Comments Add Comment

खोप आउने आशा बढेसँगै विश्व शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा

१० मंसिर, काठमाडौं । बुधबार विश्व शेयर बजार परिसूचकाङ्क अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अबको केही समयमा नै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आउने आशा र अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा जित हात पारेका जो बाइडनको ट्रान्जिसन टोलीले काम सुरु गरेसँगै शेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको हो ।

अमेरिकाको डाउ जोन्स बुधबार पहिलोपटक ३० हजार अंकभन्दा माथि पुगेको थियो । त्यस्तै विश्वका प्रमुख शेयर बजार सूचक एमएससीआई शेयर परिसूचक पनि शून्य दशमलव २ प्रतिशत बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । यसको जापानबाहेकको एसिया-प्यासिफिक क्षेत्रको शेयर परिसूचकमा पनि शून्य दशमलव ४५ प्रतिशतको वृद्धिदर देखिएको थियो ।

जापानको निक्केई शेयर परिसूचकमा पनि एक दशमलव ७ प्रतिशतको वृद्धि देखिएको छ । यससँगै निक्केई शेयर परिसूचक २९ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

यसअघि मंगलबार डाउ जोन्समा एक दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको थियो भने एसएण्डपी ५०० शेयर परिसूचकमा एक दशमलव ६२ प्रतिशतको वृद्धि देखिएको थियो ।

अर्को अमेरिकी शेयर परिसूचक नास्डाकमा पनि एक दशमलव ३१ प्रतिशतको सुधार देखिएको थियो । त्यस्तै मंगलबार बेलायतको फुट्सी, जर्मनीको डाक्स र फ्रान्सको क्याक शेयर परिसूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार देखिएको थियो ।

बुधबारको सुरुआती कारोबारमा चीनको साङहाई कम्पोजिट र दक्षिण कोरियाको कोस्पीमा भने सामान्य गिरावट देखिएको छ ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment