Comments Add Comment

समुदायमा स्वाब संकलन गर्न काठमाडौंमा मोबाइल भ्यान

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरले आइतबारबाट कोभिड-१९को परीक्षणका लागि समुदायमा स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेको थियो ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरे ।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए  ।

प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको बताए ।  महानगरपालिकासँग भएको थोरै जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइरहेको पनि उनले जानकारी दिए ।

‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन् । उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौँ,’ शाक्यले भने ।

उनँले त्यस्ता व्यक्तिको स्वाब संकलनलाई विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाउने पनि जानकारी दिए ।

कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निशुल्क उपचार गर्ने उनले जानकारी पनि दिए । संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गरे ।

सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ । यसमा जसको स्वाब लिइएको छ, उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पीपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो ।

सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment