Comments Add Comment

युद्धविराम सम्झौता उल्लंघन नगर्न अर्मेनियालाई टर्कीको चेतावनी

२८ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानको बीचमा विवादित भूमि नागोर्नो-काराबखको विषयमा जारी युद्ध रोक्न शान्ति सम्झौता उल्लंघन नगर्न अर्मेनियालाई टर्कीले चेतावनी दिएको छ ।

अर्मेनियाले युद्धविरामको सम्झौता उल्लंघन गरेको खण्डमा उसले ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ । बिहीबार टर्कीका विदेशमन्त्री मेभ्लट काभुसोग्लुले अजरबैजानको राजधानी सहर बाकुमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्मेनिर्यालाई यस्तो चेतावनी दिएका हुन् ।

टर्की अजरबैजानको सबैभन्दा नजिकको मित्रराष्ट्र हो । नागोर्नो काराबखको विषयमा जारी युद्धमा उसले अजरबैजानको साथ दिएको थियो । यसै साताको सुरुमा रुस, अर्मेनिया र अजरबैजानबीच यो युद्ध रोक्नका लागि शान्ति सम्झौता भएको थियो । जसमा अजरबैजानलाई फाइदा पुगेको थियो । ‘अर्मेनियाले यो सम्झौता पूर्णरुपमा पालना गर्दै आफ्नो सेना फिर्ता लैजानुपर्छ’, काभुसोग्लुले थपे, ‘अन्यथा अजरबैजानले आफ्नो भूमि फिर्ता ल्याउन पुनः सैन्य कारबाही सुरु गर्नेछ ।’

बुधबार रुस र टर्की नागोर्नो काराबखमा शान्ति स्थापनाको लागि संयुक्त गस्ती गर्न सहमत भएका थिए । रुसले यो क्षेत्रमा शान्ति स्थापनाको लागि करिब दुई हजार सेना पठाउने भएको छ ।

नागोर्नो काराबख अन्तर्राष्ट्रियरुपमा अजरबैजानकै हिस्सा हो । तर, यसमा अर्मेनियाले कब्जा जमाउँदै आएको छ । यसै विषयलाई लिएर गत सेप्टेम्बरदेखि दुई मुलुकको बीचमा युद्ध सुरु भएको थियो । युद्धको क्रममा अजरबैजानले यो क्षेत्रको दोस्रो ठूलो सहरलगायतका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । शान्ति सम्झौतासँगै अजरबैजानले आफूले युद्धको क्रममा नियन्त्रणमा लिएको क्षेत्रमा आफ्नो अधिकार कायम राख्नेछ । अर्मेनियामा भने यो शान्ति सम्झौताको विरोध भइरहेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment