Comments Add Comment

अमेरिकाका नेपालीले पनि मनाए भाइटीका 

डिसी महानगर क्षेत्र । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बसोबास गर्ने नेपालीहरुले महान चाड भाइटीका मनाएका छन् ।

अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण व्यापक फैलिँदै गएकाले नेपालीहरुले बिगतका वर्षहरुमा झैँ मनाउन र रमाइलो गर्न भने पाएनन् । तथापि सीमित परिवारका सदस्य भेला भएर भाइटीका ग्रहण गरेका छन् ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको समय उत्तम भनिएकाले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले पनि यही समयमा टीका ग्रहण गरेका छन् । समय मिलाउन सक्ने नेपालीले कामबाट बिदा लिएर र बिदा नमिल्नेलहरुले कामबाट फर्केपछि भाइटीका मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा, कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकाले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका लगाए ।

अमेरिकामा तिहारका सबै सामाग्रीहरु पाइने हुनाले दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरु दिदीबहिनीहरुले आफैँ बनाएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, काजु, किसमिस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार  दक्षिणा वा उपहार दिई सम्मान प्रकट गरेका छन् ।

नेपालबाट सानैमा अमेरिका आएका तथा अमेरिकामै जन्मिएकाहरुलाई अभिभावकहरुले नेपाली चाडपर्वको महत्वबारे जानकारी दिएर ठूलो भूमिका निर्वाह गरेका छन् ।अमेरिकामा खोलिएका नेपाली पाठशालाका विधार्थीहरु र आफ्ना सन्तानलाई देउसीभैलो खेल्न प्रोत्साहनसमेत गरेका छन् । दोश्रो पुस्ताले देउसी र भैलो मज्जाले खेलेका छन् । यस पटक अत्यधिक रुपमा भर्चुअल विधिमार्फत गीत, नृत्य, कविता, आदि समेत तिहारमा प्रस्तुत गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपालमा जस्तै काग तिहारदेखि भाइटीकासम्म आफ्नो निवासलाई झिलीमिली बनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य, शहर, गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले यमपञ्चकको दोस्रो दिन लक्ष्मी पूजा पनि श्रद्धाभक्तिका साथ मनाए । तर यसपटक कोरोना भाइरस महामारीको कारण विगत वर्षभन्दा खल्लो हुन पुग्यो । आफन्त र आफ्नै परिवार बीच समेत आउ-जाउ नहुनाले नेपालीहरुको दोश्रो महान चाड तिहार उल्लासमय हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment