Comments Add Comment

प्रचण्डको ‘सरप्राइज’ दस्तावेजपछि प्रधानमन्त्री ओली सघन परामर्शमा

राष्ट्रपतिसँग पनि छलफल

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४० मिनेट पनि चलेन । भूमिकासहित बैठक शुरु गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मंसिर ३ गते दिउँसो एक बजे अर्को बैठक राख्ने प्रस्ताव राखे र बैठक सकियो ।

प्रचण्डले बैठकमा दस्तावेज प्रस्तुत गरिरहँदा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने लगभग चकित नै बने । बैठक स्रोतका अनुसार, ओलीले आफ्नो कुरासमेत राखेनन् ।

प्रचण्डले पाँचवटा डकुमेन्ट पेश गरेका छन् ।

प्रचण्डले शुक्रबारको बैठकमा पेश गरेका कागजातहरुमा सचिवालय बैठक माग गर्दै प्रचण्डसहित सचिवालयका पाँच नेताले कात्तिक २२ मा बुझाएको दुई पन्ने पत्र, त्यसमाथि ओलीले प्रचण्डलाई सम्वोधन गर्दै दिएको १० पृष्ठ लामो जवाफ र फेरि प्रचण्डको ७ पृष्ठ लामो प्रतिउत्तर पत्रमाथि छलफल हुनुपर्ने प्रचण्डले बैठकमा बताए ।

त्यसैगरी प्रचण्डले एकल रुपमा तयार पारेको १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव र असोज २९ मा जारी अन्तरपार्टी निर्देशिका (अपानि) पनि शुक्रबारको सचिवालय बैठकमा सन्दर्भ सामग्रीका रुपमा प्रस्तुत भएको छ । यी सबै दस्ताबेजहरु अध्ययन गरेर मंसिर ३ मा छलफल शुरु गर्ने गरी शुक्रबारको सचिवालय बैठक सकिएको छ ।

प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो प्रतिवेदनबाट भने ओली अन्योलमा देखिएका छन् । शनिबार दिनभरजसो आफू निकटका नेताहरुसँग छलफल गरेका ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे ।

प्रधानमन्त्री ओलीले कानून व्यवसायी, सांसदहरु, आफू निकट नेताहरु र केही नागरिक अगुवासँग पनि शनिबार भेटवार्ता गरेको बालुवाटार स्रोतले जनाएको छ ।

तर, अझै ओली निष्कर्षमा पुग्न सकेका छैनन् ।

ओली निकट नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बाहेक अरुले प्रष्ट प्रतिक्रियासमेत दिएका छैनन् । पोखरेलले भने शनिबार बिहानै सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएका छन् । दाङमा रहेका पोखरेलले एकता कायमै राख्न प्रचण्डको एकल प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएका छन् ।

मुख्यमन्त्री पोखरेलबाहेक ओलीनिकटका धेरैजसो सिनियर नेताहरु काठमाडौंमै छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाट काठमाडौं आएका छन् भने ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, प्रदीपकुमार ज्ञवालीसहित आफ्ना सचिवालयका नेताहरुसँग ओलीले सघन छलफल गरेका छन् ।

केही नेताहरुले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठकमा बस्न नहुने सुझाव दिएका छन् । तर, बैठक बसेर आफ्नो कुरा राख्नुपर्ने मत पनि ओलीनिकट नेताहरुको छ ।

महासचिव पौडेल बैठकमै आफ्नो कुरा राख्ने बताउँछन् । उनी भन्छन्, ‘पार्टीभित्र देखिएको समस्याबारे बाहिर कुरा राखेर हुँदैन, बैठकमै राख्नुपर्छ ।’

स्रोतका अनुसार, बैठकमै नबस्ने वा प्रचण्डसँग अलग हुने विकल्पमा ओली पुगिसकेका छैनन् । त्यसो गर्दा पूर्वएमाले विभाजित हुने भएकाले ओलीमाथि त्यस्तो कदम नचाल्न दबाव छ । पार्टी विभाजनतर्फ लाग्दा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग समेत छुट्नुपर्ने अवस्था रहेकाले त्यस्तो निर्णयमा अहिले नै नपुग्न उनी निकटका नेताहरुले ओलीलाई सुझाव दिएका छन् ।

उता, माधव नेपालसँग नजिक हुने प्रधानमन्त्रीको प्रयाससमेत असफल हुँदै आएको छ । यसको अर्थ अहिलेलाई ओलीले बैठककै सामना गर्नुपर्ने बाध्यता देखिन्छ ।

ओली निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, अहिले पनि संवादको विकल्प नभएको बताउँछन् । उनी भन्छन्, ‘एकलरुपमा आएको प्रतिवेदन अनुचित हो । यसले पार्टी एकतालाई कमजोर बनाउँछ । तर, समस्या समाधान गर्न बसेको बैठक नै विभाजनको कारण बन्नु हुँदैन ।’

एकता जोगाउँदै महाधिवेशनसम्म पुग्ने गरी भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नगरेको मात्रै नभएर पार्टी एकता यता ओलीबाट भएका सम्पूर्ण कमजोरी समेटेर प्रचण्डले प्रतिवेदन तयार पारेका छन् । ओलीले भने आफू बैठक बस्नुपर्ने पक्षमै रहेको प्रष्टोक्ति दिँदै प्रचण्डको कारण समस्या देखिएको आरोप लगाएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ अहिले शुक्रबारको सचिवालय बैठकबारे बोल्नलाई कुरै नरहेको बताउँछन् । अर्थात्, ओलीसँगै उनी निकट नेताहरुमा समेत अन्योल देखिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव, भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटवार्ता र पर्सा घटनापछि ओली र प्रचण्डबीच दुरी बढ्दै जाँदा नेकपा फेरि संकटमा देखिएको छ । र, त्यो संकटले कस्तो रुप लिन्छ भन्नेचाहिँ मंसिर ३ को बैठकले धेरै दृश्य प्रष्ट पार्ने देखिन्छ ।

शुक्रबार सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्री ओलीले माधव कुमार नेपालसँग बेग्लै छलफल गरेका थिए । प्रचण्डका कारण परिस्थिति जटिल बनेको प्रधानमन्त्रीले नेता नेपाललाई बताएका थिए । त्यहीबेला बालुवाटारमा वामदेव गौतम, रामबहादुर थापा, विष्णु पौडेललगायतका नेतासँग प्रधानमन्त्रीले गम्भीर भए छलफल गर्न खोजे पनि वामदेव गौतम केपी ओलीले आत्मालोचना गर्नुपर्ने बताएर वीचैमा हिँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment