
२७ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारका लागि आर्थिक संकलन नगरिने भएको छ ।
जनमोर्चाले बिहीबार एक विज्ञप्ति जारी गर्दै केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताइसकेका कारण उपचार खर्च जुटाउनका लागि आर्थिक संकलन नगर्ने जनाएको हो ।
८० वर्षीय केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै यसअघि जनमोर्चाले उपचारका लागि सहयोगदाताहरुसँग सहयोग गर्न अपिल गरेको थियो ।
‘उहाँको उपचारको लागि हामीले पहिले सहयोगको लागि सार्वजनिक अपिल गरेका थियौं । अहिले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समाचार प्राप्त भएको छ । उहाँको स्वास्थ्यलाभको शुभकामना र सहयोग दिएका सबैप्रति आभार प्रकट गर्दै अहिले सरकारले उहाँको उपचारको खर्च व्यहोर्ने भनेको हुनाले थप सहयोग नगर्नुको लागि अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेका थिए ।
प्रतिक्रिया 4