Comments Add Comment

पर्यटन भर्सेस स्वास्थ्य : पर्यटक आगमनमा कडाइ कि खुकुलो ?

७ मंसिर, काठमाडौं । नेपालमा पर्यटक आगमनलाई कडाई गर्ने कि थप सहज बनाउने भन्नेमा दुई मन्त्रालयको राय बाझिएको छ ।

संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटक भिसा खुला गर्ने प्रस्ताव मन्त्रिपषिदमा लगेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटक भिसा खुला गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने निर्णय गर्नुपर्ने प्रस्ताव राखेका छन् । ‘७२ घण्टाभित्र पीसीआर गर्दा नेगेटिभ आएको रिपोर्ट देखाएर पर्यटक आउन दिनुपर्छ’ उनले बैठकमा भने ।

पर्यटक भिसा खुला गर्नेबारे आगामी बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको आश्वासन छ । एक मन्त्रीले भने, ‘यो प्रस्ताव ठीक छ, यसका असरहरुबारे अध्ययन गरेर पर्सि बस्ने बैठकमा छलफल गरौंला भनेर प्रधानमन्त्रीज्यूले भन्नु भएको छ ।’

हाल नेपाल आउने बेला नै सात दिन होटल क्वारेन्टिनमा बस्ने सुनिश्चित गर्नुपर्ने हुन्छ । मन्त्रालयले यसलाई घटाएर ५ दिनमा झार्नुपर्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा पठाएको सहसचिव कमलप्रसाद भट्टराईले बताए ।

पर्यटक आगमन र त्यसका माध्यमबाट तीव्र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिनुपर्ने तर्कका साथ क्वारेन्टिन अवधि घटाउनुपर्ने मन्त्रालयको तर्क छ । ‘लामो समय व्यवसाय बन्द भयो, त्यसकारण अब पर्यटक आगमन सहज बनाउनु पर्छ भनेरै क्वारेन्टिन अवधी घटाउने प्रस्ताव गरेका हौं’ भट्टराईले भने ।

पर्यटन मन्त्रालयले पर्यटक आगमनलाई थप सहज बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कडाइ गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले स्थल र हवाईमार्गबाट आउने विदेशी नागरिकलाई अनिर्वाय १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

यसअघि भएका सबै निर्णय खारेज गरेर विदेशबाट आउनेहरुलाई १४ दिन क्वारेन्टिनमा राख्न र त्यसक्रममा लक्षण देखिए परीक्षणको व्यवस्था गर्न सीसीएमसीलाई सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment