७ मंसिर, काठमाडौं । एर्लिन ब्राट हालान्डले दोस्रो हाफमा ह्याट्रिकसहित चार गोल गरेपछि जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले हेर्था बर्लिनमाथि शानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले हेर्थालाई उसैको मैदानमा ५-२ ले पराजित गरेको हो ।
खेलमा एक गोलले पछि परेको अवस्थामा डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गरेको हो । हालान्डले १५ मिनेटमै ह्याट्रिक गरेपछि डर्टमण्डले शानदार जित हात पारेको हो ।
३३औं मिनेटमा माथेउज कुन्हाले गोल गर्दै घरेलु टोली हेर्थालाई पहिले अग्रता दिलाएका थिए । हेर्थाले पहिलो हाफमा अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा हालान्ड चम्किए । हालान्डले ४७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसको दुई मिनेटपछि नै हालान्डले गोल गर्दै डर्टमण्डलाई पहिलो पटक अग्रता दिलाए । ६२औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे भने डर्टमण्डलाई ३-१ को अग्रता दिलाए । ७०औं मिनेटमा राफेल गुरेइरोले गोल गरेपछि डर्टमण्डले ४-१ को अग्रता बनायो ।
७९औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर घटाउन प्रयास गरे । तर ७९औं मिनेटमै हालान्डले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौ गोल गरे ।
८६औं मिनेटमा हालान्डकै स्थानमा मैदान प्रवेश गर्दै डर्टमण्डका युसुउफा माउकोकोले कीर्तिमान बनाए । माउकोको बुण्डेसलिगामा डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले १६ वर्ष १ दिनको हादा बुण्डेसलिगामा डेब्यु गरेका हुन् । मउकोकोले डर्टमण्डकै नुरी साहिनको कीर्तिमान तोडेका हुन् । साहिनले १६ वर्ष ११ महिना हुँदा डेब्यु गरेका थिए ।
प्रतिक्रिया 4