Comments Add Comment

प्रदेश २ मा छठ पर्व घरघरमै मनाउन आग्रह

२ मंसिर, जनकपुरधाम । बुधबारदेखि छठ पर्व विधिवत रुपमा शुरु हुँदैछ । छठका लागि किनमेल सुरू भएपनि विगतमा जस्तो यसपटक प्रदेश २ का जलासयहरूमा चहलपहल देखिएको छैन । कारण हो–नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी ।

प्रदेश २ का अधिकांश जिल्ला प्रशासन कार्यालयले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन् । कतिपय जिल्लामा जलासयमै मनाइए एउटा परिवारबाट ब्रतालुसहित दुई जनासम्म मात्रै जान आग्रह गरिएको छ ।

प्रशासन कार्यालयले घरमै पर्व मनाउन आग्रह गरेपनि सार्वजनिक र निजी जलाशयहरूमा घाट निर्माणको काम सुरू भएको देखिन्छ ।

जनकपुरधामको गंगासागरसहितका पोखरीमा घाट बनाउने काम सुरू भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित चाँदी नदीको किनार, गौरस्थित बरहबा तालसहितका जलासयमा घाट बनाउन सुरू गरिएको छ भने वीरगञ्जको घडीअर्बालगायतका पोखरीमा पनि घाट तयार पार्ने काम प्रारम्भ गरिएको छ ।

सप्तरी, महोत्तरी, सर्लाही, बारा र सिराहा जिल्लाका जलासयमा पनि घाट निर्माण गर्न शुरु गरिएको छ । घाट निर्माण गरिएपनि यस पटकको छठ पर्व भने खल्लो रहने स्थानीयवासी बताउँछन् ।

प्रजिअहरूले सकेसम्म घरमै बनाउन र जलासयमै जाने भए भीडभाड नगर्न आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई छठ पर्व घरमै मनाउन आग्रह गरिएको बताउँछन् ।

‘जनताले हाम्रो आग्रह मानिदिए धेरै राम्रो हुन्थ्यो’ उनले भने, ‘कोरोनाले गर्दा यसवर्ष सावधानीपूर्वक छठ पर्व मनाउन आग्रह गरेका हौं ।’

जलासयमा जानेहरूलाई पानीमा नडुबिकन छठ मनाउन समेत भट्टराईले आग्रह गरे ।

बाराका प्रजिअ दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भिडभाड नगरीदिन आग्रह गरिएको बताउँछन् । उनी भन्छन्, ‘संस्कृति मनाउन हामी रोक्दैनौं, तर कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्नु आग्रह गर्छु ।’

महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाल छठ मनाउँदा अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने बताउँछन् । ‘यस्तो महामारीका बेला श्रद्धालुहरूले आफ्नो स्वास्थ्य सुरक्षाबारे ख्याल गर्नुहुन्छ भन्ने विश्वास छ’ कटुवाल भन्छन् ।

पर्सामा पण्डाल लगाउन रोक

पर्सा जिल्लामा भने यसपटक पण्डाल लगाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्याले जलाशयमा बढीमा ब्रतालु र एक जना सहयोगी मात्र जान आग्रह गरेको छ । पर्साका प्रजिअ अस्मान तामाङ भन्छन्, ‘ब्रतालुबाहेक दर्शकलाई घाटसम्म नगइदिन आग्रह गरेका छौं ।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल छठ पर्वको घाटसम्म ब्रतालु र उनको साथमा एक जनालाई मात्रै जान आग्रह गरिएको बताए । उनले छठ पर्वलाई हेर्ने र भिडभाड भएको ठाउँँमा स्वयंसेवक र प्रहरी परिचालन गर्ने जानकारी दिए ।

सिराहा जिल्लामा स्थानीय प्रशासनले घर घरमै धारा राखेर छठ पर्व मनाउन अनुरोध गरेको छ । त्यहाँका प्रजिअ प्रदीपराज कँणेल भन्छन्, ‘‘कतिपयले हाम्रो अनुरोधलाई स्वीकार गर्नु भएको छ, कतिपयले भने परम्परागत चाडपर्व मनाउनुपर्छ भनेका छन् ।’

सुखीपुर नगरपालिकामा भारतबाट केटीहरू मगाएर नचाउन खोल्दै आफूहरूले रोक लगाएको उनले जानकारी दिए । कोरोनाबाट जोगिएर छठ मनाउन नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधिले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

बुधबार नुहाएर खाने विधिबाट सुरु हुने छठ बिहीबार खरना विधि, शुक्रबार साँझको अर्घ र शनिबार बिहानको अर्घ दिएपछि सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment