Comments Add Comment

विभिन्न जिल्लामा हिमपात, जनजीवन प्रभावित

पूर्वी रुकुममा परेको हिउँ

२ मंसिर, काठमाडौं । हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।

हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ दुले भन्ने स्थानमा पनि हिमपात भएको त्यहाँ रहेका दाङका पत्रकार कुलदीप न्यौपानेले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झर्यो

मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

मनाङको तापक्रम माइनस ८

हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा कम मात्रामा हिउँ परेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको छ । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार सोमबारबाट मनाङमा हिउँ परिरहेको छ । उनका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव दुई फिटसम्म हिउँ जमेको छ । मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको छ ।

यो पनि पढ्नुहोस खप्तड क्षेत्रमा हिमपात, तापक्रम माइनस ५ डिग्री

उत्तरी गोरखामा पनि हिमपात

मौसम बदलीसँगै उत्तरी गोरखाका ल्हो, सामागाउँ, चुम्चेत, छेकम्पारलगायतका क्षेत्रमा पनि हिमपात भएको छ । सामागाउँका स्थानीयवासी मिङ्मार लामाले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको ।

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात भएको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए । हिमपातका कारण  लार्केपास र रुइला नाका जाने बाटोसमेत अवरुद्ध भएको छ ।

डोल्पामा चिसो बढेपछि भाइटीका प्रभावित

भाइटीकाकै दिन डोल्पा जिल्लाको माथिल्लो र तल्लो भागका विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले जनजीवन कष्टकर बनेको छ ।

माथिल्लो डोल्पास्थित फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए ।

त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा भाइटीकाको दिन बिहानैदेखि वर्षा भएको छ । बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ ।

वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर विष्टले बताए ।

म्याग्दीमा पशु गोठ बेंसी झार्न थालियो

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजिकैका डाँडा हिउँले सेताम्मे भएको, चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेर तिहार मनाएको जानकारी दिए । चिसो बढेपछि म्याग्दीका कृषकले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेंसी झार्न थालेका छन् ।

गाउँलेले बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका पशु चौपाया गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment