Comments Add Comment

बोर्डलाई चलचित्रकर्मीको चेतावनीः ‘सरकारले नखोले हामी आफैं हल खोल्छौ’

विगत ८ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु अझै सुचारु हुन सकेका छैनन् । चलचित्र विकास बोर्डसँगको छलफलमा चाडै नै हल खुल्ने आश्वासन पाएका चलचित्रकर्मीहरु निराश बनिरहेका छन् । दशैं, तिहार जस्ता ठूला पर्वमा पनि हल संचालनमा नआउँदा हल व्यवसायीहरुले करोडौ घाटा व्यहोरेका मात्र छैनन्, चलचित्र क्षेत्रमा लागेका हजारौ मजदुर लामो समयदेखि बेरोजगार पनि छन् ।

तर, पनि सरकारले चलचित्र क्षेत्रलाई खासै वास्ता गरेको छैन । कोभिडका कारण बन्द रहेका आन्तरिक हवाई उडान, रेष्टुरेन्ट, सार्वजनिक यातायात, विद्यालयहरु संचालनमा आइसक्दा पनि चलचित्र भवनहरु सुचारु हुन सकेका छैनन् । यसकारण, चलचित्रकर्मीहरु आक्रोशित पनि बनेका छन् ।

चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग भेटघाट गर्दै सरकारले हल नखोले आफूहरुले नै खोल्ने चेतावनी दिएका छन् ।

बोर्ड अध्यक्षसँगको भेटघाटमा सहभागी भएका वितरक, हल व्यसायी गोपाल कायस्थले अनलाइनखबरसँग भने–‘विकास बोर्डले हल खोल्ने बिषयमा सधै एउटै कुरा गरेपनि त्यो लागू हुन सकेन । अब हाम्रो पनि धैर्यताको बाँध टुटेको छ । कहिलेसम्म हामी वेरोजगार भएर बस्नुपर्ने हो । हामीले अध्यक्ष ज्यूलाई सरकारले हल नखोले आफूहरुले मिति तोकेर हल संचालन गर्ने बताएका छौं ।’

चलचित्रकर्मीहरुसँगको भेटघाटमा बोर्ड अध्यक्षले सरकारसँग छलफल गरेर चाडै नै हल खोल्ने आश्वासन दिएका थिए । तर, चलचित्रकर्मीहरुले पनि चाडो भन्दा चाडो हल नखोलेको अवस्थामा आफैले हल खोलेर चलचित्र चलाउने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment