Comments Add Comment
पोखरामा कोरोना :

लक्षणसहितका मानिस सडकमै, उपचारको सट्टा भगवान भरोसा !

६ मंसिर, पोखरा । पोखरा–९ का ६८ वर्षीय पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भएको सहसुस भयो । स्वाबको नमूना परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आयो । ५ गते नै उनको मृत्यु भयो ।

केही दिनअघि हेम्जाका ५८ वर्षीय पुरुषमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित श्वासप्रश्वासमा समस्या देखियो । परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण देखियो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गयो । उनको कन्ट्याक्ट ट्रेसिङमा परेकी २९ वर्षीया छोरीलाई पनि संक्रमण देखियो । उनलाई पनि श्वासप्रश्वासमा समस्या थियो । उनको पनि चरक मेमोरियल अस्पतालमा ज्यान गयो ।

पोखरा–१७ का २९ वर्षीय एक व्यक्तिलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न लगियो । उनमा कोरोना संक्रमण देखियो र शुक्रबार बिहान साढे १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गयो । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएर उपचार गराइरहेका उनमा निमोनियाको समस्या थियो ।

यी घटनाहरुबाट थाहा हुन्छ, घरमै बसिरहेका व्यक्तिहरुमा एक्कासी स्वास्थ्य समस्या देखिने क्रम बढेको छ । परीक्षणपछि कोरोना पोजेटिभ देखिने र श्वासप्रश्वास लगायतका गम्भीर समस्या निम्तिएर ज्यान गुमाउने यी केही उदाहरण हुन् ।

दसैंअघिसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत ४० जनामध्ये केहीलाई मात्र अक्सिजन लगाए पुग्थ्यो । दसैंपछि अक्सिजन लगाउनुपर्ने बिरामीको संख्या बढ्दै गयो । अहिले ३५ जनामध्ये ३० जनालाई अक्सिजन लगाएर उपचार गर्नुपर्ने अवस्था आएको फोकल पर्सन डा. वुद्धिसागर लामिछानेले बताए ।

‘दसैंपछि लक्षणसहितका र श्वासप्रश्वासमै समस्या भएका बिरामी ह्वात्तै बढेका छन् । कोभिड उपचार केन्द्रमा अधिकांश अक्सिजन लगाएर उपचार गर्नुपर्ने बिरामी छन्,’ लामिछानेले भने, ‘यसको अर्थ के हो भने कोरोना संक्रमणले गम्भीर खालको स्वास्थ्य समस्या निम्त्याइरहेको छ । बिरामी घरघरै बसिरहेका छन् र समस्या भएपछि मात्र अस्पताल आएका छन् ।’

श्वासप्रश्वासमा समस्या भएका बिरामी अहिले पनि केही भएको छैन भन्ने ठानेर बजारमा हिँडिरहेको चिकित्सकहरु बताउँछन् । कतिलाई अक्सिजनको मात्रा कम भए पनि अन्य लक्षण नभएकाले महसुस नै नगरी धेरै बिरामी सडकमै हिँडिरहेको उनीहरुको भनाइ छ ।

‘मलाई केही पनि भएको छैन भन्ने महसुसमै धेरै मान्छे हिँडिरहेका छन् । जसको अन्य लक्षण छैन । एक्कासी श्वासप्रश्वास लगायतका समस्या देखिएपछिमात्र अस्पताल दौडिएका छौं,’ डा. लामिछानेले भने, ‘अहिले हामी कोरोना संक्रमणको पिकआवरमा छौं ।’

सामान्य लक्षण भएर पनि धेरै जना सडकमै हिँडिरहेकाले अझै संक्रमण दर उच्च हुन सक्ने चिकित्सकहरुको भनाइ छ । चिसो बढेसँगै श्वासप्रश्वास, निमोनियाको संक्रमण पनि बढ्ने र कोरोना संक्रमणले पनि धेरै गाँज्न सक्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा जनरल फिजिसियन डा. वुद्धिबहादुर थापा बताउँछन् ।

‘पछिल्लो समय तीव्ररुपमा लक्षणसहितका बिरामी बढिरहेका छन् । बेलैमा ध्यान दिन सकेनौं, सचेत भएनौं भने यसले अझै गति बढाउने पक्का छ,’ डा. थापाले भने, ‘समाज कुनै ठाउँ र तप्का वा वर्ग छैन, अब कोरोना नछिरेको होस् ।’

गम्भीर बिरामीले पनि बेड पाउँदैनन्

कात्तिक अन्तिम दिनसम्म गण्डकी प्रदेशमा कुल संक्रमित १० हजार ४ सय ९० जना थिए । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ४६ थियो । संक्रमितहरुमध्ये १ सय २३ जनाको मात्र ज्यान गएको थियो ।  त्यो बेला २४ घन्टाको परीक्षण ९ सय ८८ थियो ।

परीक्षण दर एकदमै कम हुँदा पनि अहिले ५ दिनमै १० हजार ८ सय २७ जना कूल संक्रमित पुगेका छन् । त्यसमा ४ हजार ४ सय १४ सक्रिय संक्रमित छन् । मृत्यु १ सय ३९ पुगेको छ ।

५ दिनअघि कास्कीमा ४ हजार २ सय ४६ जना कूल संक्रमित थिए । २ हजार ८ सय सक्रिय संक्रमित थिए । ५८ जनाको मृत्यु भएको थियो । अन्य निको भएको संख्या थियो । निजीसहित पोखरामा ४ वटा मेसिनमा पीसीआर परीक्षण भइरहेको छ । तर, परीक्षण दर पहिलेको तुलनामा निकै कम छ  । दुई दिनअघि त २४ घन्टाको परीक्षण दर दुई सय पनि थिएन । परीक्षण नै कम हुँदा पनि संक्रमितको संख्या ५ हजार नजिक छ ।

तीन हजार जना त सक्रिय संक्रमित छन् । मृत्यु हुनेको संख्या ७० पुगेको छ । पाँच दिनमा कास्कीका मात्र मृत्यु हुने १२ जना छन् । शुक्रबारमात्र मृत्यु हुने ८ मध्ये ६ जना पोखराकै छन् ।

कास्कीमा ३ हजार सक्रिय संक्रमितमध्ये झण्डै साढे २६ सय मानिस होम आइसोलेसनमा बसिरहेका छन् । सुरुमा लक्षण नभएका बिरामीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । अहिले लक्षण भएका बिरामी पनि होम आइसोलेसनमा छन् ।

मणिपाल, चरक मेमोरियल, गण्डकी मेडिकल कलेज लगायत शिक्षण अस्पतालको आईसीयू बेड र भेन्टिलेटरको डाटा लिएर बसेको सरकारलाई बिरामी भर्ना नलिएर मर्नुपरेको पत्तो नै हुँदैन

कास्कीमा पनि पोखरा पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको छ । धेरै कर्मचारीलाई नै संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवासमेत बन्द गर्नुपर्ने अवस्था आइपरेको छ ।

अहिले अक्सिजनको मात्रा घटेकाबाहेक अरु बिरामीले बेड पाउने अवस्था छैन । लक्षणसहितका बिरामीको संक्रमण दर यसरी बढ्दै गएमा गम्भीर बिरामीले पनि बेड नपाउन सक्ने कोभिड उपचार केन्द्रका डा. लामिछानेले बताए ।

होम आइसोलेसनमा बसेकामध्ये केहीलाई मात्र पनि गम्भीर स्वास्थ्य समस्या देखियो भने उपचारै नपाएर ज्यान जान सक्ने अवस्था सिर्जना भइरहेको चिकित्सकहरु बताउँछन् ।

संक्रमण दर र गम्भीर खालका बिरामीको संख्या बढेसँगै अस्पतालको बेड सर्वसाधारणको पहुँच बाहिर छ । निजी अस्पताल त परको कुरा सरकारी कोभिड अस्पतालमा नै भनसुन र पहुँचमा नभएकाले बेड पाउन सक्ने अवस्था छैन ।

कोभिड अस्पतालकै एक डाक्टर भन्छन्, ‘गम्भीर खालका बिरामी आए त राख्नैपर्छ तर यहाँ बेड नै नभए कहाँ राख्ने ? भएका पनि नेता, सांसददेखि मन्त्रीसम्मका मान्छे राख्ने पर्ने अवस्था छ ।’

एकातिर लक्षणसहितका बिरामी बढिरहेका छन्, अर्कोतर्फ अस्पतालमा पर्याप्त आईसीयु र भेन्टिलेटरको व्यवस्था नै छैन ।

अहिले पनि जटिल स्वास्थ्य समस्या भएका बिरामीले नै बेड पाइरहेका छैनन् । कोभिड लागिसकेका त परको कुरा भयो, सम्भावित लक्षण भएका बिरामीले पनि अस्पताल चहार्दाचहार्दै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

यो पनि पढ्नुहोस ६ वटा अस्पताल पुर्‍याउँदा पनि धनमायाले उपचार पाइनन्, ट्याक्सीमै गयो प्राण

प्रदेश सरकारले निजी अस्पतालसहित २ सय ५ आईसीयु बेड र ६२ भेन्टिलेटर रहेको तथ्यांक सार्वजनिक गरिरहन्छ । तर, पोखराभित्रै बिरामीले अस्पताल नपाएर ज्यान गुमाइरहेका छन् ।

अस्पतालहरुसँग समन्वय, नियमन र जटिल परिस्थितिमा व्यवस्थापन गर्ने सरकारको प्रभावकारी संयन्त्र नहुँदा परिस्थिति अझ जटिल आउन सक्ने देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अहिलेको अवस्थालाई सोचेर बेलैमा पूर्व तयारी गर्न नसक्दा समस्या बढ्दै गएको बताउँछन् । प्रदेश सरकारले पोखरामा सञ्चालनमा ल्याएको भनिएको सरुवा रोग तथा संक्रामक अस्पतालमै आईसीयू छैन । आईसीयू र भेन्टिलेटर भए पनि जनशक्तिको अभावमा थन्किएको छ ।

मणिपाल, चरक मेमोरियल, गण्डकी मेडिकल कलेज लगायत शिक्षण अस्पतालको आईसीयू बेड र भेन्टिलेटरको डाटा लिएर बसेको सरकारलाई बिरामी भर्ना नलिएर मर्नुपरेको पत्तो नै हुँदैन । निजी अस्पतालले गम्भीर खालका बिरामी भर्ना नै नलिएर फर्काइदिन्छन् । यी शिक्षण अस्पतालले बिरामीको अवस्था र व्यक्ति हेरेर ५० देखि डेढ लाख रुपैयाँ धरौटी लिएर मात्र बिरामी भर्ना गर्छन् । महँगो शुल्क र धरौटी तिर्न नसकेरै जनताले ज्यान गुमाउने परिस्थिति छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मादेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्म यो कुरा मान्न तयार छैनन् । प्रदेशले कोरोना नियन्त्रणमा अब्बल काम गरेको उनीहरुको दाबी छ । स्वास्थ्यको विभागीय सामाजिक विकास मन्त्री नरदेवी पुन कोरोना व्यवस्थापनका लागि छलफलमात्र गरिरहेको बताउँछिन् ।

बजारमा चहलपहल, हेलचेक्राइँका कारण दसैं–तिहारलगत्तै संक्रमणको दर र गम्भीर बिरामी बढेकाले नागरिक पनि बढी सचेत हुनुपर्ने जनरल फिजिसियन डा. शरद बराल बताउँछन् ।

६ वटा निजी अस्पताल पु¥याउँदा पनि बिरामी भर्ना गर्न नसकेर छिमेकी बचाउन नसकेका महेन्द्रप्रसाद तिमिल्सिना भन्छन्, ‘केही भइहाले उपचार पाइन्नँ, भगवान भरोसा हो । यस्तो भयानक अवस्थामा आफैं सचेत हुनु र साबधानी अपनाउनुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment