Comments Add Comment

विमानस्थल सुरक्षामा अब छुट्टै प्रहरी युनिट बनाउने तयारी

२ मंसिर, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि छुट्टै प्रहरी युनिट बनाउने तयारी थालेको छ । यसका लागि छलफल अगाडि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

मंगलबार त्रिभुवन विमानस्थलमा निर्मित सुरक्षाकर्मीको स्थायी आवासगृह भवन उद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउन गृह, अर्थ, रक्षा र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको बताए ।

मुलुकमा ५५ वटा विमानस्थल रहेको र केही समयभित्रै पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाइएको मन्त्री भट्टराईको भनाइ छ ।

उनले हालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ विमानस्थलमा अत्याधिक चाप हुने र सबै यात्रु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको भन्दै लागू औषध ओसारपसार, अन्तर्राष्ट्रिय आपराधिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेको उल्लेख गरे । यसको नियन्त्रणका लागि विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने मन्त्री भट्टराईले बताए ।

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ, विमानस्थलमा राम्रो मात्रै नियत बोकेर मानिसहरु आएका हुँदैनन्, अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागू औषध ओसारपसारका कुरा उठिरहेको छ,’ उनले भने, विमानस्थल सुरक्षाको विषय चुनौती पनि हो, यसकारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पोखरलले लकडाउनको समयमा पनि विमानस्थलमा दुईवटा वाईडबढी जहाज अट्ने पार्किङ, टयाक्सी वे, रनवे विस्तारलगायत काम गरेको जानकारी गराए ।

उनका अनुसार विमानस्थल विस्तारको गुरुयोजना पुनरावलोकनको कामसमेत अहिले भइरहेको छ । आज उद्घाटन भएको तीन सय ५० जनाको क्षमताको तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment