
४ मंसिर, जनकपुरधाम । महोत्तरीमा ८ बर्षअघि एक युवकको अपहरणपछि हत्याको अभियोग लागेका जिवछ अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको तत्कालीन भटौलिया गाविस–३ (हाल एकडारा गाउँपालिका ३ का अन्सारीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।
अन्सारीसहितका व्यक्तिले सोनमा गाउँपालिका– ८ (साविकको सुन्दरपुर गाविस १) बस्ने २२ बर्षीय पंकज कुमार यादवको २०६९ साल चैत ४ गते अपहरणपछि फिरौती लिएर हत्या गरेका थिए ।
यादवको हत्या गरेर अन्सारी फरार रहँदै आएका थिए । पंकजको अपहरण तथा शरीर बन्धक मुद्दामा महोत्तरी जिल्ला अदालतको २०७२ साल जेठ १८ गतेको फैसला बमोजिम जिवछ अन्सारीलाई १७ वर्ष कैद र २ लाख ७५ हजार जरिवाना तोकिएको थियो ।
पक्राउ परेका अन्सारीको हकमा ज्यानसम्बन्धी अभियोग मुल्तवीमा रहेकोले थप कानुनी प्रक्रिया अदालतबाटै हुने बिष्टले बताए । अन्सारीलाई जलेश्वर नगरपालिका ३ स्थित नेपाल भारतको सीमा क्षेत्र भिठामोडबाट पक्राउ गरिएको छ ।
यसरी भएको थियो घटना
२२ बर्षीय पंकज त्यस बेला जनकपुरधामस्थित पिडारी चोकमा डेरा लिई कक्षा १२ मा अध्ययन गरिरहेका थिए । उनलाई २०६९ चैत ४ गते सिरहाको तत्कालिन अर्नमा गाविस ९ का गणेशकुमार सिंह महतो, धनुषाका कुशेश्वर ठाकुर, धनुषाकै बिक्रु भनिने कृष्णाकुमार पुर्वे, नाम ठेगाना नखुलेका राजु सिंह र श्याम मिश्राले अपहरण गरेका थिए ।
पंकजलाई अपहरण गरी जिवछ अन्सारीको तत्कालीन जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित घरमा राखिएको थियो । सोही क्रममा उनीहरुले सिरहाको लक्ष्मीपुरस्थित कमला नहरमा पंकजका बुवा श्यामलाई बोलाई ७ लाख रुपैयाँ फिरौती असुलेको प्रहरीको भनाइ छ ।
उनीहरुले फिरौती लिए पनि हत्या गरेका थिए । अन्सारीको घरबाट पंकजलाई जलेश्वरमा घुम्न जाउँ भनी फकाई मोटरसाइकलमा लिएर तत्कालीन जलेश्वर नगरपालिका वडा नम्बर ९ स्थित राविम क्याम्पसको चौरमा ल्याएका थिए ।
यहाँ सबै मिलेर पंकजलाई लागूऔषध सेवन गराई अर्धचेत बनाएका थिए । त्यसपछि महोत्तरीको तत्कालीन अंकार गाविस ४ स्थित रातु खोलाको बगरमा लगी मुखमा पट्टी लगाई घाँटी रेटी हत्या गरेका थिए । पछि पंकजको शवलाई खुर्पा तथा कोदालोले खाल्डो खनी सोही स्थानमा पुरेका थिए ।
पंकजको अपहरणपछि हत्या भएको मुद्दामा तत्कालीन समयमा पक्राउ परेका बिक्रु भन्ने कृष्णा पुर्वेलाई जन्मकैद, अपहरण तथा शरीर बन्धक लिने मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार रुपैयाँ जरिवाना तोकिएकोमा हाल उनी कारागार कार्यालय झुम्का सुनसरीमा छन् ।
कुशेश्वर ठाकुरको हकमा कर्तव्य ज्यान मुद्धामा १२ वर्ष कैद सजाय, अपहरण तथा शरीर वन्धक लिने मुद्दामा १२ वर्ष कैद र २ लाख ३८ हजार २ सय ८५ रुपैयाँ जरिवाना तोकिएकोमा हाल निज कारागार कार्यालय भीमफेदी मकवानपुरमा रहेको प्रहरीले जनाएको छ ।
अन्सारीविरुद्व नक्कली नागरिकताको मुद्दा पनि
प्रहरीका अनुसार हत्या गरी फरार भएका अन्सारीविरुद्व नक्कली नागरिकताको मुद्धा पनि दायर रहेको छ ।
अन्सारीले झुठो विवरण पेश गरी २०५१ सालमा नेपाली नागरिकता लिएको उजुरी परेपछि २०६२ सालमा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।
हाल उनी पक्राउ परेपछि यो मुद्दामा थप अनुसन्धान गरिने प्रहरी प्रवक्ता विष्टले बताए ।
प्रतिक्रिया 4