Comments Add Comment

नारायणी अस्पताललाई भेन्टिलेटर सहयोग

८ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई एक थान भेन्टिलेटरसहित स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ । कोका—कोला फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामार्फत भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

प्रदेश २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले उक्त स्वास्थ्य सामग्री नारायणी अस्पतालका विकास समिति अध्यक्ष पुरेन्द्र किशोर लाभमार्फत अस्पतालको जिम्मा लगाएकी हुन् ।

त्यस अवसरमा अस्पताललाई १६ लाख ३२ हजार आठसय पचास रुपैयाँको आईसीयूमा प्रयोग हुने भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पञ्जा, ५० थान सुरक्षा पोशाक, एन ९५ मास्क २ सय थान र ५० थान गरी १८ लाख ५८ हजार १ सय ६९ रुपैयाँको सामग्री हस्तान्तर गरिएको थियो ।

कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले जानकारी दिए । कोकाकोला फाउन्डेसनकै सहयोगमा रेडक्रसले गत असारमा मा मास्क, बुट, सेनिटाइजर, क्लोरिन झोल र साबुन लगायत गरी १ लाख १४ हजार १ सय ७ रुपैयाँ मूल्य बराबरको सामान अस्पताललाई हस्तान्तरण गरेको थियो ।

योसँगै नारायणी अस्पतालमा भेन्टिलेटरको संख्या ५ पुगेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले बताए । उनले अस्पतालले पनि थप ५ थान भेन्टिलेटर मगाएकोले परिस्थिति प्रतिकुल नै भएपनि उपचार सेवा नपाएर मानिसको ज्यान नजाने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment