहेको उनले बताए । तर, सबैको अब जतिसक्दो चाडो भुक्तानी हुने उनको भनाइ छ ।

बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने ३ सय तिरेर ५० हजार र ६ सय तिरेर १ लाखको बिमा गर्न सकिने व्यवस्था गरिएको थियो ।

तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका थिए । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई केहि समय रोकेर राखे । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

सुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?