+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

सस्तोमा धान बेच्न बाध्य छन् कैलालीका किसान

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ मंसिर १२ गते १६:००

१२ मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–१ का किसान कनैया चौधरीले केही दिनको अन्तरालमा २ पटकसम्म धान बेचे ।

पहिलो पटक ६ क्वीन्टल धान बेच्दा प्रतिक्वीन्टल २ हजार रुपैयाँ पाएका उनले दोस्रो पटक १२ क्वीन्टल बिक्री गर्दा प्रतिक्वीन्टल २ हजार ३ सय रुपैयाँ पाए ।

‘धान पाकिसकेपछि हामीलाई बेच्न हतार हुन्छ । घरमा धेरै राख्ने ठाउँ हुँदैन’ उनले भने ‘जसले जति रुपैयाँ दिन्छु भन्यो त्यतिमै दिनुपर्छ । हामीले तोकेको मूल्य लागू हुँदैन ।’

सरकारले यस वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँ र मध्यम धानको मूल्य २ हजार ८८५ रुपैयाँ तोकेको छ । तर, यहाँ अधिकांश किसानहरूले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन् ।

चौधरीलाई सरकारले धानको मूल्य तोकेको बारे जानकारी नभएको भने होइन तर, ब्यापारीेले त्यो मूल्यमा धान खरिद गर्न आनाकानी गरेपछि उनी सस्तोमै दिन बाध्य भए ।

धनगढी उपमहानगरपालिका– १८ का किसान धनबहादुर चौधरीले प्रतिक्वीन्टल २२ सयका दरले धान बिक्री गरे । उनले हालसम्म कहिल्यै पनि सरकारले तोकेको मूल्य नपाएको गुनासो गरे ।

‘न सरकारले तोकेको मूल्य पाएका छौं, नत हामीले भनेको मूल्य पाएका छौं’ उनले भने ‘व्यापारीले जतिमा राख्छु भन्छन् त्यतिमा दिनुपर्छ ।’

धनगढी उपमहानगरपालिका– १९ का किसान हरिचन्द चौधरीले यस पटक ३० क्वीन्टल धान बिक्री गरे । उनले प्रतिक्वीन्टल २ हजार भन्दा मूल्य पाएनन् ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस वर्ष प्रतिक्वीन्टल २ सय रुपैयाँ बढी पर्ने गरी सरकारले धानको मूल्य तोकेको थियो । तर, यहाँ किसानले सरकारले तोकेको मूल्य भन्दा कयौँ कममा धान बिक्री गर्न बाध्य भए ।

सरकारी निकायले धान खरिद गर्न ढिलाइ गर्दा पनि किसानले सस्तोमा धान बिक्री गर्न बाध्य भएका हुन् । ‘सरकारले समयमै धन खरिद गर्ने डिपो सञ्चालनमा ल्यायो भने मात्रै किसानले सरकारले तोकेको मूल्य पाउँछन्’ चौधरीले भने, ‘नत्र हाम्रो उत्पादनको मूल्य पनि हामीले गर्न पाउने छैनौं ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले प्रत्येक वर्ष डिपो सञ्चालन गर्न ढिलाइ गर्ने गरेको छ । यस वर्ष पनि असारमा मूल्य तोकेको सरकारले कात्तिक १७ गते मात्रै धान खरिद प्रक्रिया सुरु गरेको हो । त्यो बेलासम्म अधिकांश किसानहरूले धान बिक्री गरिसकेका थिए ।

हाल सम्म २३ हजार क्वीन्टल धान खरिद गरेको कार्यालयले जनाएको छ ।

धनगढीको मोहनपुरबाट ६ हजार ८ सय ४१, टीकापुरबाट ९ हजार ३ सय २, भजनीबाट ४ हजार ८ सय ११, जोशीपुरबाट ३३ क्वीन्टल र मोरेनीमा एक सय ५५ क्वीन्टल धान खरिद गरेको कार्यालयले जानकारी दिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रादेशिक प्रमुख अनिल श्रेष्ठले विगतका वर्षहरू भन्दा यस वर्ष बढी धान खरिद गर्ने बताएका छन् ।

‘यस वर्ष ६५ हजार क्वीन्टल धान खरिद गर्ने योजना छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?