+
+
Shares

महाधिवेशन मितिमा अड्कियो कांग्रेस महामन्त्रीद्वयको छलफल

बस्ला केन्द्रीय समिति बैठक ?

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते २०:३२

२७ कात्तिक, काठमाडौं । पटक–पटक सरेर २८ शुक्रबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि पनि प्रभावित हुने सम्भावना छ । किनभने सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका महामन्त्रीद्वयको छलफल १४औं महाधिवेशनको मितिमा अड्किएको छ ।

२३ कात्तिकमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अघि सारेका समायोजन, क्रियाशील सदस्यता वितरण लगायतका विषयमा पार्टी सभापति शेरबहादुर देउवा लचिलो भएपछि महाधिवेशन कार्यतालिकाबारे प्रस्ताव तयार पर्ने जिम्मा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई दिइएको थियो ।

महामन्त्रीद्वयले लगातार छलफल गरे पनि महाधिवेशन कार्यातालिकामा सहमति जुट्न सकेका छैनन् । पछिल्लो पटक बिहिबार भएको छलफल पनि निश्कर्षमा पुग्न सकेन । महाधिवेशन मिति यसअघि निर्धारित २०७७ फागुन ७–१० लाई नै कायम राख्ने कि नयाँ तोक्ने भन्नेमा विवाद छ ।

स्रोतका अनुसार महामन्त्री कोइरालाले ७ फागुनलाई नचलाई कार्यतालिका बनाउनुपर्ने अडान लिएका छन् । क्रियाशील सदस्यता वितरण गरिसक्ने म्याद तोकेर अगाडि बढ्नुपर्ने पौडेल समूहको तर्क छ ।

पौडेल समूहका एक नेता भन्छन्, ‘फागुनमा महाधिवेशन हुन्न भन्ने हामीलाई पनि थाहा छ । तर अहिले नै फागुनको तरबार झिक्ने हो भने सभापतिलाई महाधिवेशनको दवाव नै रहन्न । त्यसैले अहिले त्यो मिति चलाउन हुन्न ।’

तर, सभापति देउवा निकट महामन्त्री खड्काले जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका छन् । ७ फागुनमा महाधिवेशन गर्न सम्भव नभएकाले सहमतिकै आधारमा नयाँ कार्यतालिका बनाउनु उपयुक्त हुने महामन्त्री खड्काले बताएका छन् ।

एक नेताका अनुसार महामन्त्रीद्वयले शुक्रबार बिहानसम्म सहमतिको प्रयास गर्ने बताएका छन् । सहमति नजुटेको अवस्थामा मध्यान्ह १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक के हुन्छ भन्ने अन्योल छ ।

सुनील थापालाई सहमहामन्त्री दिने तयारी

१७ कात्तिकमा सांसद सुर्यबहादुर केसीको निधन भएपछि प्रतिनिधिसभामा कांग्रेसको एक सदस्य खाली छ । खस खार्य कोटाबाट सांसद बनेका केसीको स्थानमा स्याङ्जा स्थायी घर भएका महासमिति सदस्य मोहनप्रसाद पाण्डे सांसद बन्दैछ ।

समानुपातिकको बन्द सूचीमा स्व. केसीपछि नाम भएका पाण्डेलाई भोलिसम्म आयोगमा सिफारिस गर्नुपर्ने देखिन्छ ।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर पार्टीमा आएका सुनील थापालाई सहमहामन्त्री मनोनित गर्नुपर्ने दबाब पनि सभापति देउवामाथि छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील गत साउनमा कांग्रेस प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?