+
+
Shares

के हो अमेरिकी राष्ट्रपतिको ट्रान्जिसन प्रक्रिया ? किन यो महत्वपूर्ण छ ?

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १९:०९

१० मंसिर, काठमाडौं । केही साताको खिचातानीपछि अमेरकाको जनरल सर्भिस एड्मिनिस्ट्रिेसन (जीएसए)ले अन्ततः जो बाइडनले राष्ट्रपतिको निर्वाचन जितेको स्वीकार गरेको छ ।

साथै राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रशासनका लागि ट्रान्जिसन प्रक्रिया सुरु गर्ने अनुमति दिएका छन् । यससँगै बाइडनको प्रशासनको लागि ट्रान्जिसन प्रक्रिया सुरु भएको छ । अमेरिकामा राष्ट्रपति पदमा बस्नुभन्दा पहिला गरिने तयारी निकै जटिल, लामो र महत्वपूर्ण छ ।

के हो प्रेसिडेन्सियल ट्रान्जिसन ?

राष्ट्रपित पदका उम्मेदवारले निर्वाचन जितेपछि शपथ ग्रहण समारोहसम्मको समयलाई ट्रान्जिसन भनिन्छ । यो ट्रान्जिसनको तयारी निर्वाचित राष्ट्रपतिको गैर नाफामूलक ट्रान्जिसन टोलीले गर्छ । यो टोली निर्वाचन अभियानभन्दा फरक हुन्छ र यसको आफ्नै स्टाफ र बजेट हुन्छ । तर प्रशासनले वजेटको स्वीकृति भने दिनुपर्छ जुन भइसकेको छ । अमेरिकामा सबै राज्यले डिसेम्बर २४ सम्म आफ्नो राज्यको निर्वाचनको नतिजा प्रमाणीकरण गर्नु जरुरी हुन्छ ।

२० जनवरीमा शपथग्रहण कार्यक्रम हुन्छ । जनवरी २० सम्म डोनाल्ड ट्रम्प राष्ट्रपतिकै रुपमा कायम रहन्छन् । राति २१ बजे २१ जनवरी लागेसँगै बाइडन राष्ट्रपति बन्नेछन् ।

अमेरिकाले अफगानिस्तान, इराकलगायत धेरै देशमा आफ्नो कार्यक्रम र नीति जारी राखेको छ । त्यसैले बाइडनले सुरुमा विश्वभर भइरहेका गतिविधिहरु र अमेरिकी कामकारबाहीको विषयमा जानकारी लिनु जरुरी हुन्छ । त्यसैले आफ्नो कार्यकाल सुरु गर्दा कुनै किसिमको द्विविधा बाँकी नरहोस् भन्नका लागि सबै जानकारी निर्वाचित राष्ट्रपति र उनको टोलीलाई दिइन्छ ।

अमेरिकाको सीआईएसहितका सबै गुप्तचर संस्था र अन्य महत्वपूर्ण जानकारी पनि निर्वाचित राष्ट्रपतिलाई दिइन्छ ।

किन हुन्छ ट्रान्जिसन प्रक्रिया ?

निर्वाचित राष्ट्रपतिले २० जनवरीमा शपथ लिएसँगै कुनै पनि काम नरोकिउन भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो ।

साथै बीचको अवधिमा पनि कुनै काम नरोकियोस् भन्नका लागि यो प्रक्रियाको व्यवस्था गरिएको हो । पार्टनर फर पब्लिक सर्भिसको सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसन अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार र उनको टोलीलाई नयाँ प्रशासन वा राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गर्न सहयोगका लागि जानकारी तथा संसाधन उपलब्ध गराउने एक निष्पक्ष माध्यम हो । यसले ट्रान्जिसन लागू गर्नमा सहयोग गर्छ । यसले राजनीतिक नेतृत्वको तयारीमा सहयोग गर्छ र नयाँ राजनीतिक नियुक्तिमा सरकारी नेतृत्वसँग काम गर्ने सम्बन्धमा पनि यसले दिशानिर्देश गर्छ ।

यो सेन्टरले निवर्तमान राष्ट्रपतिको दोस्रो कार्यकालको तयारीको लागि पनि सहयोग गर्छ भने नयाँले जितेको अवस्थामा निवर्तमान राष्ट्रपतिलाई पनि सजिलै सत्ता हस्तान्तरणको लागि जरुरी कदमको विषयमा सल्लाह दिन्छ । यसले सन् २०२० प्रेसिडेन्सियल ट्रान्जिसन गाइड जारी गरेको छ । यसमा नयाँ नेतृत्वको लागि आवश्यक सबै चरणको विषयमा जानकारी दिइएको छ । यसमा उल्लेख गरिएअनुसार निर्वाचन भएको मितिभन्दा अघिदेखि नै ट्रान्जिसन बनाउने काम सुरु गर्नुपर्छ । त्यसका लागि संगठन तयार गर्ने, लक्ष्य तयार पार्ने र आफ्नो प्राथमिकता हासिल गर्न आवश्यक कदम चाल्नुपर्छ । यद्यपि अहिले बाइडनले निर्वाचनमा जित हात पारेर ट्रान्जिसन प्रक्रिया सुरु भए पनि अझै पनि राष्ट्रपति ट्रम्पले आफ्नो फैसला लिन पाउँछन् र उनको फैसलामा बाइडनले दखल दिन पाउँदैनन् ।

नयाँ राष्ट्रपतिका लागि ट्रान्जिसनको मुख्य लक्ष्य

ट्रान्जिसनको प्रक्रियामा ह्वाइट हाउस र राष्ट्रपतिको एग्जिक्युटिव अफिसको कर्मचारी नियुक्ति महत्वपूर्ण काम हो । त्यसका सँगै चार हजारभन्दा धेरै राष्ट्रपतीय नियुक्ति गरिन्छ । यसमध्ये १२ सयभन्दा धेरै नियुक्तिमा माथिल्लो संसद सिनेटको अनुमति लिनु जरुरी हुन्छ । साथै यो प्रक्रियामा नयाँ प्रशासनको लागि नीतिको प्रारुप तयार पार्नुपर्ने हुन्छ । जुन निर्वाचन प्रचारको क्रममा गरिएको प्रतिबद्धताको आधारमा तय गरिन्छ । यसमा कार्यकारी आदेश, व्यवस्थापकीय एजेण्डा, बजेट प्रस्ताव र सम्भावित कानुनको योजना बनाउने काम पनि सामेल हुन्छ ।

ट्रान्जिसनको क्रममा नयाँ मन्त्री नियुक्त गरिन्छ । प्रत्येक विभागमा सबैभन्दा वरिष्ठ कर्मचारीलाई नयाँ आउने मानिसलाई जानकारी दिने जिम्मेवारी दिइन्छ । निर्वाचन प्रचारको क्रममा पेश गरिएको नीति लागू गर्न एकसयदेखि दुई सयदिनको योजनाको तयारी यो ट्रान्जिसन प्रक्रियाको हिस्सा हुन्छ । पदभार ग्रहण गरेसँगै द्रूत गतिमा नयाँ राष्ट्रपतिलाई काम गर्ने अवसर दिन यस्तो तयारी पहिला नै गर्नु उचित हुन्छ ।

कहिले सुरु हुन्छ टान्जिसन ?

सामान्य रुपमा ट्रान्जिसनको औपचारिक सुरुवात निर्वाचनको नतिजा आएपछि हुन्छ । सन् १९६३ को प्रेसिडेन्सियल ट्रान्जिसन ऐन अनुसार जीएसएलाई राष्ट्रपतिको टोलीलाई कार्यालय र अन्य संसाधन सुम्पिने जिम्मेवारी दिइएको छ । सन् २०१० मा यो कानुनमा भएको संशोधनअनुसार प्रमुख पार्टीका उम्मेदवारलाई सरकारी सहायता पहिला नै सुरु गर्ने अनुमति दिइएको छ । यसमा उनीहरुलाई कार्यालय, कम्प्युटर र सेवाको प्रयोग मनोनयन दर्ता भएसँगै प्रयोग गर्ने अनुमति दिइएको थियो । यस वर्ष गत अगष्टमा मनोनयन दर्ता भएको थियो । यद्यपि ट्रान्जिसनको अवधिमा नयाँ निर्वाचित उम्मेदवारको टोलीले भने पदासीन राष्ट्रपतिको निर्णयमा कुनै किसिमको दखल पुर्‍याउन सक्दैन ।

अहिले अमेरिकामा ट्रान्जिसन प्रक्रिया सुरु भएको छ । यस्तोमा बाइडनको प्राथमिकता कोरोना भाइरस नियन्त्रण र यसको खोप विकास तथा वितरण गर्नु रहेको छ ।

ट्रान्जिसनमा यति धेरै समय किन लाग्छ ?

सामान्य हिसाबमा ट्रान्जिसनको लागि ११ साताको समय लाग्छ । यो नोभेम्बरको सुरुवातमा मतदानको दिनदेखि शपथ ग्रहणको मितिको बीचको अवधि हो । यद्यपि निर्वाचनको नतिजा आउनमा ढिलाइ भए ट्रान्जिसनको अवधि घटाउन सकिन्छ । यस वर्ष पनि कानुनी मुद्दा र मतगणनाको विषयलाई लिएर उत्पन्न भएको विवादको कारण यो प्रक्रियामा ढिलाइ भएको थियो ।

ट्रान्जिसनलाई पैसा कहाँबाट आउँछ ?

ट्रान्जिसनको प्रक्रिया पूरा गर्ने पैसा सरकारी र निजी कोषबाट जुटाउने गरिन्छ । जीएसए प्रशासनसँग बाइडनको ट्रान्जिसन टोलीलाई ६० लाख डलर दिने कानुनी अधिकार छ । यो रकमका साथै बाइडनले पनि अनुदानबाट कम्तीमा ७० लाख डलर आफ्नो ट्रान्जिसनका लागि जुटाएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?