Comments Add Comment

जबज विचार हो कि राजनीतिक कार्यक्रम ?

विसं. २००६ सालदेखिको नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न घुमाउरो बाटो हुँदै आजको यथार्थमा आइपुगेको छ । मूलभूतरुपमा २० को दशकदेखि कम्युनिष्ट आन्दोलनमा दुई धार स्पष्टरुपमा देखा पर्यो । एउटा धार तत्कालीन समयमा मोहनबिक्रम सिंहलगायतले नेतृत्व गरे भने अर्को धारको नेतृत्व मनमोहन अधिकारीहरुले ।

एउटा धारको यात्रा चौथो महाधिवेशन हुँदै मशाल, मसाल, एकता केन्द्र हुँदै नेकपा माओवादीमा परिणत भयो भने अर्को कोअर्डिनेश हुँदै माले- एमाले । दुई फरक पार्टी नाममा मात्र नभई विचार, कार्यक्रममासमेत फरक थिए ।

तत्कालीन नेकपा माओवादीको धार जनयुद्ध, नौलो जनवाद, २१ औं शताब्दीको जनवादको विकास हुँदै जनताको जनवादमा अवतरित भएको छ भने तत्कालीन नेकपा एमाले जनताको बहुदलीय जनवाद हुँदै जनताको जनवादमा आइपुगेको छ ।

फरक-फरक विचार, कार्यक्रम, मनोविज्ञान हुँदाहुँदै पनि संविधानसभाबाट संविधान जारी भई समाजवादको यात्रा अबको लक्ष भैसकेपछि र २१ औं शताब्दीको जनवाद र जबजको कोर्स पूरा भएकाले छुट्टिई भिन्दै हुनुभन्दा सँगै जानुमा फाइदा हुने भएकाले दुई पार्टी एक भए ।

जनताको बहुदलीय जनवाद

मदन भण्डारीद्वारा प्रतिपादित कार्यक्रम जबज नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई शान्तिपूर्ण ढंगले बहुदलीय प्रतिस्पर्धामार्फत चुनाव जितेर देश बिकास गर्ने भन्ने योजनाबाट निर्देशित बुर्जुवा अवधारणा हो भन्नेमा मोजाहिल्ला गर्नुपर्दैन । किनभने, यसका मुलभुत मान्यताहरुले नै त्यो निर्दिस्ट गर्दछ ।

तत्कालीन समयमा विश्व कम्युनिष्ट आन्दोलन रक्क्षात्मक अवस्थामा पुगेको र त्यसैको पृष्ठभूमिमा राजतन्त्रात्मक संसदीय व्यवस्थाभित्र कम्युनिष्टहरुलाई स्पेस बनाएर शासन सत्तामा पुग्न जबज अचूक अस्त्रका रुपमा आएको थियो । जननेता मदन भण्डारीले त्योबेला कांग्रेस पनि हुन नसक्ने र क्रान्तिकारी कम्युनिष्ट बन्न पनि नसक्ने तर कम्युनिष्टहरुलाई माया गर्नेहरुको लागि सन्जिवनी बुटीका रुपमा जबजलाई ठड्याउने काम गर्नुभयो । उहाँ त्यो वर्गका लागि धन्यवादको पात्र हुनुहुन्छ ।

धेरै मानिसहरु यो चर्चा गर्छन् कि आजको उपलब्धि वा कम्युनिष्ट आन्दोलन यहाँ पुग्नुमा जबजकै देन छ र अबको यात्रा पनि वा भनौं समाजवादको यात्रा पनि जबजमार्फत नै हासिल गर्न सकिन्छ । तर, यो एउटा दिवालिया बाहेक केही होइन । के आजको अवस्था जबजले ल्याएको हो त ? या भनौं अबको यात्रा जबज नै हो त ?

जबज विचार नभएर कार्यक्रम हो, जुन राजतन्त्रात्मक व्यवस्थाभित्र बहुदलीय प्रतिस्पर्धा गरी शान्तिपूर्ण ढंगले शासन सत्तामा पुग्ने हो । तर, अहिले हामी फरक शासन व्यवस्थाभित्र छौं । अहिले हामी राजतन्त्रात्मक व्यवस्थालाई समाप्त पारेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं, जुन जबजले नभई नेकपा माओवादीको जनयुद्ध, दोश्रो जन आन्दोलन, मधेस आन्दोलन लगायतले ल्याएको हो ।

अझ भनौं- जबजले संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशीता, समानुपातिक व्यवस्थाको कल्पनासमेत गरेको थिएन । र, अबको बाटो प्राप्त उपलब्धिहरुको रक्षा गर्दै समाजवादको यात्रामा अघि बढ्ने हो । जबजले कल्पना गरेको राजतन्त्रात्मक व्यवस्थाभित्रको बहुदलीय प्रतिस्पर्धामा होइन ।

केही मानिसहरु अझ पनि सुगा रटाइको पारामा जबज जबज भनिरहेको देख्दा प्रश्न गर्न मन लाग्छ के जबज कुनै धर्मग्रन्थ हो ?

मदन भण्डारीले नेपाली समाजको चरित्र र अन्तरविरोधमा के लेख्नुहुन्छ भने नेपाली समाजको चरित्र अर्ध सामन्ती र औपनिवेशिक हो ( जबज २.२) । तर, के आजको नेपाली समाज मदनले उद्धृत गरेजस्तो अर्ध सामन्ती, अर्ध उपनिवेशिक हो त ? बिल्कुल होइन । आजको नेपाली समाजको चरित्र फेरिएको छ ।

हामी मदन भण्डारीले व्याख्या गरेजस्तो अर्ध सामन्ती, अर्ध उपनिवेसिक अवस्थामा नभई दलाल नोकरशाही, आसेपासे पुँजीवादी व्यवस्थाभित्र प्रवेश गरिसकेका छौं । एकात्मक राज्यव्यवस्थाभित्रको सामन्तवादको नाइके राजतन्त्रलाई फालिसकेर संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा प्रवेशसँगै सामन्तवादको अन्त्य भैसकेको छ भने हामी धेरै कुरामा अरुमा आश्रित भए पनि अर्धउपनिवेश भएको छैनौं । बरु सुदृढ राष्ट्रिय अर्थतन्त्रको बिकास गर्दै आत्मनिर्भर बन्न सक्छौं, जहाँ उपनिवेशको प्रश्न नै कमजोर हुन्छ ।

अब मदन भण्डारीकै प्रयुक्त शब्दबाट के सजिलै बुझ्न् सक्छौं भने यो कार्यक्रम एउटा निश्चित संक्रमणकालका लागि थियो र त्यो काल समाप्त भएसँगै यो कार्यक्रमको औचित्य पनि समाप्त हुन्छ । तर, केही मानिसहरु अझ पनि सुगा रटाइको पारामा जबज जबज भनिरहेको देख्दा प्रश्न गर्न मन लाग्छ के जबज कुनै धर्मग्रन्थ हो ? के यो सधैं एउटै हुन्छ ? जसको कमा र फुलस्ट्प पनि परिवर्तन हुदैन ?

नत्र भने सत्ताको तर चाट्नकै लागि जबजको सुगारटाइले जननेता मदन भण्डारीकै अपमान भैरहेछ । जबज घोत्लिएर अध्ययन गर्ने हो भने मदन भण्डारी उर्जावान, गतिशील नेता थिए भन्ने बुझाइमा पुग्न सकिन्छ, जसले समाज र समयको गति बुझ्दथे । तर, उहाँको गतिशील चेतको अनुसरण नगरी उहाँको कार्यक्रमलाई पूजा गर्ने सामन्तवादी सोच अहिले हावी भएको देख्दा यदि उनी हुन्थे भने स्वंम उनलाई लज्जावोध हुन्थ्यो होला । उनी जबजको फुर्को अहिलेको परिवर्तित युगमा काम छैन भनी कुनै नयाँ युगका लागि नयाँ दस्तावेज तयार गर्दै हुन्थे होला ।

भनिरहनु परेन, आजको उपलब्धि मुलतः जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनको उपलब्धि हो । तर, जबजका व्याख्याता यसलाई मान्ने पक्षमा छैनन् । यी आन्दोलनहरुलाई अनेकन षडयन्त्रको सिद्धान्तका आखाँले दृष्टिगोचर गर्छन् । जबकि, क्रान्तिको बाटोबारे जबजको बुदा नं ६.१ मा भण्डारी लेख्छन्, रुसी वा चिनियाँ क्रान्तिको बाटो पनि यसरी नै तय भएको थियो । यही नै मार्क्सवादी लेनिनवादी दृष्टिकोण र तरिका पनि हो । क्रान्ति सम्पन्न गर्नका लागि बाटोको हिसाबले वर्ग समन्वय होइन, वर्ग सम्झौता पनि होइन, वर्गसंघर्ष नै मुल र आधाभूत कुरा हो । तर, संविधान निर्माणको ( वर्ग संघर्षको मुख्य मोर्चामा ) समयमा जबजवादीहरु कुन कित्तामा उभिए भन्ने जगजाहेर नै छैन र ?

धेरै मानिसहरूले जबज नेपाली माटोको मौलिक रचना हो र यसको बिरोध किन भन्छ्न् । पुनश्च भनौं, मदन भण्डारीले व्यक्त गरेको जबजको सार कुनै मौलिक रचना नभई फ्रान्स, बेलायत लगायत पुँजीवादी मुलुकमा आजभन्दा धेरै पहिलेदेखि लागू भैसकेको व्यवस्था हो । जबजको मूलभूत कुरा यी हुन् –

१) संविधानको सर्वोच्चता
२) बहुलवादी खुल्ला समाज
३) शक्ति पृथक्कीकरण सिद्धान्त
४) मानवअधिकारको रक्षा
५) बहुदलीय प्रतिस्पर्धाको प्रणाली
६) आवधिक निर्वाचन
७) बहुमतको सरकार अल्पमतको प्रतिपक्ष
८) कानूनको शासन । आदि ।

शक्ति पृथक्कीकरणको सिद्धान्त १८ औं शताब्दीमा नै फ्रान्सका दार्शनिक मोन्टेस्क्युले प्रतिपादन गरिसकेका थिए । तर, जबजवादीहरु यो मान्यताको मूलभूत प्रस्तावनालाई कुल्चेर संसद, सरकारदेखि न्यायपालिकासम्म आफ्नो मान्छे हालेर समग्र राज्य संयन्त्र कब्जा गर्न लागेको यथार्थ हामीबीच घामजत्तिकै छर्लङ्ग छ । त्यस्तै कानूनको शासनको अवधारणा १९ औं शताब्दीमा नै बेलायतका चर्चित विधिशास्त्री एभी डाइसीले बहसमा ल्याइसकेका थिए । बहुमतको सत्ता, अल्पमतको विपक्षको मान्यता त स्यवं जबजवादीहरुले अल्पमतमा परिने डरले बैठक नै बस्न इन्कार गरेबाट उनीहरु यो विषयमा कत्तिको जिम्मेवार छन् भन्ने देखाइसके । जबजका अन्य विषयहरु कुनै नौलो नभई पुँजीवादीहरुको न्यूनतम मापडण्ड नै हुन् ।

नेपालकै हकमा पनि बीपी कोइरालाहरुले अनुसरण गरीआएकै मान्यताहरु हुन् । तर, नेपालमा फरक यत्ति भयो कि यो नेपालको एउटा जिम्मेवार कम्युनिष्ट पार्टीले संस्थागतरूपमा स्वीकार गर्यो र कम्युनिष्ट पार्टीको बुर्जुवाकरण सुरु भयो, जसले गर्दा पुँजीवादी ध्रुवमा हर्षबढाइँ चल्यो र भनियो ” नेपालमा मार्क्स अझै जीवित छन् । “

केही मानिसहरु विदेशी पत्रिकामा मदन भण्डारीको फोटोसहितको यो आवरण आउँदा मख्ख त परे, तर कम्युनिष्ट कार्यकर्ताको पुँजीवादीकरण यही कार्यक्रम (जबज) मार्फत हुन पुगेको कुरा उनीहरू अनदेखा गर्छन् ।

अतः माथि उल्लेखित बुँदाहरुको आलोकमा आजको व्यवस्था जबजको प्रतिफल नभएकाले जबजको औचित्यमा प्रश्न उठाउन जरुरी छ र अबको यात्रा जबजको लाइनमा नभएर जनताको जनवाद हुँदै समाजवादसम्म पुग्ने हो ।

यो मामलामा युवाहरूले युवा भएर सोचौं र हाम्रो युगलाई नेतृत्व गर्ने विचार के हो भनेर घोत्लिऔं । सामाजिक न्यायसहितको समृद्ध नेपाल हाम्रो पालामै सम्भव बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment