Comments Add Comment

८ महिनापछि खुल्यो गोरखा संग्रहालय

७ मंसिर, गोरखा । कोभिड–१९ महामारीका कारण ८ महिना बन्द रहेको गोरखा संग्रहालय आइतबारदेखि खुला भएको छ । गत चैतदेखि संग्रहालयको प्रदर्शनी कक्ष बन्द थियो भने प्रशासनिक कामहरु सञ्चालन भइरहेको थियो ।

गत कात्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी मंसिर ५ गतेदेखि संग्रहालयलगायत पर्यटनसँग सम्बन्धित सेवा र कार्यहरु संचालन गर्न पाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतवारदेखि संग्रहालयको प्रदर्शनी कक्ष खुला गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

‘हिजो ह्याण्ड वास स्टेशन निर्माण गरेर कर्मचारी र सुरक्षाकर्मीलाई ओरेन्टेसन दियौं अनि आजदेखि प्रदर्शनी कक्षहरु खुल्ला गर्‍यौं’ उनले भने ।

संग्रहालयको मूल ढोकामा हात धुने ठाउँ राखिएको छ । संग्रहालय अवलोकन गर्नुअघि पर्यटकले हात धुनु पर्नेछ भने मास्क र भौतिक दुरी अनिवार्य गरिएको छ ।

एक पटकमा बढीमा दश जना पर्यटकले संग्रहालयको प्रदर्शनी कक्षमा जान पाउनेछन् । अवलोकनका क्रममा झ्याल ढोका नछुन पनि आग्रह गरिएको छ ।

‘संग्रहालय अवलोकन गर्दा पर्यटकले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड फ्लेक्स बनाएर राख्छौं, पर्यटकले अनिवार्य ती मापदण्ड पालना गर्नुपर्छ,’ संग्रहालय प्रमुख अधिकारीले भने । ८ महिना संग्रहालय बन्द हुँदा करिव सात लाख रुपैयाँ राजश्व घाटा भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment