+
+
Shares

नबिल बैंक र दराजबीच सम्झौता, दराज बिक्रेताले साना तथा मझौला उद्यम कर्जा पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते १३:२६

नबिल बैंक र अनलाइन बजार दराजले संयुक्त रूपमा सारथी कार्यक्रम सुरू गरेका छन्। यो साझेदारी अन्तर्गत दराज अनलाइन सपिङबजार मार्फत व्यापार गर्ने साना तथा मझौला उद्यमहरूले अब नबिल बैंकबाट विभिन्न कर्जा सुविधा उपयोग गर्न सक्नेछन्।

महामारीका कारण आइपरेको आर्थिक संकटले साना तथा मझौला उद्यम (एसएमई) मा गम्भीर प्रभाव पारेको छ। तसर्थ, सारथी कार्यक्रमद्वारा दराजमा सक्रिय विक्रेतालाई महामारीले पुराएको कठिनाइसँग लड्न सक्षम बनाउने आशा गरिएको कम्पनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सारथी कार्यक्रम साना तथा मझौला उद्यमको योग्यतामा आधारित हुनेछ। दराजमा बिक्रेताको राम्रो कारोबारले उनीहरूलाई अझ न्यून ब्याजदर प्राप्त गर्ने अवसर दिने पनि विज्ञप्तिमा उल्लेख छ। सारथी कार्यक्रम अन्तर्गत एसएमई बिक्रेताहरूले आवश्यकता अनुसार विभिन्न कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

विज्ञप्तिमा भनिएअनुसार उनीहरूले १ करोडसम्मको एसएमई कर्जा लिन सक्नेछन् जुन दराज बिक्रेताको लागि आकर्षक ब्याजदरमा उपलब्ध गराइएको छ।

यसनिम्ति नबिल बैंकका डेपुटी सिइओ सुजित कुमार शाक्य र दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा बोल्दै नबिल बैंकका डेपुटी सिइओ शाक्यले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजार विकासका लागि निकै महत्वपूर्ण रहनेछ। हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईलाई विभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पुर्‍याउनु हो। सारथी कार्यक्रमका लागि हामीले दराजसँग सहकार्य गरेका छौं। हाम्रो विश्वास छ, यो वित्तीय कार्यक्रमले उनीहरूलाई कोरोनाका कारण आइपरेका कठिनाइ पार गर्न मद्दत पुर्‍याउँछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुनर्जीवित गर्नेछ।’

त्यस्तै दराजका प्रबन्ध निर्देशकले भने, ‘हामीले यसमा लामो समयदेखि काम गरिसकेका भए पनि अहिले कोरोना प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ। यो नेपालमै पहिलो क्रेडिट स्कोरिङमा आधारित एक नौलो समाधान हो। नेपाली अर्थतन्त्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसँग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं।’

बैंक र दराजबाट जारी संयुक्त विज्ञप्तिअनुसार सारथी कार्यक्रम अन्तर्गत एसएमई बिक्रेताले निम्न फाइदा पाउन सक्नेछन्ः
– पूर्ण कागजात पेश गरेको ७२ घण्टामै कर्जाको निर्णय
– न्यून ब्याजदर
– ऋण प्रशासनिक शुल्कमा छुट (दराजमा बिक्रेताको राम्रो कारोबार अनुसार)
– विभिन्न एसएमई आवश्यकता पूरा गर्न बनाएको विशेष प्रकारका कर्जाहरू

जो व्यवसायहरू आफ्नो अनलाइन उपस्थिति सिर्जना गर्न इच्छुक छन्, सारथी कार्यक्रमका लागि यो लिंक प्रयोग गर्न सक्नेछन् जुन नबिल बैंक र दराजले संयुक्त रूपमा सहजीकरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?