Comments Add Comment

कवाडी र बोरा टक्टक्याएर उठेका राष्ट्रिय खेलाडी

१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ?

आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद ।

भैहालेको भए ?

कम्तिमा सडकमा पुग्दैनथे ।

उसोभए कहाँ हुन्थे ?

बा–आमाकै न्यानो काखमा हुन्थे कि !

तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका चिसो छिँडीमा बितेका दिन, सडकका कुनै गल्लीमा प्लास्टिक फुक्दै बोराभित्र सुतिरहेका रात, कवाडी बटुल्दै हिँडेका खोलाका किनार र फोहोरका थुप्राहरुले उनको मगजमा जबरजस्त डेरा जमाई बसेको छ ।

यदि हेटौंडामा सडक बालबालिकालाई उद्धार गर्ने मामाघर नेपाल नभएको भए नि !

अहिले पनि राजु सडकमै कुनै ग्याङको डन भएर डेन्ड्राइटको नशामा लठ्ठिरहेका हुन्थे । ग्याङ फाइटमा रमाएर मक्किरहेका हुन्थे । हक्की खेलका राष्ट्रिय खेलाडी हुँदैनथे । कदापि ।

****

एक वर्षअघि काठमाडौंमा हक्कीको इन्डो–नेपाल च्यापियनसिप शुरु भएको थियो । दुई टिमसँगको प्रतिस्पर्धामा जित निकालेपछि नेपाल र भारत फाइनलमा भिड्दै थिए । नेपाली टिमका क्याप्टेन थिए – राजु अधिकारी ।

राजु भन्छन्, ‘हामी भर्खरका खेलाडी थियौँ । उनीहरु २५ वर्षभन्दा माथिका उत्कृष्ट खेलाडी थिए । उनीहरुसँग जुध्न हामीलाई ठूलो चुनौति थियो ।’ उता भारतीयले नेपाली खेलाडीलाई मैदान बाहिर पनि निरुत्साहितका हर्कत गर्थे ।

राजुले नेपाली टिमको आत्मविश्वासलाई एक रत्ति खस्कन दिएनन् । उनले अनलाइनखबरसँग भने, ‘हामीले रातभर साथीहरुसँग छलफल गरेर बलियो आत्मविश्वासका साथ कोर्टमा प्रवेश गरेका थियौँ ।’ नेपालको इज्जत जोगाउनु पनि चुनौति थियो उनीहरुलाई । भारतका दुई र नेपालको एक टिमलाई जितेपछि नेपाली टिम फाइनलमा पुगेको थियो ।

नभन्दै पहिलोपटक राजुले गोल गरे । ‘पहिलो पटक हामीले गोल गरेपछि संसारै जितेजस्तो अनुभूति भयो’, राजु भन्छन्, ‘दर्शकले गरेको हल्लाले विजेता भैसक्योजस्तो लागेको थियो ।’

तर, त्यसपछि फेरि भारतले तीन गोल गर्यो । र, पहिलो गोलले नै नेपाली टिमको आत्मबल बढाइराखेको थियो । राजु खुशी हुँदै भन्छन्, ‘४–३ ले हामी विजयी भयौँ । अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर त्यतिबेलै अवार्ड लिँदाको हो ।’

त्यसपछि राजुको चर्चा देशभर चुलियो । हिजो देख्दा आँखा तर्काएर हिँड्नेहरुले आज घरमा बोलाई बोलाई चिया खुवाउन थाले । ‘हिजो खाते र चोर भन्दै लखेट्थे, आज जहाँ भेटे पनि बोलाएर हौसला दिन्छन्’, उनले आफ्नो जीवनको युटर्नबारे सुनाए ।

अब राजुले बाँचेको अर्को जीवनतर्फ फर्किऔँ ।

के तपाईलाई साँच्चिकै अब पढ्ने कथा राजुको अर्को जीवन जस्तो लाग्दैन र ? पढ्नुस् त ।

त्यो दिन राजुलाई याद छैन । जुन दिन उनी सडकमा आइपुगे । उनले थाहा पाएको के हो भने आफ्ना बाबाले दमिनी (बोलिचालीको भाषा) बिहे गरेपछि समाजबाट भागेर हेटौडा पुगे । राजुलाई सम्झना के छ भने बाबा रक्सी पिएर दिनहुँ श्रीमती कुट्थे । त्यो आर्तनाद सहन नसकेर राजु सडकमा निस्कन्थे । आमा त घर नै छोडेर भागिन् । राजुलाई पनि घरभन्दा प्यारो सडक र सडकका साथी लाग्न थाले । बाबासँग उनका भाइ थिए ।

राजुलाई राम्रोसँग याद हुँदा उनी चितवन र हेटौंडा दौडिरहेका हुन्थे । आकाश उनको छानो थियो । कसैले फालेको कपडा भेटियो भने निकै खुशी हुन्थे, आम बालबालिकाले नयाँ कपडा पाउँदा मनाएको उत्सवजस्तै गरी ।

सडकमा उनीजस्तै आठ/दश जना राजुको परिवारका सदस्य थिए, जसलाई उनीहरु ग्याङ भन्थे । जहाँ बस्यो, त्यहीँ घर । ‘हामी कहिले पोखरा पुग्थ्यौँ, कहिले काठमाडौं । त्यहाँ पनि हाम्रा साथीहरु थिए’, राजु भन्छन् ।

अनि खान्थे के ?

खानाका लागि उनीहरुले गर्ने मुख्य काम भनेको बोरा बोक्ने अनि कवाडी बटुल्ने । राति फालेका फोहोर छिचोलेर उनीहरुले फलामका टुक्रा, थोत्रे टीभी, तार, बोतल लगायतका सामग्री बटुल्थे । जसबाट पैसा आउँथ्यो ।

कहिलेकाँही त्यही फोहोर फ्याँकिएका बासी खानाहरुले पनि आफूलाई बचाउँथे । राजु सम्झन्छन्, ‘रात परेपछि कवाडी बटुल्न हिँड्थ्यौँ । कहिले खोलाको किनारमा, कहिले फोहोरका डंगुरहरुमा । त्यसपछि पसलमा लगेर बेच्थ्यौँ ।’

कवाडी विक्री गरेर आएको पैसाले उनीहरुले विरलै मात्र खानेकुरा किन्थे । डेन्ड्राइट किन्थे र दिनभर त्यसैको नशामा बस्थेँ । ‘एउटा डेन्ड्राइटको बोतल भयो भने दिनभरलाई पुग्थ्यो’, उनी भन्छन्, ‘त्यो खाएपछि न भोक लाग्थ्यो, न जाडो हुन्थ्यो । त्योसँगै चुरोट र गाँजा पनि हाम्रो नियमित अम्मल हुन्थ्यो ।’

सुत्नुपर्यो कि त्यही बोराभित्र घुस्थे । सडकपेटी उनीहरुको ओच्छ्यान ।

बाबुको मृत्युको खबर पनि उनले सडकमै सुने । न उनलाई बुवाको अन्तिम अनुहार हेर्ने हुटहुटी भयो, न दागबत्ती दिएर अन्त्येष्टि गर्ने । तर, भाइ कता गयो होला ? बेलाबेला उनको दिमागमा प्रश्न ठडिन्थ्यो । तर, उनले खोज्ने चेष्टा गरेनन् । उनलाई आफ्नै दुनियाँ प्यारो थियो । उनको आफ्नै ग्याङ थियो ।

सडकमा आएको तीन/चार वर्षपछि त राजु एउटा ग्याङको डन नै भैसकेका थिए । बुझ्ने भाषामा – टोली नेता ।

डनको फाइदा के भने सडकमा आएका नयाँ मान्छेहरुलाई बोरा बोकाउन पाइने । काम लगाउन पाइने । उस्तै परे बसी बसी डेन्ड्राइट खान पनि पाइने । ग्याङलाई आफुखुशी चलाउन पाइने । उनी भन्छन्, ‘यदि डेन्ड्राइट सकियो र आफूसँग पैसा भएन भने अर्को ग्याङसँग फाइट गर्थ्यौं । जित्यो भने खोसेर खान्थ्यौँ’, राजु विगतलाई सम्झिरहेका छन् ।

उनीहरुका दुःख पनि कम थिएनन् । मानिसहरुले आफुखुशी चोर आरोप लगाउँथे । प्रहरीले चोर भन्दै पक्रेर लैजान्थ्यो अनि दिनभर काम गराएर राति सडकमै फर्काइदिन्थ्यो । खाना पनि दिन्थ्यो ।

‘मानिसहरुले सडकका कुकुरहरुलाई बरु सम्मान गर्थे । हामीलाई त्योभन्दा पनि घृणा गर्थे’, राजु निराश हुँदै विगत सुनाउँछन्, ‘सुतिरहेका बेला कतिले पानी छ्यापेर लखेट्थे, कतिले ढुंगा हानेर धपाउँथे ।’

उनीहरुलाई कुनै एंगलमा पनि आफूहरु मान्छे हुँ जस्तै लाग्दैथ्यो । सायद कुकुरजस्तो लाग्थ्यो । किनभने, उनीहरु कुकुर जम्मा पार्थे र तिनैसँग सुत्ने । ‘हाम्रो सबैभन्दा नजिकको साथी भनेकै कुकुरहरु हुन्’, राजु थप खुल्दै जान्छन् ।


तर, एक दिन उनीहरुको आफूलाई मान्छे मान्ने एउटा मान्छेसँग भेट भयो । अर्पण पराजुली । जो सडक बालबालिकाबारे मास्टर्सको थेसिस गर्नका लागि आफैँ सडकमा पुगेका थिए ।

अर्पण भन्छन्, ‘म बसपार्कमा पुगेको थिएँ । सडक बालबालिकाहरुले मम माग्दा साहुले दिएका थिएनन् । तर, उनीहरु मम खाएर फालेको थाल चाटिरहेका थिए ।’

यो दृश्यले अर्पणको हृदयमा नराम्रोसँग हिर्कायो । उनले बोलाए र एक प्लेट मम किनेर खान दिए ।

एकजना डनका मामा पराजुली थरका रहेछन् । त्यसैले ती डनले आफ्नो टिमलाई उर्दी जारी गरे – आजदेखि सबले मामा भन्लास् । जे भने पनि मान्लास् । यसले अर्पणलाई सडक बालकको नजिकबाट नाडी छाम्ने अवसर जुरायो ।

अर्पण थप्छन्, ‘मैले दिनदिनै उनीरुलाई मम खुवाउन थालें । उनीहरुको शरीरमा जुम्रै जुम्रा हुन्थ्यो । चिसोको मौसममा आगो फुकेर ताप्दै डेन्ड्राइटको नशा लिइरहेका हुन्थे ।’

अर्पणले उनीहरुलाई खोलामा लगेर नुहाइदिए । सफा कपडा उपलब्ध गराए । उनीहरुसँगै सडकमा बसे । उनी भन्छन्, ‘थेसिसभन्दा ठूलो उनीहरुको उद्धार भन्ठानेर मैले एक दिन १४ जनालाई भाडाको घर लिएर राख्न थालेँ ।’ त्यो ०६८ सालको एक दिन थियो । सडक बालकहरुलाई मायाले जितेको दिन । अनि घरको नाम भयो – मामा घर नेपाल । त्यो घर विस्तारै सडकबाबालिकालाई उद्दार गर्ने गैरसरकारी संस्था बन्यो ।

****

राजु त्यतिबेला राजु काप्री ग्याङको डन थिए । अञ्दाजी उमेर – ७/८ वर्ष । शुरुमा घरमा राख्छौं भनेपछि उनीहरुलाई अचम्म लागेको थियो । जादैनौँ भनेर उनीहरुले जिद्दी नगरेका पनि होइनन् । ‘खान जाने अनि भागेर दिनभर डुल्ने भन्ने साथीहरुको सल्लाहमा हामी घरमा गयौँ’, उनी भन्छन्, ‘हामीलाई घरमा बस्दा अर्कै संसारमा आइपुगेजस्तो लाग्यो । असहज, अप्ठ्यारो कस्तो कस्तो ? बस्नै गाह्रो ।’

उनीहरु भागेर अनेक बठ्याइँ गरेर राति घर फर्कन्थे । ड्रेन्ड्राइट र चुरोटको नशाबाट उनीहरु बाहिर निस्किएका थिएनन् । यी सबै कारण समाजबाट आउने अपजसको भागिदार अर्पण एक्लै बन्नुपर्थ्यो । र, पनि अर्पण सम्झाउने र उनीहरुलाई सही बाटोमा ल्याउने प्रयासबाट थाक्दै थाकेनन् ।

उनीहरुलाई सही बाटोमा ल्याउने एउटा प्रयास – स्कुलमा भर्ना गर्ने थियो । राजुहरु स्कुल त जान्थे । तर, हाप छुट्टीभन्दा बढी समय बस्दै बस्दैनथे । राजु भन्छन्, ‘एक त हामीलाई खाते भनेर सबै तर्किन्थे । अर्को त्यसरी कक्षामा बसेर पढ्नै सक्दैनथ्यौँ ।’ तर, बाँच्नु भनेको प्रयास गर्नु त हो नि ! विस्तारै राजुहरु डेन्ड्राइटको नशाबाट छुटेर चुरोटमा सीमित भए ।’

अब आउँछ कथामा ट्वीस्ट ।


हरेक बिहान अर्पणले ती बालकहरुलाई सडकमा दौडाउँथे । त्यो दृष्यलाई एकजना विदेशी पर्यटकले निकै चाख मानेर हेरिरहेका थिए । हेरेनन् मात्र, नजिकै पुगेर वास्तविकता खोतले । एक छाक मामाघरको भात खाए । अनि आफूसँग भएको हक्कीको ब्याट र बल त्यहीँ छाडेर हिँडे ।

अर्पण भन्छन्, ‘बच्चाहरुलाई हक्की भन्ने केही थाहा थिएन । यत्तिकै ब्याटले हानेर बल खेलाइरहेका हुन्थे ।’

हेटौडाका हक्की प्रशिक्षक मनोज शर्माले त्यो हक्की ब्याट देखेर छक खाए । र, सोधे, ‘यति राम्रो ब्याट त हामीसँग पनि छैन । कहाँबाट लिएको ? आओ अब तिमीहरुलाई वास्तविक हक्की खेल्न सिकाउँछु ।’

खेलभन्दा हुरुक्कै हुने राजुलाई योभन्दा ठूलो खुशी के हुन सक्छ । उनले हक्की खेल्दा खान पनि बिर्सन थाले । ‘म सानैदेखि खेल्न रुचाउँथे । मलाई पढ्न भन्दा पनि खेल्नमा रुची लाग्थ्यो’, राजु खुशी हुँदै भन्छन्, ‘म दिनभर हक्की खेल्न थालें ।’

मामा घरमा निसास्सिएका राजुले लोकशान्ति हुक्का चौरको मैदानमा नयाँ जीवन भेटे । उनी भन्छन्, ‘नयाँ ठाउँमा खेल्न जाँदा रमाइलो लाग्न थाल्यो । नयाँ साथीहरुसँग पनि चिनजान भयो ।’

अर्पणका अनुसार खेल्न थालेपछि राजुहरुको स्वभावमा परिवर्तन आयो । सरसफाइमा ध्यान दिन थाले । अर्पण भन्छन्, ‘उनीहरुलाई नियममा बस्न पनि खेलले नै सिकायो ।’

राजुले एकपछि अर्को गर्दै सफलता पनि हात पार्न थाले । चार वर्षअघि जिल्ला टुर्नामेन्टका लागि छनोट भए । झापा पुगेर प्रदेशस्तरीय गेम खेले । र, सातांै राष्ट्रिय खेलमा छनौट भए । नेपालगञ्जमा पुगेर आठौँ राष्ट्रिय खेलकुदमा पनि भाग लिए । अहिले आएर राष्ट्रिय टिममा छनौट भई भारतविरुद्धको खेलमा सफलता निकाले ।

राजु भन्छन्, ‘थुप्रै इन्डोर प्राक्टिसमा थुप्रै म्याच खेलेका छौँ । दुवै, बंगलादेश लगायतका देशसँग पनि भिडेका छौँ ।’

खेल्दै गर्दा उनले आफ्नो भविश्यबारे सोच्न थालेका छन् । परिवारको कल्पना गरेका छन् । उनी भन्छन्, ‘अहिले सीप सिक्दैछु । त्यसबाट अलिअलि खर्च पनि आउँछ ।’

तर, हक्की खेलबाट भने उनले कुनै आर्थिक लाभ पाएका छैनन् । बरु, च्यापियनसिपमा पठाउनका लागि पैसाको जोहो गर्नै धौ धौ पर्छ अर्पणलाई ।
राजु भने हक्की र मामाघरका लागि आफू जे गर्न पनि तयार रहेको बताउँछन् ।

अहिले कति वर्ष हुनुभयो ?

‘मलाई त मेरो जन्मदिन नै थाहा छैन । मामाघर आएको दिनलाई जन्म दिन भनेर मनाउँछु ।’ मामाघरकै ठेगानामा नागरिकता र पासपोर्ट बनाएका छन् । ‘म जहाँ छु मामाकै कारण छु’, उनी भन्छन्, ‘आजभोलि पहिलेको दिन सम्झँदा म पनि त्यस्तो थिएँ र भनेजस्तो हुन्छ ।’

किनकि, पहिले ड्राइट तानेको फुटपाथमा हिँड्दा आज मानिसहरु उनको नजिक पुगेर फोटो खिच्न लालायित हुन्छन् । उनलाई बधाई दिँदै धाप मार्छन् ।
र, मामाकै कारणले आज उनले आफ्नो भाइ पनि पाएका छन् । जसले काठमाडौंको सडकमा राजुले जस्तै जीवन बिताएका थिए ।

अहिले मामाघरमा ३६ जनाको परिवार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment