Comments Add Comment

सडकमा खाल्डो देख्दा मन्त्री चकित !

मन्त्री श्रेष्ठले भने-एकहप्ताभित्र पुर्नुस्

५ मंसिर, काठमाडौं । काठमाडौंका नदी करिडोर सडकमा धुलो, हिलो र खाल्डोले हिँडिनसक्नु छ । जनताले बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा लगायतका करिडोर सडकमा सँधै सास्ती पाइरहेकै छन् । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ शुक्रबार धाबीखोला करिडोरको अनुगमन गर्न भनेर निस्किए ।

तर, करिडोरको ठाउँ-ठाउँमा परेका खाल्डा परेको देखेपछि मन्त्री चकित भए । उनले साथमै रहेका कर्मचारीलाई सोधे,’मान्छेको ज्यान लिनसक्ने यस्तो खाल्डा पुर्न केले रोक्यो ?’

चावहिलस्थित ओम अस्पताल पारी खुला मंगाल देखेपछि उनले सोधे,’ओहो ! बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ?’

यो करिडोर निर्माण र मर्मतको जिम्मा उपत्यका विकास प्राधिकरणलाई छ । अवलोकनमा क्रममा प्राधिकरण आयुक्त भाइकाजी तिावरी पनि साथै थिए । मन्त्री श्रेष्ठले यस्ता खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिए ।

‘अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौं सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन,’ उनले भने । मन्त्रीको निर्देशनपछि  तिवारीले बढी खाल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र खाल्डा पुरिसक्ने जानकारी दिए ।

मन्त्री श्रेष्ठसहितको टोलीले बुद्धनगरस्थित आर्क ब्रिजबाट अवलोकन सुरु गरेको थियो । आर्क ब्रिज निर्माण भइसकेकाले पुलमुनिबाट सडक बनाउने प्रक्रिया सुरु गर्न निर्देशन दिए ।

करिडोरले छोएको अधिकांश पुलमुनि अन्डरपासको स्पेसमा फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ ।

मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।

अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिए ।

परियोजनाको बारेमा जानकारी गराउँदै प्राधिकरणका प्रमुख डा. तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पूर्ण काम सम्पन्न हुने जानकारी गराए ।

‘हामीले बाटो खोलिसकेका छौं, केही सामान्य समस्याबाहेक कुनै ब्याबधान छैन , तोकिएकै समयमा निर्माण सक्नेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment