+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

‘कविले साग बेच्नु हुँदैन र ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १४:३३

८ मंसिर, काठमाडौं । कवि असीम सागर लगनखेलमा सागसब्जी (तरकारी) व्यापार गर्छन् । उनी श्रमलाई जीवनको मूल सौन्दर्य मान्छन् । उनको पहिलो कवितासंग्रह ‘क’ प्रकाशित छ, जसमा ५५ वटा कविता समेटिएका छन् ।

असीम भुँइमान्छेका कविता लेख्नेमात्र होइन, आफू पनि सोही परिवेशमा बाँचिरहेका छन् । कविका रुपमा चर्चित भए पनि उनी तरकारी बेच्न अप्ठ्यारो मान्दैनन् । उनको प्रश्न छ, ‘के एउटा कविले आफू बाँच्नका लागि साग बेच्नु हुँदैन ? बालुवा चाल्नु हुँदैन र ? हलो जोत्नु हुँदैन ?’

कविता कर्मबारे असीम सागरको अनुभूति यस्तो छ :

जब २०७३ सालमा ‘हामी कवि र कविता’ मा उभिने सौभाग्य पाएँ, त्यतिबेला नै यो कविता संग्रह छापिने कुरा बजारमा आएको हो । मसँग कविता त थिए, तर किताबमा समावेश गर्न योग्य भनौं या आफैंलाई मनपर्ने कविता पर्याप्त थिएनन् । जब फाइन पि्रन्टबाट किताब निकाल्ने प्रस्ताव आयो, तब एउटा स्तरीय प्रकाशनबाट किताब निकाल्न कविता पनि स्तरीय नै हुनुपर्छ भन्ने लाग्यो मलाई । अनि कवितालाई परिमार्जित गर्नतिर लागें । यतिञ्जेल किताब निस्कन निकै ढिला भइसकेको थियो, पछि लकडाउनका कारण अझ ढिला भयो । ढिला भएकोमा मलाई खुशी नै लागेको छ, किनकि मैले कवितालाई अझ परिस्कृत गर्ने मौका पाएँ ।

जीवनमा बाँच्नका लागि परिश्रम सबैले गर्छन् र गर्नुपर्छ । सबैसँग आ-आफ्नै किसिमको दुःख, अभाव र संघर्ष छ । एउटा श्रमजीवी, जसलाई श्रमबाट उठेको पैसाले घर चलाउन गाह्रो हुन्छ, उसलाई निश्चय नै मन परेको किताब निकाल्न त के, किन्न पनि गाह्रो हुन्छ । यहाँ सबैले मैलेझैं प्रकाशक पाउँछन् भन्ने छैन ।

यदि प्रकाशक नपाएको भए मेरो ‘क’ कवितासंग्रह बजारमा आउन अझै १० वर्ष लाग्ने थियो । या भनौं, प्रकाशन नहुन पनि सक्थ्यो । अब भन्नुस्, श्रम गरेर खाने एउटा सामान्य कविलाई किताब प्रकाशन गर्न कति गाह्रो हुन्छ ? यसरी धेरै सपनाका बिरुवाहरू हौसला, प्रेम, साथ र सहयोगको जल नपाएर मरेका कैयौं उदाहरण हामीमाझ छन् ।

एउटा कविले आफू बाँच्नका लागि साग बेच्नु हुँदैन ? बालुवा चाल्नु हुँदैन र ? हलो जोत्नु हुँदैन ? के कुनै कविले आफू चोइटिएर, भाँचिएर, पिसिएर, दुखेर आफ्नै पसिनाले आफूलाई लेख्छ भने के त्यो कविता होइन ?

जब लेखकलाई साहित्यको सबै विधामा आफ्नो पहिचान बनाउने मोह जाग्छ, तब लेखकमा समस्या देखा पर्नु स्वभाविक हो । जहाँसम्म लाग्छ, पाठकलाई म त्यो अभाव हुन दिने छैन ।

सबै कवि, विज्ञ हुँदैनन् र सबै विज्ञ कवि हुन सक्दैनन् । दुःख र अभावले बाँचेको मान्छेसँग अरुलाई बाँड्नका लागि दुःखबाहेक अरु के नै बाँकी हुन्छ र ? जसको मस्तिष्कले जति सोच्न र बुझ्न सक्छ, उसले त्यति नै बुझ्ने हो । यदि कुनै कविले फलानो पाठकले यसो भन्यो भनेर खिन्नता प्रकट गर्छ भने त्यो उसको कमजोरी हो ।

हाम्रो कमजोरी भनेको हामी आफ्नो यथार्थलाई स्वीकार्दैनौं र धरातल बिर्सन्छौं । कामको सम्मान गर्न जान्दैनौं । के एउटा कविले आफू बाँच्नका लागि साग बेच्नु हुँदैन ? बालुवा चाल्नु हुँदैन र ? हलो जोत्नु हुँदैन ? के कुनै कविले आफू चोइटिएर, भाँचिएर, पिसिएर, दुखेर आफ्नै पसिनाले आफूलाई लेख्छ भने के त्यो कविता होइन ? यसरी आफैंलाई माध्यम बनाएर निम्न वर्गको आवाजलाई मुखरित गर्छ भने के त्यो कविता होइन ?

यदि कुनै पाठकले मेरो कवितामा दुःखको आलाप र कुण्ठामात्रै देख्नुहुन्छ भने आगामी दिनमा म उहाँहरुको सुझावलाई पनि शीरोपर गरेर कविता बनाउने प्रयत्न गर्नेछु ।
स्याउ खाएको मान्छेसँग सुन्तलाको स्वाद खोज्नु राम्रो होइन । जो कवि जुन कुरामा दक्ष छ, उसले त्यही लेख्ने हो । आफूसँग जे छ, त्यही दिने हो । समकालीन कवितालाई हेर्दा माछापुछ्र्रे र धौलागिरी हिमाललाई कुन राम्रो भनेर सोधेजस्तै हुन्छ । कुनै कालखण्डको कविता र समकालीन कवितालाई दाँज्नु मलाई उस्तै-उस्तै लाग्छ । किनकि, सबै कविताले आफ्नो समय चेत बोकेको हुन्छ । तर, कविता पढ्नुअघि त्यो कविता लेखिएको समय कस्तो थियो, त्यो महत्त्वपूर्ण हो भन्ने लाग्छ । यद्यपि, कला र सौन्दर्यका हिसाबले समकालीन कविता केही सशक्त देखिन्छ । थोरै संख्यामा भए पनि पाठक र सर्जक दिनानुदिन बढिरहेका छन् । यसबाट पनि कविताको भविष्य सुन्दर देख्न सकिन्छ ।

असीम सागरको कविता : पसिनाको जुलुस

धनमाया
स्कुस बेच्छिन्
इमान बेच्दिनन्
साग बेच्छिन्
स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन्
हिमाल बेच्दिनन्
देशको मानचित्र बेच्छिन्
देश बेच्दिनन्

मैले तिनै धनमायाबाट सिकेको हुँ
देशलाई माया गर्न

जसरी
घामले जोगाएर राख्छ आफूभित्र न्यानो
फूलले बचाएर राख्छ आफूभित्र सुवास
त्यसरी नै जोगाएकी छन् उनले स्वाभिमान
बचाएकी छन् उनले देश
जसरी
घोटिँदा-घोटिँदा शालिग्राम बन्छ पत्थर
हिँड्दा-हिँड्दा बनिन्छ बाटो
त्यसरी नै बनेकी हुन् उनी धनमाया
उनी कति कोमल छिन्
फूललाई दाँज्नू
उनी कति कठोर छिन्
पत्थरलाई छाम्नू
र सम्झनू
निस्किएन भने पसिनाको जुलुस
धनमायाको निधारबाट
देशमा खडेरी पर्छ
तुफान आउँछ
सोही तुफानले जम्मै सिमाना भत्काएर
देशभरि भोक थुपार्छ
तब भोको पेटले झण्डा समातेर
लर्बरिएको खुट्टाले
कसको आँगन टेकेर भन्नुहुन्छ
यो देश मेरो हो

आफैं तर्सिने आफ्नै सिकुटे अनुहारले
ओझेल परेको घामको तस्वीर नियाल्दै
आफ्नै पाखापखेराको धुलौटे माटोमा
धनमाया पसिनाले देश लेख्छिन्
ढाकरमा देश बोक्छिन्
त्यसैले
उनी हिँडेको उनको पैतालाको डोब पनि
हेर्नुस् त
ठ्याक्कै देशजस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?