
३ मंसिर, काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयनका लागि पूर्व अध्यक्षहरुले निकै कसरत गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकोले शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । गोल्छा पछिको अध्यक्षको लागि वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकाल चुनावी मैदानमा उत्रेका छन् ।
पूर्व अध्यक्षहरु रवीभक्त श्रेष्ठ, महेशलाल प्रधान, कुशकुमार जोशी, पद्म ज्योति र प्रदिपजंग पाण्डेले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाउन छलफल चलाइरहे पनि सहमति जुट्न सकेको छैन । आगामी अध्यक्ष गोल्छा पनि सर्वसम्मत वरिष्ठ उपाध्यक्षको पक्षमा छन् । अन्तिममा सहमति हुने आशा आफूले नछाडेको उनको भनाइ छ ।
आफूहरु पनि सहमतिकै पक्षमा रहेको उम्मेद्वारद्वय प्रधान र ढकालले बताउँदै आएका छन् । प्रधानले आफू उमेरका हिसाबले पनि जेठो भएकोले यसपटक छाडिदिन ढकालसँग आग्रह गरेका छन् । अर्को पटक ढकाललाई सहयोग गर्ने उनको भनाइ छ ।
तर, चुनाव जित्ने पक्का भएको दाबी गरिरहेका ढकालले प्रधानले छाड्नु पर्ने बताउँदै आएका छन् । एकजना पूर्व अध्यक्ष भन्छन्, ‘सहमतिको सम्भावना नै छैन भन्न मिल्दैन, अन्तिम समयमा पनि कुरा मिल्न सक्छ तर दुवै पक्षले केही न केही त्याग गर्नुपर्छ ।’
यसरी हुनसक्छ सहमति
चण्डिराज ढकालसहित धेरैजसो पूर्व अध्यक्ष र वर्तमान पदाधिकारी ढकालको पक्षमा देखिन्छन् । प्रधानलाई पूर्व अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र गोल्छा समेतको समर्थन छ । प्रधान यसअघि वरिष्ठ उपाध्यक्षमा गोल्छासँग पराजित भएका थिए ।
गोल्छा र मुरारकाको समर्थन प्रधानको लागि महत्वपूर्ण भएको उद्योगी–व्यवसायीहरुले बताउने गरेका छन् । सहमतिका लागि प्रयास गरिरहेका एक उद्योगी गोल्छा र मुरारका पनि सहमतिको पक्षमा देखिँदा प्रधानले ढकाललाई छाड्न केही सर्त राखेका छन् ।
‘महासंघभित्र चण्डि ढकालको हैकम अन्त्य हुनुपर्छ भन्ने उनको पहिलो सर्त छ, दोस्रोमा आफूले महत्वपूर्ण भूमिका र दुई उपाध्यक्ष पाउनपर्ने भन्ने छ,’ ती उद्योगी भन्छन्, ‘यी सर्त मान्ने हो भने वरिष्ठ उपाध्यक्षमा चन्द्रजी सर्वसम्मत बन्नु हुन्छ ।’
महासंघमा निकै वलिया मानिने चण्डी ढकालले अनावश्यक हस्तक्षेप गरेको भन्दै धेरै पूर्व अध्यक्ष र गोल्छा समेत असन्तुष्ट छन् । विशिष्ट सदस्य भन्ने पद नै हटाएर चण्डि ढकालको भूमिका कमजोर बनाउन सहमत भए चन्द्र ढकाललाई समर्थ गर्न सकिने प्रधान पक्षको सर्त छ ।
अर्को सर्त भनेको कार्यसमितिमा आमन्त्रित सदस्य वा अन्य कुनै पद सिर्जना गरेर प्रधान समेटिनुपर्छ भन्ने हो । प्रधानले चण्डि ढकालको जस्तै कुनै हैसियत खोजेको बुझिन्छ । अर्को सर्त भनेको प्रधान पक्षबाट उपाध्यक्षमा उम्मेद्वारी दिएकामध्ये एशोसिएट र वस्तुगत तर्फका उपाध्यक्ष पाउनपर्छ भन्ने हो ।
प्रधान प्यानलाबाट एसोसिएटमा शौरभ ज्योति र वस्तुगतमा अञ्जन श्रेष्ठ उम्मेद्वार छन् । ढकाल पक्षबाट एसोसिएटमा रामचन्द्र संघई र वस्तुगतमा वर्तमान उपाध्यक्ष उमेश श्रेष्ठ दोहोरिन चाहेका छन् । प्रधानको माग अनुसार सहमतिमा जाँदा यी दुवैको उम्मेद्वारी फिर्ता हुनपर्छ ।
तर यी सर्त मान्न ढकाल पक्ष तयार छैन । वरिष्ठ उपाध्यक्षमा लड्ने सोच बनाएका उमेश श्रेष्ठ चन्द्र ढकाललाई समर्थन गर्नकै लागि सोहि पदमा दोहोरिन चाहेका छन् । अर्को तर्फ चण्डि ढकालको पनि महासंघमा राम्रै पकड रहेका कारण यो पक्षले त्यो पनि गुमाउन चाहेको छैन । केही पदमा हारे पनि वरिष्ठ उपाध्यक्षसहित धेरै पद जित्ने ढकाल पक्षको विस्वास छ ।
ढकाल पक्षको रणनीति
मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने साधारणसभा र निर्वाचनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष तथा ५९ कार्यकारिणी समिति सदस्य निर्वाचित गर्दैछ । समिति सदस्यमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७, जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट १७, वस्तुगत समितिमध्येबाट १४ र एशोसिएट्स सदस्यमध्येबाट १९ जना चयन हुनेछन् ।
यस्तै, द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघ र महासंघका संस्थापक मध्येबाट एक–एक जना कार्यकारिणी सदस्य चुनिनेछन् ।
एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्लानगर उपाध्यक्ष किशोर प्रधानले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । २०७३ चैतको निर्वाचनबाट एशोसिएट उपाध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।
प्रधान भने सो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका थिए । सोही निर्वाचनमा जिल्लानगर उपाध्यक्ष निर्वाचित प्रमोद श्रेष्ठ म्याग्दीको बेनी नगरपालिका प्रमुखको निर्वाचनमा उम्मेदवार भएपछि महासंघको विधानअनुसार पद रिक्त भएको थियो । यसका लागि भएको उपनिर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा पराजित प्रधान जिल्लानगर उपाध्यक्षमा उम्मेदवार भइ निर्वाचित भए ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षका उम्मेदवार सौरभ ज्योति नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् । प्रधान समर्थक वरिष्ठ उपाध्यक्ष गोल्छा पनि नाडाका पूर्वअध्यक्ष महासंघका निवर्तमान अध्यक्ष मुरारका पनि अटोमोबाइलका नामी व्यापारी हुन् । यसरी महासंघ संघर्षमा प्रधान समूहमा अटोमोबाइल क्षेत्र हावी भएको देखिएको छ ।
ढकाल समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका उमेशलाल श्रेष्ठ औषधि व्यवसायी हुन् । उनको प्रतिनिधित्व पनि औषधि उत्पादक संघबाटै भएको छ । यस्तै, एशोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई धागो, सिमेन्ट लगायत उत्पादनमूलक उद्योग, इन्स्योरेन्स, बैंक तथा वित्तीय क्षेत्रका हुन् ।
प्रधान समूहमा जिल्लानगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ अघिल्लो निर्वाचनमा सोही पदमा पराजित भएका थिए भने ढकाल समूहका गुणनिधि तिवारी जिल्लानगर समूहबाटै महासंघमा आएका व्यवसायी हुन् । श्रेष्ठ दुई कार्यकाल अघि नै महासंघमा वस्तुगत समूहबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।
महासंघभित्र दुई दशकदेखि जातीय सन्तुलनको विषय पनि पेचिलो बन्दै आएको छ । महासंघको राजनीतिमा खासगरी नेवार र मारवाडी समुदायलाई लिएर बेलाबखत विवाद हुने गरेको छ । महासंघका पुराना नेताहरुले समावेशी र सन्तुलनका आधारमा साम्य पार्दै आएको यो विवाद अहिले पनि छ ।
यसपटक प्रधान समूहका पदाधिकारी उम्मेदवारमध्ये चारैजना नेवार छन् । किशोर प्रधान वरिष्ठ उपाध्यक्ष, दिनेश श्रेष्ठ जिल्लानगर उपाध्यक्ष, अञ्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष र सौरभ ज्योति कंसाकार एशोसिएट उपाध्यक्षका उम्मेदवार छन् ।
यसकारण मारवाडी समुदायको मत त्यता नजाने आकलन ढकाल पक्षको छ । ढकाल समूहका उम्मेदवारमा भने जातीय सन्तुलन मिलाउन खोजिएको छ । यो समूहबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष, गुणनिधि तिवारी जिल्लानगर उपाध्यक्ष, उमेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्ष र रामचन्द्र संघई एसोसिएट उपाध्यक्षका उमेदवार बनेका छन् ।
दुवै समूहले पदाधिकारीमा महिला राखेका छैनन् । सदस्यमा भने महिलालाई स्थान दिएको दुवै समूहको दाबी छ । सदस्यको उम्मेद्वारी क्षेत्रगत आधारमा मिलाउने तयारी भएको बताइएको छ ।
प्रतिक्रिया 4