Comments Add Comment

किम्फका लागि ३२ फिल्म छनोट, सबै चलचित्र घरबाटै हेर्न सकिने

४ मंसिर, काठमाडौं । पर्वतीय जनजीवन, संस्कृति, वातावरण र खेलमाथि बनेका विश्वभरीका फिल्म समेट्दै आएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का लागि ३२ वटा चलचित्र छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय पानोरमातर्फ १५ देशका १८ चलचित्र छनोटमा परेको आयोजक हिमाल एसोसियसनले जानकारी दिएको छ । नेपाली पानोरमाका लागि १४ चलचित्र छानिएका छन् ।

नेपाली पानोरमातर्फ सजल लोप्चानको अ नेपाली सर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल (२१ मि.), डायमण्ड उप्रेतीको अ पेपर प्लेन (१४ मि.), राजन कठेतको बार ट्रिज इन दि मिस्ट (१५ मि.), गणेश पाण्डेयको सिभिल सोल्जर्स (२५ मि.) र सोनाम शर्माको मिसन एभरेस्ट–दि लिजेन्ड अफ शेर्पा जाङ्बु (३१ मि.) प्रतियोगी चलचित्रको रुपमा प्रदर्शन हुँदैछन् ।

यस्तै, गणेश रावलको समस्या (२२ मि.), आशुका अर्यालको संकुल (दि कन्फ्युजन १३ मि.), सोनाम चौकी लामाको दि स्नो लियोपार्ड कलिङ (९ मि.), अंकित पौडेलको सङ अफ क्लाउड्स (१५ मि.), आशिष लिम्बु/डेविन राईको दि विन्टर ट्याप (११ मि.) र सिकुमा राईको अरक चाना बानाओ सीम्मा (२६ मि.) पनि प्रतिस्पर्धामा छन् ।

आयोजकका अनुसार टोनी हागन फाउन्डेसनको सहयोगमा बनेका तीन वटा अप्रतियोगी चलचित्र पनि प्रदर्शन हुँदैछन् ।

चलचित्र निःशुल्क हेर्न सकिने

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण किम्फको १८ औं संस्करण पहिलो पटक भर्चुअल माध्यमबाट गर्न लागिएको हो । ‘कोरोनाका कारण पहिलो पटक महोत्सव अनलाइनबाट गर्दैछौं’ किम्फका अध्यक्ष बसन्त थापा भन्छन्, ‘तर यसको सकारात्मक पक्षमा पनि छ ।’

२५ मंसिरदेखि सुरु हुने पाँच दिने महोत्सवका सबै चलचित्र अनलाइनमा हेर्न सकिन्छ । जसले गर्दा विगतको तुलनामा दर्शक बढ्ने अपेक्षा गरिएको थापा बताउँछन् । उनी भन्छन्, ‘विगतमा किम्फका चलचित्र महोत्सवमा उपस्थित हुन सक्ने दर्शकले मात्रै हेर्न सक्थे, अब भने रुची हुने जोसुकैले जहाँसुकैबाट हेर्न सक्ने भए ।’

१८ औं किम्फको अर्को विशेषता भनेको दर्शकले चलचित्रका लागि शुल्क तिर्नु पर्दैन । उद्घाटन र समापन भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमित दर्शकको भौतिक उपस्थितिमा गर्न गरिने भएको छ ।

महोत्सवमा देखाइने चलचित्र एक हप्तासम्म अनलाइनमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ । किम्फ अध्यक्ष थापा भन्छन्, ‘चुनौतीका बावजुद धेरै दर्शकसम्म पुग्ने अवसरको रुपमा पनि लिएका छौं ।’

अन्तर्राष्ट्रिय पानोरमाका लागि छनोट भएका चलचित्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment